कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

इलाम र बझाङ उपनिर्वाचनको तयारीमा दलहरू

एमालेबाट इलाममा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर भण्डारी उम्मेदवार
कांग्रेस र रास्वपा उम्मेदवार चयनको प्रक्रियामा, उम्मेदवार उठाउनेबारे माओवादी र एस अझै अनिर्णीत

काठमाडौँ — इलाम र बझाङमा आगामी वैशाखमा हुने उपनिर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले तयारी थालेका छन् । दलका लागि जनमत परीक्षण गर्ने अवसरसमेत भएकाले उपनिर्वाचनलाई मुख्य गरी कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिष्ठाको विषय बनाउन खोजेका छन् । सत्ता गठबन्धनमा रहेका माओवादी र एकीकृत समाजवादीले भने उम्मेदवार अघि सार्ने कि नसार्ने निर्णय लिएका छैनन् ।

इलाम र बझाङ उपनिर्वाचनको तयारीमा दलहरू

प्रतिनिधिसभातर्फ इलाम निर्वाचन क्षेत्र–२ र प्रदेशसभातर्फ बझाङको निर्वाचन क्षेत्र–१ (१) मा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको हो । एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि इलाम–२ रिक्त थियो । त्यस्तै बझाङमा कांग्रेसबाट निर्वाचित प्रदेश सांसद पृथ्वीबहादुर सिंहको गत असार २५ मा निधन भएकाले रिक्त भएको थियो ।

एमालेले इलाममा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको एमालेको सचिवालय बैठकले उम्मेदवार चयन गर्नुका साथै सत्ता गठबन्धनमा सहभागी दलहरूको समर्थन जुटाउने कसरत थालेको हो । सुहाङ एमाले नेता नेम्वाङकै कान्छा छोरा हुन् । कानुन व्यवसायी उनले पार्टीले उम्मेदवार बनाउनु अघिदेखि नै चुनावी दौडधुप थालिसकेका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमालेका उम्मेदवारलाई विजय बनाउन सिंगो पार्टी पंक्ति परिचालन गर्नुका साथै गठबन्धनमा रहेका अन्य दललाई समेत सहयोगका लागि अपिल गरिएको बताए ।

गठबन्धनको अर्को घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय लिइसकेको छ । राजनीतिक दलका लागि उपनिर्वाचनमा सहभागी हुने कुरा स्वाभाविक भए पनि कसलाई उम्मेदवार बनाउने भन्नेबारे निर्णय हुन बाँकी रहेको माओवादीका महासचिव देव गुरुङले बताए । ‘निर्वाचनमा स्वतः सहभागी भइन्छ तर को उम्मेदवार हुने भन्ने कुरा हो, त्यसका लागि एक–दुई दिनभित्र छलफल गरेर टुंग्याउँछौं,’ गुरुङले भने । गठबन्धनको एउटै उम्मेदवार हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने, ‘रास्वपाले छुट्टै उम्मेदवारी दिने भनेको छ । एमालेले उम्मेदवार चयन गरिसकेको छ । यस्तो अवस्थामा गठबन्धनका दलबीच सहमति हुन्छ/हुँदैन भन्न सकिने अवस्था छैन । गठबन्धनमा संवाद भएपछि नै कतिसम्म जान सकिन्छ, थाहा होला ।’

रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्लेले आफ्नो पार्टीले मित्रवत् प्रतिस्पर्धा गरेर जाने निर्णय धेरै अघि लिइसकेको बताए । उम्मेदवार छनोटका लागि प्राइमरी निर्वाचनको प्रक्रिया अघि बढिसकेकाले आगामी शनिबारसम्म उम्मेदवार टुंगो लाग्ने उनले जानकारी दिए । ‘हाम्रो पार्टीले मित्रवत् प्रतिस्पर्धा गर्छ । कसैसँग गठबन्धन गरेर जाने नीति बनाएको छैन,’ उनले भने । रास्वपाले बझाङको प्रदेशसभा निर्वाचनमा भने उम्मेदवारी नदिने निर्णय गरेको छ ।

२०७९ मंसिरको निर्वाचनमा एमालेका नेम्वाङ र कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच इलाममा कडा प्र्रतिस्पर्धा भएको थियो । नेम्वाङ १ सय १४ मतान्तरले निर्वाचित भएका थिए । नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार ९ सय ६ मत पाएका थिए । त्यति बेला निर्वाचनमा कांग्रेससँग माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो । त्यो समीकरण अहिले भत्किएको छ । हाल सत्ता गठबन्धनमा रहेका माओवादी र एसलाई आफ्नो उम्मेदवारको पक्षमा समर्थन जुटाउने प्रयासमा एमाले छ ।

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उम्मेदवार छनोटका लागि तलका कमिटीबाट नाम सिफारिस भएर आएको र केही दिनभित्र टुंगो लाग्ने बताए । कांग्रेसले यसअघिकै प्रतिस्पर्धी खड्कालाई उम्मेदवार अघि सार्ने सम्भावना प्रबल छ । खड्का इलामका पार्टी सभापतिसमेत हुन् । ‘यसअघि निर्वाचनमा प्राविधिक कारणले मात्रै पराजित भएका हुन् । इलाममा खड्का नै बलियो भएकाले उनलाई पार्टीले उम्मेदवार बनाउने सम्भावना छ,’ विश्वकर्माले भने ।

सत्ता गठबन्धनमै रहेको रास्वपाले ०७९ मा प्राप्त गरेको मत झिनो छ । इलाममा रास्वपाबाट उम्मेदवार बनेका प्रकाश सापकोटाले त्यति बेला १३ सय ८० मत मात्रै प्राप्त गरेका थिए । यस पटक चर्चित व्यक्तित्वलाई रास्वपाले उम्मेदवार बनाउन खोजिरहेको छ । ‘तलबाट ४–५ जनाको नाम आएको छ । तीमध्येबाट को हुन्छ भन्न सकिन्न । हाम्रो विधानको व्यवस्थाअनुसार प्राइमरी निर्वाचनबाट उम्मेदवार छनोट हुने हो । पार्टीको सदस्यता कम भएको ठाउँमा मात्रै केन्द्रीय कमिटीले उम्मेदवारको निर्णय लिन्छ,’ उपाध्यक्ष वाग्लेले बताए ।

एसले उम्मेदवारी दिने, नदिने भन्नेमा सोमबार निर्णय लिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनमा भाग लिन २० र प्रदेशसभा निर्वाचनका लागि १९ वटा राजनीतिक दल दर्ता भएका छन् ।

प्रकाशित : चैत्र १२, २०८० ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?