कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनएको ११औं महाधिवेशनको निर्वाचन त्रुटिपूर्ण छ : छानबिन प्रतिवेदन 

सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको समितिले एनआरएनएको निर्वाचन त्रुटिपूर्ण रहनुमा १२ वटा कारण देखाइएको छ ।
‘मतदाताहरूको अनलाइन भोटिङको संवेदनशील विवरण युजर नेम र पासवर्ड निर्वाचन समितिले प्राप्त गरी संघको आईटी टिममार्फत मतदातालाई उपलब्ध गराइएको थियो । 
होम कार्की

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनमा भएको निर्वाचन त्रुटिपूर्ण रहेको ठहर गरेको छ । सहन्यायाधिवक्ता ध्रुवकुमार चौहानको समितिले एनआरएनएको निर्वाचन त्रुटिपूर्ण रहनुमा १२ वटा कारण देखाइएको हो । 

एनआरएनएको ११औं महाधिवेशनको निर्वाचन त्रुटिपूर्ण छ : छानबिन प्रतिवेदन 

एनआरएनको इतिहासमा पहिलोपटक अनलाइनबाट गरेको मतदानको वैधतामाथि विवादमा परेपछि गत माघ ९ गते मन्त्रिपरिषदको बैठकले छानबिन गर्न महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो । समितिले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष निर्वाचन त्रुटिपूर्ण रहेको भन्दै प्रतिवेदन दिएको हो ।

कात्तिक ३ गते (अक्टोबर २०) निर्वाचन परिणामको विषयमा प्रश्न उठेको थियो । भेरो नामक अनलाइन भोटिङमार्फत भएको एनआरएनए निर्वाचनमा काठमाडौंबाट भएको मतदानमा उपाध्यक्षका उम्मेदवार केशव पौडेलको मत शून्य देखियो । त्यसपछि अध्यक्षत्रय बद्री केसी, कुल आचार्य र रविना थापाले विज्ञप्ति जारी अर्को निर्णय नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको घोषणा गरेका थिए ।

तीन अध्यक्षको निर्णयविपरीत भोलिपल्ट कात्तिक ४ गते मतदानमा बढी मत पाएका अध्यक्षका उम्मेदवार बद्री केसीलाई निर्वाचन समितिले शपथ खुवाएपछि अध्यक्षका प्रतिस्पर्धी राजेन्द्रकुमार (आरके) शर्मा र महेश श्रेष्ठले अस्वीकार गरी समान्तार अर्को कार्यसमिति बनाएका थिए जुन अहिलेसम्म छ । यसमा देखिएको विवादलाई समाधान गर्न मन्त्रिपरिषदको बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको समिति बनाइएको थियो ।

चौहानको समितिले निर्वाचनमा त्रुटि नै त्रुटि रहेको प्रतिवेदन बुझाएको हो । प्रतिनिधिहरूको छनोटको सर्न्दभमा दुई वर्ष बसोबास गरेको हुनुपर्ने अनिवार्य सर्त पूरा नगरेका व्यक्तिहरूसमेत प्रतिनिधिहरूको नामावली स्वीकार गरी संलग्न गरेको भन्दै दाबीविरोधपश्चात नामावालीमा प्रतिनिधिहरूको नाम थप गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

‘मतदाताहरूको अनलाइन भोटिङको संवेदनशील विवरण युजर नेम र पासवर्ड निर्वाचन समितिले प्राप्त गरी संघको आईटी टिममार्फत मतदातालाई उपलब्ध गराइएको, ’ प्रतिवेदनमा लेखिएको छ,‘सम्झौताबमोजिम भेरो भोटिङको आधिकारिक प्रतिनिधि निर्वाचन स्थलमा भौतिक रूपमा उपस्थित भएको देखिएन ।’

छानबिन समितिले निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने निर्णय निर्वाचन भइरहेको सयमयमा गरिएको तथ्य फेला पारेको छ । ‘मतदाताको फेसियल बाइपास, भोटर डिटेल हेर्ने एक्सेस (पहुँच) गैरआवासीय नेपाली संघको आईटी सपोर्ट टिमलाई उपलब्ध गराएको, फेसियल भेरिफिकेसन बाइपाससम्बन्धी विवरणको अभिलेख नराखेको, अन्य व्यक्तिहरूले हालेको मतदानको सम्बन्धमा कुनै छानबिन नगरी सो मतलाई रद्द गरी पुनः मतदान गराएको देखियो,’ प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिले नेपालबाट मतदान गर्ने गरी दर्ता भएका ९ जनाको ग्लोबल (विश्व)बाट फेसियल भेरिफिकेुन बाइपास गरेको फेला पारेको छ । ‘५ जनाको नेपाल तथा ग्लोबल दुवै तर्फबाट फेसियल भेरिफिकेसन बाइपास गरेको छ । निर्वाचन घोषणा हुँदा उपाध्यक्ष पदका उम्मेदवार डा. केशव पौडेल पराजित भएको सार्वजनिक गरिएको र तत्काल विवाद उत्पन्न भएपश्चात पुनः विजयी भएको घोषणा गरिएको पाइएकाले निर्वाचन त्रुटिपूर्ण देखिएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

समितिले संघको १० औं महाधिवेशन हुनुअघि एनसीसीको चुनावमा समेत विवाद उत्पन्न भई उजुरी परी मन्त्रालयबाट छानबिन भएको भन्ने एंव अध्ययनको क्रममा देखिएको जनाएको छ । त्यसैगरी ११ महाधिवेशन हुनुअघि जापानलगायत केही देशहरूमा एनसीसीले प्रतिनिधिहरूको मनोनयन गर्दासमेत विवाद भई छानबिन भएको थियो । एनआरएनएमा पटक–पटक देखिएका विवादहरूले संस्थाको आन्तकि काम कारबाही सफल अभ्यासबाट अगाडि नबढेको देखिएको समितिले जनाएको छ ।

समिति गठनअघि परराष्ट्र मन्त्रालयले संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्वअध्यक्ष जिवा लामिछानेसहितका पूर्वअध्यक्षहरूसँग छलफल गरेका थिए । अहिले एनआरएन तीन समूहमा विभाजित छ । पूर्वअध्यक्ष शेष घलेको संरक्षकत्वमा अर्को एनएआरएन गठन गरिएको छ ।

प्रकाशित : चैत्र १६, २०८० १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?