१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दुई चिकित्सकको मित्रताले खुलेको नयाँ आयाम

चिकित्सकद्वय बेड र कोइरालाको मित्रताले बाल शल्यचिकित्साको क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुल्दै
स्वरूप आचार्य

काठमाडौँ — अस्ट्रेलियाको ब्रिस्बेनस्थित क्विन्सल्यान्ड बाल अस्पतालका सर्जरी विभाग प्रमुख डा. स्टुअर्ट बेड गत साता काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगे । पहिलो पटक अस्पताल परिसरमा पुग्दै गर्दा भने उनी निकै अचम्मित भए । त्यहाँको वस्तुस्थितिबारे आफूले केही भेउ पाउन नसकेको स्टुअर्टले बताए । 

दुई चिकित्सकको मित्रताले खुलेको नयाँ आयाम

‘अस्पताल छिर्नेबित्तिकै पार्किङमा असरधल्ल मोटरसाइकल, अस्पतालभित्र त झन् निकै धेरै मानिसहरू हतारोमा यताउता गरिरहेका थिए, म त वाल्लै परें,’ बेडले भने । सीमित स्रोतसाधनमा पनि चिकित्सकले गरिरहेको कामले आफू निकै प्रभावित भएको उनको भनाइ छ । विशेषगरी खुँडेपन र तालु चिरिएका बालबालिकाको शल्यक्रिया गर्न विश्वका विभिन्न विकासोन्मुख देशमा डुलिरहने बेड बंगलादेशको कार्यक्रम रद्द भएपछि नेपाल आएका हुन् । उनलाई शिक्षण अस्पतालकै बालबालिकाका शल्यचिकित्सा विशेषज्ञ डाक्टर दिनेश कोइरालाले नेपाल घुम्न तथा यहाँको अस्पताल हेर्न निम्ता दिएका थिए ।

दुई चिकित्सकबीच अस्ट्रेलियामा आयोजित नेसनल लिडरसिप फोरमको कार्यक्रमका क्रममा चिनाजानी भएको थियो । ‘यहाँ रहँदा मैले डाक्टर कोइरालाले गरेको शल्यक्रिया र ओपीडीमा बिरामीहरू हेरेँ । शिक्षण अस्पतालमा दुई जना शल्यचिकित्सकले गरिरहेको काम देखेरै म निकै प्रभावित भएँ,’ बालबालिकाको प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ शल्यचिकित्सा विशेषज्ञ बेडले भने, ‘यहाँ उपलब्ध साधनस्रोतमा चिकित्सकहरूले जे जति गरिरहेका छन् त्यो निकै प्रशंसनीय छ । हामी औपचारिक रूपमा नै यहाँको उपचार पद्धतिमा सहयोग गर्न तत्पर छौं ।’

डाक्टर स्टुअर्ट बेड

पहिलो नेपाल भ्रमणले उत्प्रेरित भएका उनी अर्को पटक क्विन्सल्यान्ड हस्पिटलको चिकित्सक टोलीसहित शल्यक्रियाका लागि नेपाल आउने योजनामा बनाएका छन् । अस्ट्रेलिया फर्कंदै गर्दा पनि उनले पुनः नेपाल आउनुलाई संकल्पकै रूपमा सुनाए ।

क्विन्सल्यान्ड अस्पताल र शिक्षण अस्पतालबीच तालिमलगायतमा चिकित्सक, स्वास्थ्यकर्मीहरूको अनुभव आदानप्रदान गर्न पहल गर्ने बेडको भनाइ छ । ‘म अस्ट्रेलिया पुग्नेबित्तिकै यहाँका बाल विशेषज्ञ शल्यचिकित्सकलाई थप विशिष्टीकृत तालिम तथा अध्ययनमा सहयोगका लागि काम थाल्नेछु,’ बेडले भने, ‘म नेपालमा शल्यक्रिया गर्न मेरा सहकर्मीलाई लिएर छिट्टै आउनेछु ।’

त्रिवि शिक्षण अस्पतालमा बालरोग विभागका साथै शल्यचिकित्साको क्षेत्रमा भइरहेको कामबारे कोइरालाले नेसनल लिडरसिप फोरममा प्रस्तुत गरेको कार्यपत्रबाटै नेपालप्रति प्रभावित आफू प्रभावित भएको बेड बताउँछन् । ‘त्यो प्रस्तुतिमा विभिन्न चुनौतीहरूका बावजुद नेपालमा चिकित्सकहरूले उत्कृष्ट नतिजा दिइरहेका छन् भन्ने विषयले मलाई आफैं नेपाल आएर त्यो अनुभूति गर्न हौसाएको हो,’ उनले भने, ‘यहाँका चिकित्सक, स्वास्थ्यकर्मीहरूले गरिरहेको मिहिनेतले मलाई मेरै काममा पनि अझ बढी प्रेरणा मिलिरहेको छ, हामी त कति भाग्यमानी रहेछौं भन्ने महसुस पनि गराएको छ ।’

डाक्टर दिनेश कोइराला

सानो शरीरलाई चिरेर उपचार गर्नुपर्ने भएकाले पनि बालबालिकाको उपचार गर्नुलाई तुलनात्मक रूपमा बढी चुनौतीपूर्ण काम मान्छन्, बेड । ‘अस्ट्रेलियामा बालबालिकाको पनि हरेक रोग र शल्यक्रियाका लागि विशेषज्ञ चिकित्सकहरू छन्,’ उनले भने, ‘हातको शल्यक्रिया मेरो विशेषज्ञताको विषय हो, तर यहाँ एकजना शल्यचिकित्सकले लगभग सबै प्रकारका शल्यक्रिया गर्नुपर्ने अवस्था रहेछ । त्यो त हामी कल्पनासम्म पनि गर्न सक्दैनौं । यस्तोमा पनि उच्च गुणस्तरको नतिजा दिनु भनेको चानचुने होइन ।’ त्यसैले पनि नेपालको बालबालिकाको उपचार क्षेत्रमा विज्ञता सहयोग गर्न चाहेको बेड बताउँछन् ।

‘हामी अब शिक्षण अस्पतालमा बाल शल्यचिकित्साको विशेषज्ञ पढाइ नै सुरु गर्न भनेर लागेका छौं । यस्तोमा बेडजस्ता चिकित्सकको सहयोगले राम्रो विशेषज्ञ उत्पादन गर्न सक्छौं । जुन हाम्रो आवश्यकता पनि हो,’ कोइराला भन्छन् । यसले नेपालको बाल शल्यचिकित्साको क्षेत्रमा नयाँ आयाम सिर्जना गर्नेमा उनी आशावादी छन् । ‘अहिले शिक्षण अस्पतालमा बाल शल्यचिकित्साको क्षेत्रमा जस्तो प्रकारको सेटअप छ, त्यस्तोमा काम गर्नु चुनौतीपूर्ण छ,’ कोइरालाले भने, ‘शल्यक्रिया गर्नुपर्ने बालबालिकाको संख्याअनुसार छुट्टै शल्यक्रिया कक्ष छैन, पोस्ट अपरेटिभ वार्ड छैन । पीआईसीयू र एनआईसीयूसम्म बिरामीलाई लानै पनि सहज छैन ।’

बेडका अनुसार बालबालिकाको शरीरमा देखिने समस्याको समयमै उपचार गर्न सके धेरैजसो अवस्थामा पूर्णरूपमा निको हुन्छ । ‘तर, त्यसलाई समयमा सम्बोधन गरिएन भने त्यो सानो बालक सधैंका लागि विकलांग हुन सक्छ,’ उनले भने, ‘ यहाँ मैले त्यस्ता केही केस देखेँ । जसले मेरो मन चसक्क भएको छ । म मनैदेखि नेपाल र नेपालीलाई सकेको सहयोग गर्न चाहन्छु ।’ शिक्षण अस्पताल भ्रमणका क्रममा बेडले ओपीडीमा एउटा बिरामी हेरेका थिए । ती बिरामीको खुट्टाको हड्डीको ट्युमर शल्यक्रिया गरेर हटाइएको थियो । तर ट्युमर बच्चाको उमेरसँगै पुनः बढ्ने भएकाले उनले त्यसका लागि हड्डीको स्थानमा रड राख्न सके बढी फाइदा हुने सुझाए । ‘तर हामी कहाँ त्यो सम्भव छैन,’ कोइरालाले भने, ‘भविष्यमा यस्तै असम्भवलाई सम्भव बनाउन सकिन्छ कि भन्ने सोच हो ।’

प्रकाशित : चैत्र ११, २०८० ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?