कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

किन गरियो सिंहदरबार गेटमा आरतीकी आमालाई लछारपछार ?

‘सिंहदरबारको गेटमा नै रोक लगाएपछि हामीले राज्यबाट पीडित भएको महसुस गरेका छौं । के हामी पीडित सिंहदरबार पस्नै नहुने हो र ? के सिंहदरबार हाम्रो पनि हैन र ?’
मधु शाही

काठमाडौँ — सोमबार दिउँसो सिंहदरबारको दुई नम्बर गेटमा पास पूरा भई भित्र पसिसकेका थिए आरती साहकी आमा निर्मला र भाइ प्रेम । पछाडिबाट चर्किंदै एक प्रहरीले सोधिहाले, ‘तपाईंहरू आरती साहको परिवार होइन ?’ जवाफ दिन नपाउँदै प्रहरी हतारिँदै आइहाले, ‘बाहिर निस्कनुस्, तपाईंहरू भित्र जान पाउनुहुन्न ।’

किन गरियो सिंहदरबार गेटमा आरतीकी आमालाई लछारपछार ?

हातमा न्यायको मागसहितको ध्यानाकर्षण पत्र बोकेका उनीहरूलाई त्यसपछि प्रहरीले जबर्जस्ती गेट बाहिर निकाल्यो । निर्मलालाई महिला प्रहरीहरूले जबर्जस्ती लछारपछार पार्दै गेट बाहिर ल्याए भने प्रेमलाई झ्याइँकुटी पारेरै प्रहरी भ्यानमा हुलियो ।

एकसरो लुगामा सिंहदरबार प्रवेश गरेका आरती परिवारमा सशंकित हुनुपर्ने त्यस्तो कुनै अवस्था थिएन । तर सुरक्षाकर्मीले भने उनीहरूलाई चिन्नेबित्तिकै अप्रत्याशित व्यवहार देखाएका थिए । माइतीघरमा छोरीको न्यायका लागि धर्ना बस्दै आएकी निर्मला उक्त स्थानलाई सरकारले निषेधित क्षेत्र तोकिदिएपछि त्यहाँबाट लखेटिएर रत्नपार्कस्थित शान्तिवाटिकामा निरन्तर धर्नामा छन् । २ सय ३५ दिनदेखि निरन्तर धर्नामा बस्दै आएका उनीहरू यतिबेला सिंहदरबारमै पस्नसमेत निषेधित भएका छन् । सिंहदरबार पस्न नदिएको विरोधमा गेटमै धर्ना बस्दा उनीहरूमाथि प्रहरीले जबर्जस्ती लछारपछार गर्दै नियन्त्रणमा लिएको हो ।

मंगलबारको एकादशीका लागि एक दिनअघि नै व्रत बसेकी निर्मला सोमबार भने भोकै–प्यासै प्रहरीसँग अनाहकमा संघर्ष गर्नुपरेको थियो । ‘दयामाया नभएका प्रहरी हुँदा रहेछन्,’ उनले दुखेसो पोखिन्, ‘जति अन्याय गरून् सहन्छौं तर सडक छोड्दैनौं ।’

‘बुधबारदेखि संसद् चलेकाले त्यहाँ आरतीको न्यायका पक्षमा बोलिदिन ध्यानाकर्षण पत्र बुझाउन जाँदै थियौं,’ प्रेमले भने, ‘सिंहदरबारको गेटमा नै रोक लगाएपछि हामीहरूले राज्यबाट पीडित भएको महसुस गरेका छौं । के हामी पीडित सिंहदरबार पस्नै नहुने हो र ? के सिंहदरबार हाम्रो पनि हैन र ?’ जनकपुर उपमहानगरपालिका–९, थापा चोककी २३ वर्षीया आरतीको गत जेठ ७ मा आफ्नै घरमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो । माइती पक्षले उनको मृत्यु नभई हत्या भएको दाबी गर्दै आएको छ । प्रहरीले भने घटनालाई आत्महत्याका रूपमा मुद्दा दर्ता गरेर टुंग्याउन चाहेको थियो । आरतीको पोस्टमार्टममा संलग्न चिकित्सक डा. अवधेशकान्त झा, डा. दिग्विजय ठाकुर र डा. दीपेन्द्रकुमार सिंहले लापरबाही गरेको र तत्कालीन प्रहरी अधिकारीहरूले समेत कमजोरी गरेका कारण आफूहरूले न्याय नपाएको आरोप लगाउँदै उनीहरू निरन्तर न्यायका लागि धर्नामा छन् । साथै न्याय दिने क्रममा आफूहरूमाथि यातना दिएको जिकिर गर्दै आरतीका परिवारले तत्कालीन जिल्ला प्रहरी कार्यालय धुनषाका प्रमुख एवं प्रहरी उपरीक्षक विश्वराज खड्का, प्रहरी नायब उपरीक्षक वदेनप्रसाद गौतम, प्रहरी निरीक्षक निदेश अधिकारीलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका छन् ।

सबै दलले आरतीको पक्षमा पहल गरिने आश्वासन दिएको र गृह मन्त्रालयले वार्तामा बोलाउने भने पनि अहिलेसम्म त्यसको सुनुवाइ नभएको प्रेम बताउँछन् । ‘आश्वासन मात्रै धेरै भए, न्याय कहिले पाउने ?’ दाइजो नल्याएको निहुँमा सासू रेणुदेवी साह, ससुरा मदनमोहन साह, श्रीमान् मोतीबाबु र देवर रवि साहले निर्घात कुटपिट गरी छोरीको हत्या गरेको आरतीको परिवारको दाबी छ ।

प्रकाशित : माघ २३, २०८० ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?