कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निसीखोला बस दुर्घटनाको कारण तीव्र गति

प्रकाश बराल

बागलुङ — बागलुङको निसीखोला गाउँपालिका–६ को जाउलेपानीमा दुर्घटना भएको बस तीव्र गतिका कारण भएको खुलेको छ । सोमबार भएको दुर्घटनामा बस चालक सुवास गौतमसहित ९ जनाले ज्यान गुमाएका छन् । 

निसीखोला बस दुर्घटनाको कारण तीव्र गति

ओरालो र घुम्ती बाटोमा अगाडिको गाडीलाई ओभरटेक गर्न खोज्दा उक्त दुर्घटना भएको घाइते यात्री बलबहादुर पुनले बताए । ‘हामीले रुकुमकोटदेखि नै तीव्र गति भयो भनिरहेका थियौं,’ पुनले भने, ‘मानिस चढाउन जथाभावी ओभरटेक पनि गरेका थिए ।’ गुल्मी घर भई काठमाडौंस्थित दुग्ध विकास बोर्डमा काम गर्ने ५० वर्षीय पुन सोमबार रुकुम पश्चिमबाट काठमाडौंतर्फ हिँडेका थिए ।

आडैमा बस्ने अर्का युवक चालकलाई गति कम गर्न भन्दै अगाडि समेत गएको पुनले बताए । ‘ती भाइको अवस्था के भयो थाहा छैन,’ उनले भने, ‘लौ बर्बाद पार्‍यो भन्दा भन्दै बस खस्यो ।’ अन्य यात्रीले समेत बस चलाएको मन नपराएको उनले बताए । हाल पुन धौलागिरि अस्पतालमा उपचाररत छन् । उनको टाउको र हातमा चोट लागेको छ ।

गम्भीर घाइते भएकी कमला केसीले पनि गाडी तीव्र गतिको भएको बताइन् । रुकुम पश्चिम घर भएकी कमला २० वर्षदेखि स्टाफ नर्समा कार्यरत छन् । तालिमका लागि उनी काठमाडौं जाँदै थिइन् । ‘हामीले गाडी जथाभावी चलायौ भनेर कराएका थियौं,’ उनले भनिन्, ‘अगाडि बसेकाहरू बढी घाइते भए ।’ केसीको खुट्टा भाँचिएको छ भने छातीमा चोट छ ।

सडकदेखि १ सय ५० मिटर तल खसेकाले बसको अगाडि भागमा बस्नेहरूको मृत्यु भएको थियो । गम्भीर घाइते पनि अगाडिका बढी छन् । पछाडि बस्नेहरू सामान्य घाइते छन् । घटनास्थलमा ७ जनाको मृत्यु भएको थियो भने उपचारका लागि बुर्तिवाङ लैजाँदा १ जना र अस्पताल पुगेपछि एक जनाको मृत्यु भएको हो । घटनामा २८ जना घाइते भएका छन् ।

रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं हिंडेको वाग्मती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको यात्रुवाहक बस साँझ ५ बजेर २० मिनेटमा सडकदेखि १ सय ५० मिटर तल भीरमा खसेको थियो । घटनामा रुकुम पश्चिम मुसिकोट–१ की २७ वर्षीया विनिता केसी, मुसिकोट–२ का सवारीधनी बबि दलेल नेपाली, मुसिकोट–४ की ३५ वर्षीया टीका केसी, मुसिकोट–३ की कल्पना केसी, रोल्पा घर भएका चालक सुवास गौतम, गोरखा घर भएकी गीता थापा, ललितपुर घर भएका सुजन महर्जन, रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ का २५ वर्षीय विक्रम परियार र दाङका १८ वर्षीय लक्की पुनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।

रुकुम पश्चिमबाट सोमबार बिहान साढे ११ बजे काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको हो । रुकुमकोट नजिकै पनि एकपटक झण्डै सडकदेखि खस्नै लाग्दा चालकले बचाएको पुनले बताए । हाल ६ जना गम्भीर घाइतेलाई पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि पठाइएको छ । बाँकी २० जना धौलागिरि अस्पतालमा उपचाररत छन् ।

घाइतेहरू अधिकांशको टाउकोमा चोट लागेको छ । गम्भीर चोट भएका रिफर गरेको र बाँकीको धौलागिरि अस्पतालमै उपचार हुने चिकित्सक डा. अमित ढुंगानाले जानकारी दिए । केही व्यक्तिको भने मेरुदण्डमा पनि समस्या भएकाले यहाँ उपचारपछि सम्बन्धित स्थानमा रिफर गरिने ढुंगानाले जानकारी दिए । घटनास्थल सदरमुकामदेखि १ सय ३० किमि पश्चिममा पर्छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा पनि सडक ओरालो र घुम्ती भएकाले तीव्र गति हुँदा नियन्त्रण गुमाएर बस दुर्घटनामा परेको खुलेको छ ।

प्रकाशित : चैत्र ६, २०८० १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?