कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६७

माधवनारायणमा नयाँ पुस्ता

ललितपुरको थेच्वमा धुमधामले मनाइने माधवनारायण पर्वलाई जगेर्ना गर्न पछिल्लो समय युवाहरू सक्रिय हुन थालेका छन् । यो पर्व हरेक वर्ष मार्ग शुक्लपक्ष पूर्णिमादेखि फागुन शुक्ल पूर्णिमासम्म प्रत्येक दिन नगर परिक्रमा गरी मनाइन्छ ।

काठमाडौँ — शिरमा फेटा बाँधेका ललितपुर थेच्वका १८ वर्षीय रितेश महर्जनको काँध, कुम, हात र टाउकोमा दियो राखेर ब्रह्माको प्रतीकका रूपमा अगाडि बढिरहेका देखिन्छन् । थेच्वकै २५ वर्षीय सवीर महर्जन विष्णुको अवतरमा छन् । धोती लगाएका उनले बोकेको छ्वालीभित्रका घैटोबाट सहस्र जलधारा बगिरहेको छ । महेश्वरको प्रतीकमा देखिएका श्रीजल महर्जनले जसीः (खड्कुलो) मा बसेर शंख फुक्दै जल छर्किरहेका छन् । 

माधवनारायणमा नयाँ पुस्ता

थेच्वमा हालै सम्पन्न माधवनारायण उत्सवमा देखिएको यो दृश्य हो यो । उत्सवका सहभागीहरू शरीरमा भिपु, बापुचा, सिखलगायत मालाका गरगहना लगाएर सजिने गर्छन् । उत्सवका क्रममा केही युवाले कागजबाट बनाइएको रावणको आकृति लट्ठीमा उनेर नगर परिक्रमा गर्न त कोही महादेवको मूर्ति शृंगारिएको खट बोकेर जात्रा गर्न व्यस्त । त्यहीबीचमा हार्मोनियम र तबला बजाएर गाइएका महादेव, बुद्ध, कृष्ण, महाभारतका परम्परागत गीतले रौनक झन् थपिदिन्छ ।

ललितपुरको गोदावरी–१२ थेच्वमा प्रत्येक वर्ष माधव नारायण पर्व विशेष रूपमा मनाइन्छ । उपत्यकाका अन्य स्थानमा ब्रह्मा, विष्णु र महेश्वरको भेषमा उत्सव मनाउने चलन बन्द भइसकेको छ । तर थेच्वमा भने युवा पुस्ताले पनि यो परम्परा धानिरहेका छन् । रितेश तेस्रो पटक ब्रह्माको प्रतीकका रूपमा माधवनारायण पर्वमा सहभागी भएका हुन् । सवीर भने ब्रह्मा, विष्णु र महेश्वरका रूपमा माधवनारायण पर्वमा ९ पटक भाग लिइसकेका छन् । श्रीजलले भने पहिलो पटक अनुभव लिए । ‘माधवनारायणको व्रत निकै कठोर छ । दुःखकष्ट सहेर व्रत समापन भएपछि शरीर शुद्ध हुने आत्म सन्तुष्ति मिल्ने गर्छ,’ रितेश भन्छन्, ‘त्यसैले प्रत्येक वर्ष उत्सवमा सहभागी हुँदै आइरहेको छु ।’

सवीर भने माधवनारायण पर्वको सांस्कृतिक महत्त्वबारे जागरण ल्याउन पनि पर्वमा भाग लिँदै आएको बताउँछन् । सवीरका बुवा कान्छाकुमार महर्जन थेच्व माघ माहात्म्य संघका अग्रज हुन् । विदेशी संस्कृति अँगाल्ने प्रवृत्ति बढिरहेका बेला आफ्नो परम्परा र रीतिरिवाज जोगाइराख्न युवाहरू सचेत हुन आवश्यक रहेको सवीर बताउँछन् ।

उत्सवमा हरेक वर्ष सहभागी हुँदै आइरहेका थेच्वका कृष्ण माली भने पर्वमा भाग लिन एक महिनादेखि माधवनारायणको निराहार व्रत बसेका हुन् । मालीले संस्कृति परम्पराले जीवन जिउने तरिका सिकाउने मात्र नभई एक–आपसमा मेलमिलाप भावना विकास गरेको बताए । माधवनारायण पर्व विष्णुमा समर्पित एकमहिने लामो उत्सव हो । प्रत्येक वर्ष मार्ग शुक्लपक्ष पूर्णिमादेखि फागुन शुक्ल पूर्णिमासम्म प्रत्येक दिन बिहान नुहाइधुवाइ गरी शंखजल ग्रहण गरी शंख बजाएर महादेवको श्रुति महिमा उच्चारण गरी नगर परिक्रम गरी मनाइन्छ ।

साँखुमा भने माधवनारायणको मूर्तिलाई पैदल यात्रा गराउँदै भक्तपुरको त्रिवेणी घाट हुँदै काभ्रे, चाँगुनारायण, पशुपतिनाथ र फर्पिङ शेष नारायण हुँदै अन्तमा साँखु पुर्‍याउने चलन छ । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाट पनि एकमहिने माधवनारायणको व्रत बस्ने गरिन्छ । भक्तपुरमा व्रतालुले तलेजु भवानी, पनौती, पशुपतिनाथ, चाँगुनारायण शंखदह पुगेर स्नान गरी कलशसहित चाँगुनारायणको दर्शन तथा भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा छ ।

श्री ब्रह्मायणी सांस्कृतिक मंका खलः माघ महात्मा संघ थेच्वका अध्यक्ष इच्छा महर्जनका अनुसार वाग्मती सभ्यताको विकासक्रमसँगै नेवार समुदायको जीवन पद्धतिमा ईश्वरलाई ९ प्रकारले श्रद्धापूर्वक भक्तिभाव (नवधा) गर्न थालियो । ‘नवधा भक्तिबाट प्रभावित नेवारहरूको जीवन पद्धति र जीवन दर्शनमा माघ माहात्म्यको ठूलो प्रभाव परेको देखिन्छ,’ उनले भने, ‘अन्य ठाउँमा लोप भइसकेको नवधा भक्तिका सूत्रहरू थेच्वमा जीवन्त छन् ।’

आफूहरू युवावस्थामा छँदा संस्कृति बचाउन निकै लागिपरेको बताउँदै महर्जनले अब भने यो जिम्मेवारी युवाहरूले काँधमा आइपरेको बताए । ‘खड्कुलोमा बस्ने मानिस कालकुट विष सेवनपछि गोसाइँकुण्ड पुगेर ध्यान मग्न महादेवको प्रतीकको हो,’ उनले भने, ‘छ्वाली घैंटोमा बोकेर आउनुको अर्थ सहस्र जलधारा बगाउनु हो भने टाउकोमा दियो बत्ती राख्नु सम्मानस्वरूप सूर्य देवतालाई दीप प्रज्वलन गर्नु हो ।’

हिन्दु परम्पराअनुसार बाह्र महिनाको प्रत्येक महिनामा एक/एक नारायण गरी द्वादश नारायणको पूजा गर्ने चलन छ । वैशाखमा मधुसूदन नारायण, जेठमा त्रिविक्रम, असारमा वामन, साउनमा श्रीधर, भाद्रमा ऋषिकेश, असोजमा पद्मनाभ, कात्तिकमा दामोदर, मंसिरमा केशव, पुसमा नारायण, माघमा माधव, फागुनमा गोविन्द र चैतमा विष्णु नारायणको पूजा गर्ने गरिन्छ । प्रत्येक महिनामा नारायणको नाम फरक भएझैं नारायणका चार बाहुमा रहने शंख, चक्र, गदा, पद्म पनि फेरिन्छ । माघमा दायाँतर्फ चक्र, शंख र बायाँतर्फ गदा र पद्म रहने गर्छ ।

यो बेला व्रतालुहरूले प्रत्येक दिन स्नान गरी नित्यपूजा, जप, तप, ध्यान, स्वस्थानी श्रवण गरी सूर्यपूजा, शिवपार्वतीसहित देवीदेवताको पूजाअर्चना गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । विवाहित महिलाहरू व्रत बसेर जीवनसाथीको समृद्ध जीवन र दीर्घायुको प्रार्थना गर्छन् भने अविवाहित महिलाले योग्य जीवन साथीको कामना गर्छन् ।

तर थेच्वमा भने अन्य स्थानको भन्दा केही फरक छ । फागुन शुक्लपक्ष सप्तमीमा झिसमिसे बिहानीमा महादेवको आराधना गरी जौ, मकै, चामल, कालो तिललगायत ७ प्रकारका पूजासामग्री राखी नख्खु खोलामा दीप बत्ती चढाइन्छ । एक प्रकारको सुकाइएको फलको बोक्रा स–सानो टुक्रा गरी बीचमा प्वाल पारेर इतामत (बत्ती) बाली खोलामा बगाइन्छ । यसरी बगाएको बत्ती टाढासम्म बगेर गएमा दीघार्यु र महत्त्वांकाक्षी पूरा हुने जनविश्वास छ ।

यसै दिन थेच्ववासी नख्खु खोला किनारामा पुगी चाकु, खिर भात खाने चलन छ । यस दिनलाई नेपाल भाषामा ‘लगला चुय्केगु’ भनिन्छ । दुवै दिन शिवलिंगलाई खटमा राखेर नगर परिक्रममा पनि गराइन्छ । यो समयमा मकरमा सूर्य रहने भएकाले प्रभासमा गरिएको स्नानले मनुष्यको गुण हुने भनी श्रीस्वस्थानी कथामा वर्णन गरिएको छ । माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनुभन्दा एक दिनअघिदेखि नै निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी पूजा गर्नुपर्ने, शंखजल ग्रहण गरी मन्त्रोच्चारण, शंखजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ ।

नगर परिक्रममा सकेपछि उनीहरूलाई चाकु, चिउरा, अडुवा र घिउ राखी खुवाउने चलन छ । ब्रह्मायणी माघ महात्म्य संघका गुरु दशलाल महर्जनका अनुसार मल्लकालमा प्रत्येक टोलबस्तीबाट आयोजना गरिन्थ्यो । ‘थेच्वमा ४० वर्षअघिसम्म पाँचवटा टोलले छुट्टाछुट्टै उत्सव आयोजना गर्दथे । त्यतिबेला टोलटोलबीच प्रतिस्पर्धा पनि हुन्थ्यो । अहिले भने जेनतेन सञ्चालनमा छ,’ उनले भने ।

प्रकाशित : चैत्र ५, २०८० ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?