कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

पूर्वउपराष्ट्रपति पुनका छोरा पक्राउ, पूर्वसभामुख महरामाथि कारबाही के हुन्छ ?

महरा बाबुछोराले सुन तस्करहरूसँग २५६ पटक टेलिफोन संवाद गरेको प्रमाण अदालतमा छ
सुदीप कैनी

काठमाडौँ — सहकारी ठगी तथा सुन तस्करी प्रकरणमा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश शुक्रबार साँझ पक्राउ परेका छन् भने उपराष्ट्रपतिका तत्कालीन सल्लाहकार जीवनकुमार गुरुङविरुद्ध १ सय ३८ केजी सुन तस्करी प्रकरणमा मुद्दा दायर भएको छ । तर योभन्दा उच्चस्तरबाट सुन तस्करलाई संरक्षण गर्ने पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि के कारबाही हुन्छ भन्ने प्रश्न आकर्षित भएको छ । 

पूर्वउपराष्ट्रपति पुनका छोरा पक्राउ, पूर्वसभामुख महरामाथि कारबाही के हुन्छ ?

जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेका थिए । बुटवलका १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा पनि दीपेश जोडिएका छन् । उनी माओवादी केन्द्रका विशेष प्रदेश कमिटीका सदस्य तथा अखिल क्रान्तिकारीका महासचिव हुन् । पुनका अर्का छोरा जितेन्द्र पनि सुन तस्करीमा रहेको पाइएको छ ।

दीपेशलाई काठमाडौंबाट पक्राउ गरेको प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए । उनलाई खासगरी सहकारीको बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर सुन तस्करीमा समेत अनुसन्धान गर्ने बताइएको छ । चिनियाँ सुन तस्करसँग संलग्नता देखिए पनि पुनले यसअघि प्रहरी अनुसन्धानबाट उन्मुक्ति पाएका थिए ।

यता, आठ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर प्रहरीको विशेष अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनमा किटान हुँदा पनि महरामाथि मुद्दा दर्ता त भएको थिएन । जबकि महरा बाबुछोराले चिनियाँ सुन तस्करहरूसँग २५६ पटक टेलिफोन संवाद गरेको कलडिटेल रेकर्ड प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो ।

इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लीसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबुछोराले उनलाई सहयोग पुर्‍याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको तथ्य स्थापित भइसकेको छ ।

सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट मिलिभगतमा बेच्ने सञ्जालमा महरा बाबुछोरा भएको किटान प्रहरी प्रतिवेदनमा छ जसलाई सुन जाँचबुझ आयोगले पनि प्रमाण मानेको छ । प्रहरीले कल डिटेल रेकर्डसहित कृष्णबहादुर र राहुलको विवरण खुलाउँदा पनि उनीहरूको प्रसंग छायामा पारेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गत असार २७ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अर्कोतर्फ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ३८ किलो सुन तस्करी गरेको आरोपमा पूर्वउपराष्ट्रपति पुनका तत्कालीन सल्लाहकार ‘वैदेशिक मामिला विज्ञ’ गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । विमानस्थल भन्सार कार्यालयका अनुसार १ अर्ब ४० करोड ५५ लाख ३० हजार बिगो जरिवाना र ५ वर्ष कैद सजाय मागदाबीसहित मुद्दा दर्ता भएको हो । भन्सारले गरेको छानबिन र अनुसन्धानमा भरियाले विमानस्थल हुँदै दुबईलगायत देशबाट तस्करी गरेर ल्याएको सुन गुरुङले बुझिलिने गरेको पाइएको थियो । उनी डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी प्रमुखसमेत हुन् ।

मंसिर २१ मा १४ किलो सुनसहित विमानस्थलबाट गोरखाका चन्द्र घले पक्राउ परेपछि उक्त सुन ल्याउने ‘योजनाकार’ गुरुङ भएको खुलेको थियो । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत फागुन १४ मा पक्राउ गरेको थियो । पक्राउपछि विमानस्थल भन्सार कार्यालयले गरेको छानबिन र अनुसन्धानमा भरियाले ल्याएको सुन गुरुङले जिम्मा लिएर व्यवस्थापन गरेको खुल्न आएको हो ।

उक्त सुन तस्करी प्रकरणमा यसअघि ९ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । मुद्दा दायर भएकामध्ये ७ जना पुर्पक्षका लागि थुनामा छन् भने २ जना फरार छन् । गुरुङसहित १० अभियुक्तलाई समान कसुरमा मुद्दा दायर गरिएको भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले जनाए । उनी भन्सार विभागले गठन गरेको सुन तस्करीसम्बन्धी छानबिन समितिका संयोजकसमेत हुन् । भरियाले ल्याएको सुन गोरखाका मीन घले हुँदै गुरुङसम्म पुग्ने गरेको अनुसन्धानमा सहभागी भन्सारका एक अधिकारीले बताए । घले समूहले सन् २०१४ देखि नै सुन तस्करी गरेको र पछिल्लो एक वर्षमा मात्रै करिब १ सय ३८ किलो सुन तस्करी गरेर नेपाल भित्र्याएको छानबिनमा क्रममा खुलेको थियो । तस्करहरूले ल्याएको सुन विमानस्थलको शौचालयभित्र लुकाएर राख्ने गरेको तथ्य फेला परेको थियो । नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको मिलेमतोमा सुरक्षा चेकजाँच छलेर ‘चोरबाटो’ हुँदै बाहिर निकाल्ने गरिएको पाइएको थियो । ‘भरियाले ल्याएको सुन विमानस्थलबाट बाहिर निकालेपछि पहिले मीन घलेले बुझ्थे । त्यसपछि जीवन गुरुङले भएको ठाउँसम्म पुर्‍याएर उनैको जिम्मा लगाउने गरेको प्रमाणहरू भेटिएको छ,’ ती अधिकारीले भने ।

उक्त प्रकरणमा मीन घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर बस्नेत, राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, अनिल श्रेष्ठ र रमेश देउला पुर्पक्षका लागि थुनामा छन् भने दनबहादुर गुरुङ र बिना गुरुङ फरार छन् । उनीहरू श्रीमान्–श्रीमती हुन् । उनीहरूलाई पनि जीवनकुमार गुरुङले परिचालन गर्ने गरेको भन्सार कार्यालयले जनाएको छ । २०७२ कात्तिकदेखि २०७९ चैत ६ सम्म दुई कार्यकाल गरी करिब ७ वर्ष पुन उपराष्ट्रपति थिए । जतिबेला गुरुङ उपराष्ट्रपति पुनका सचिवालय टिममा थिए । उपराष्ट्रपतिको टिममा रहँदादेखि नै गुरुङले तस्करी गरेर ल्याएको सुन बुझिलिने गरेको भन्सारका अनुसन्धान अधिकृतहरूले जनाए । उनले नै भरियाले नेपाल ल्याएको सुन भारतीय बजारसम्म पुर्‍याउने गरेको खुलेको छ । उनीविरुद्ध पुस पहिलो साता पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि पर्वत स्थायी घर भएका उनी फरार थिए । एक वर्ष (२०७९ मंसिरदेखि २०८० मंसिरसम्म) मा मात्र कृष्णकुमारले १४ किलोका दरले ७ पटक, मीनले १४ किलो र चन्द्रले ४, ८ र १४ किलोसहित १ सय ३८ किलो सुन विमानस्थल हुँदै बाहिर निकालेको स्वीकार गरेका छन् ।

चलाउनेलाई जोगाउने को ?

सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा लगेको छ । सुन तस्करीका विचौलिया जीवन चलाउनेको निकट सम्बन्ध पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित केही राजनीतिक दलका प्रभावशाली नेताहरूसँग देखिएको भन्दै थप अनुसन्धान गर्नुपर्ने देखिएको छ । हालसम्म सार्वजनिक भएका र आयोगको प्रतिवेदनमा उल्लेख भएका प्रमाणहरूअनुसार चलाउने र खनालको सम्बन्ध स्थापित देखिन्छ ।

सुन तस्करी प्रकरणमा खनालका व्यावसायिक साझेदार सुबुप्रताप केसीलाई ३० हजार अमेरिकी डलर चलाउनेले दिएको प्रतिक्रिया दिएका छन् । विदेशमा रहेका बेला डिजिटल माध्यमबाट चलाउनेले आयोगलाई दिएको बयानमा उल्लेख छ । उनले चिनियाँ सुन तस्करीका नाइके दावा छिरिङको साथीमार्फत खनाललाई रकम दिएको बयान दिएका छन् ।

‘केसी र दावाका एक जना साथीबीच लेनदेन भएको म्यासेज छ । तर, पुष्टि गर्न खनाल र उक्त साथीको बैंकिङ कारोबार हेर्नुपर्ने हुन्छ,’ त्यसैका लागि खनाललाई थप अनुसन्धानको आवश्यकता छ । तर आयोगले केसी र खनालबीच सोझै सम्बन्ध स्थापित गर्न नसकेको भन्दै प्रतिवेदनमा भने खनालको नाम उल्लेख गरेको छैन । तस्करीमा चलाउने मुछिएपछि सीआईबीले उनीसँग सोधपुछ गरेको थियो । तर सोधपुछका लागि सीआईबीमा उपस्थित हुँदाको सीसीटीभी फुटेजसमेत गायब पारेको शंका आयोगले गरेको छ ।जुन विवरण गृह तथा सीआईबीले उपलब्ध नगराएको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ । अनुसन्धानमा लापरबाही गरे पनि चलाउने फरार भए, सीआईबीले अनुसन्धान गरेको विषय उल्लेख नै नगरी सरकारी वकिलको कार्यालयमा फरार सूचीमा राखी प्रतिवेदन पेस गरेको थियो ।

सीआईबीका तत्कालीन एसपी थापाको कार्यकक्षमा बयान कागज गरेर चलाउनेलाई छाडिएको र उक्त कागजसमेत पछि च्यातिएको प्रतिवेदनमा उल्लेख छ । ‘चलाउने बयान दिन जाँदाको सीसीटीभी फुटेज डिलिट गरिएको छ । बयान कागज च्यातिएको र उनलाई भाग्ने मौका दिएको देखिन्छ,’ आयोगका एक सदस्यले भने ।

तर आयोगसमक्ष चलाउनेले दिएको बयानमा आफू ४ घण्टा सीआईबीमा उपस्थित भएको उल्लेख गरेका छन् । ‘एसपी थापाले बयान लिई सो बयानमा सहीछाप गराएका थिएँ,’ चलाउनेले आयोगलाई दिएको बयानमा भनेका छन् । तर चलाउनेले खनालको नाम भने बयानमा दिएका छैनन् । ‘त्यसकारण चलाउनेलाई कसले चलाइरहेको छ ? भन्ने अनुसन्धान त्यहींबाट सुरु हुनुपर्छ,’ एक प्रहरी अधिकृत भन्छन्, ‘त्यो अनुसन्धान खनालदेखि अन्य उच्च अधिकारीहरूसमक्ष पुग्नुपर्छ । पुग्छ कि पुग्दैन वर्तमान गृहमन्त्री, प्रहरी प्रमुख, सीआईबी प्रमुखको परीक्षाको विषय हो ।’ चलाउने र खनालबीचको सम्बन्ध स्थापित गर्ने अर्को आधार पनि आयोगले देखाइदिएको छ । खनालका साथी सुबु केसी पनि सुन तस्करीको प्रकरणमा जोडिएका छन् । केसीलाई मुद्दा चलाउनुपर्ने सुझाव आयोगले दिएको छ । सुन तस्करीका मुख्य नाइके दावा छिरिङले २० हजार अमेरिकी डलर केसीलाई दिएको विवरण आयोगले फेला पारेको छ । पुर्पक्षका लागि थुनामा रहेका दावाको मोबाइलमा उपलब्ध विवरणअनुसार २० हजार अमेरिकी डलर केसीले दावालाई दिएका छन् ।

सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्न थालेको र अनुसन्धान पुग्नुपर्ने ठाउँमै पुग्ने गरी गहिरोसँग गरिने गृहमन्त्री लामिछानेले बताए । ‘आयोगले दोषी किटान गरेकामध्ये दीपेश पुनलाई प्रक्राउ गरिसकेका छौं । एआईजीको जिम्मेवारी हेरफेर गरिएको छ । अनुसन्धानमा लापरबाही गर्ने सीआईबी ३ अधिकृतलाई पनि प्रहरी हेडक्वार्टर तानिएको छ । अब बाँकी व्यक्तिको सम्बन्धित निकायबाटै अनुसन्धान हुन्छ । प्रतिवेदनले किटान गरेका कसैले पनि उन्मुक्ति पाउने छैनन्,’ उनले भने ।

छानबिन र अनुसन्धानबाट उन्मुक्ति पाएका पूर्वआईजीपीद्वय खनाल र धीरजप्रताप सिंहलाई कसरी कानुनी दायरामा ल्याउन सक्छ भन्ने विषयमा गृह मन्त्रालयमा समेत छलफल सुरु भएको एक अधिकारीले बताए । ‘ पूर्वप्रहरी महानिरीक्षक सिंहलाई निगरानीमा राख्नु भनेर आयोगले सिफारिस गरेको छ । उनले चिनियाँ सुन तस्कर दावासँग रकम नै लिएको मेसेज भएकाले सिंहमाथि निगरानी गर्नु र अनुसन्धान गर्नु कुनै ठूलो विषय भएन । तर चलाउनेभन्दा माथिल्लो तहको सम्बन्ध स्थापित गर्ने विषय चुनौतीपूर्ण देखिन्छ,’ गृहका एक अधिकारीले भने । गृह प्रशासनले चुनौती देखे पनि २०७६ सालदेखि नै खनाल र चिनियाँ तस्करहरूबीच उठबस भएको देखिन्छ । खनाल र चिनियाँ तस्कर दावाका साझेदारहरूबीच उठबस रहेको विवरण यसअघि पनि सार्वजनिक भइसकेका छन् ।

उनको सम्बन्ध सुन तस्करीमा फरार अभियुक्त अमला रोका र काठमाडौंको एक होटल सञ्चालक श्रेष्ठसँग रहेको थियो । सुन तस्करीका नाइके चिनियाँ नागरिक दावा छिरिङ र रोका श्रीमान्, श्रीमती हुन् । महँगा मोबाइल, ल्यापटप, माउस, किबोर्ड अवैध रूपमा ल्याउने उक्त समूह नै बिस्तारै सुन तस्करीमा सक्रिय हुँदै आएको प्रहरी उच्च अधिकारीहरूको भनाइ छ । त्यतिबेला तत्कालीन आईजीपी खनालले उक्त तस्करी समूहमा सक्रिय चिनियाँ नागरिक चेन सितियान लगायतसँग भेटघाट गरेको तस्बिरसमेत सार्वजनिक भएको थियो ।

हाल आएर त्यही गिरोहले विद्युतीय चुरोट भेप र ब्रेक सुमा सुन (६१ किलो) राखी तस्करीमा सक्रिय रहेको फेला परेको हो । ७ महिनाअघि विद्युतिय चुरोट भेप र ब्रेक सुमा राखी सुन तस्करी गरेको प्रकरणमा राजनीतिक, प्रशासनिक र सुरक्षा निकायका शक्तिशाली अधिकारीको जालो तोड्न माग गर्दै तत्कालीन प्रतिपक्षी एमाले र रास्वपाले गत साउनमा एक महिना संसद् अवरुद्ध गरेपछि पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको थियो । तर, आयोगले सुन तस्करीमा माओवादी र एमालेका नेताहरूमाथि कारबाही नगरेको भन्दै प्रहरीमाथि प्रश्न गरेको छ ।

आयोगले कारबाहीको सिफारिस गर्न औंल्याएकामध्ये केही प्रहरीको जिम्मेवारी हेरफेर गरी कार्यान्वयन सुरु गरेको जनाएको छ । सुन तस्करीमा संलग्न बिचौलिया जीवन चलाउनेमाथि भएको अनुसन्धानको प्रमाण मेटाउनेसमेत काम गरेका तत्कालीन प्रहरी अधिकारीहरू केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख, एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरको जिम्मेवारी हेरफेरसँगै विभागीय कारबाही गरेको हो । प्रतिवेदन कार्यान्वयनको चरणमा प्रहरी अधिकारीहरूमाथि तत्कालै कारबाही भए पनि तस्करीमा संलग्न बाँकी आरोपितहरू र प्रमाण नष्ट गर्न सफल जीवन चलाउनेभन्दा अगाडिको अनुसन्धान कसरी अघि बढ्छ भन्नेमा गृह तथा प्रहरी प्रशासनले कुनै संकेत गरेको छैन ।

प्रतिवेदनमा केहीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने, केहीलाई मुद्दा चलाउनुपर्ने र केहीलाई कारबाही गर्न सिफारिस गरिएको छ । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, छाया सेन्टरमा वाल्डो क्यासिनो सञ्चालक चिनियाँ नागरिक टेरेन्स टीएचसी, पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश, वैदेशिक मामिला विज्ञ/सल्लाहकार जीवनकुमार गुरुङ, विध ल्याबका सञ्चालक भीमकान्त भण्डारी, होटल भियनाका सञ्चालक मञ्जिल श्रेष्ठ, व्यवसायी सुबुप्रताप केसी र प्रहरी संगठनभित्र बिचौलियाको भूमिकामा सक्रिय जीवन चलाउनेलाई सुन तस्करीको प्रकरणमा अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको छ । उल्लिखित नामहरूको सन्दर्भमा सुन तस्करीको प्रकरणमा के कस्तो संलग्नता रहेको भन्ने विषयमा आयोगले स्पष्ट पारे पनि चलाउनेभन्दा अघिल्लो तह भने स्थापित गर्न सकेको छैन । सीआईबीले प्रमाण नष्ट गरेको, क्लु नछाडेको र सीआईबी तथा गृह प्रशासनले आवश्यक विवरण उपलब्ध नगराएको भन्दै आयोगले चलाउनेभन्दा अघिल्लो तहमा पुग्न नसकेको जनाएको छ ।

अनुसन्धानमा लापरबाही गर्ने केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यलाई प्रहरी हेडक्वार्टर सरुवा गरिसकिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदनको अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रिमा लैजाने निर्णय गरेसँगै बज्राचार्यसहित ४ प्रहरीको जिम्मेवारी हेरफेर गरेको हो । बज्राचार्यको सरुवापछि सीआईबीको प्रमुखको जिम्मेवारी एआईजी श्याम ज्ञवालीलाई दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

साथै शुक्रबार नै सहकारी ठगी तथा उक्त सुन प्रकरणमा जोडिएका पूर्वराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई प्रहरीले प्रक्राउ गरेको छ । मन्त्रिपरिषद्को बैठक अघि गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएका थिए । प्रधानमन्त्री आयोगले दोषी ठहर गरेकाहरूलाई कारबाही थाल्न निर्देशन दिएपछि गृहमन्त्री लामिछानेले दोषी देखिएका प्रहरी अधिकारीलाई कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी महानिरीक्षक बसन्त कुँवर र गृहसचिव एकनारायण अर्याललाई निर्देशन दिएका थिए । अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी लगायतलाई मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ । सहसचिव अधिकारी हाल नेपाल ट्रस्टको कार्यालयको प्रवक्ता छन् । सरकारी वकिल कार्यालयका वासुदेव शर्मा र जनकराज घिमिरेलाई कारबाहीको सिफारिस गरिएको छ । कर्मचारीलाई सम्बन्धित निकायबाटै विभागीय कारबाही गरिने एक मन्त्रीले बताए ।

प्रकाशित : चैत्र ३, २०८० ०६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?