३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

स्विमिङ पुलमा करेन्ट लागेको घटनामा ५ महिनापछि मात्रै प्रहरीले दर्ता गर्‍यो जाहेरी

ललितपुरको स्क्वायर होटलको स्वीमिङ पुलमा करेन्ट लागेर गम्भीर घाइते भएका सजिलमान शाक्य पाँच महिनादेखि कोमामा
स्वरुप आचार्य

काठमाडौँ — ललितपुरको पुल्चोकस्थित होटल स्क्‍वायरमा रहेको स्विमिङ पुलमा भदौ १५ गते, शुक्रबार दिउँसो पौडी खेलिरहेको बेला करेन्ट लागेर मानभवन निवासी सजिलमान शाक्य गम्भीर घाइते भएको घटनामा प्रहरीले ५ महिनापछि मात्र जाहेरी दर्ता गरेको छ ।

स्विमिङ पुलमा करेन्ट लागेको घटनामा ५ महिनापछि मात्रै प्रहरीले दर्ता गर्‍यो जाहेरी

करेन्ट लागेर गम्भीर आघात पुगेका कारण कोमामा रहेका शाक्यको परिवारले भदौ १९ गते नै जिल्ला प्रहरी परिसर ललितपुरमा घटनाको अनुसन्धान गरी दोषीलाई कारवाहीको माग गर्दै जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न मानेको थिएन । प्रहरीले पुष २९ गते जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरमार्फत जाहरी दर्ता गरेको हो ।

सजिलमान शाक्यकी श्रीमती रजिना मानन्धर शाक्यले स्क्‍वायर होटलले स्विमिङ पुलको छेउमा रहेको बत्तिबाट विद्युत चुवाहट भएको जान्दाजान्दै पुल सञ्चालन गरेर लापरवाही गरेको भन्दै कार्वाहीको माग गर्दै सञ्चालक टि.डि.आर. स्क्‍वेर प्रा.लिका अध्यक्ष रोमी अर्याल र सदस्य ललिता भण्डारी देवकोटालगायत संलग्नहरूको पहिचान गरी कर्तव्य ज्यान उद्योगमा कारवाही गर्न किटानी जाहेरी दिएकी छन् । उनले मुलुकी अपराध संहिता, २०७४ को दफो १७८ को उपदफा (१) र (२) र दफा १७७ अनुसारको कसुर गरेको दाबी गर्दै जाहेरी दिएकी हुन् ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १७८ को उपदफा ९१० मा ‘कसैले कुनै काम गर्दा साधारणतया मानिसको ज्यान जान सक्छ भन्ने कुरा जानि जानी वा विश्वास गर्नु पर्ने मनासिव कारण हुँदा हुँदै त्यस्तो काम गर्न हुँदैन’ भन्ने व्यवस्था गरिएको छ भने सोको उपदफा (२) मा ‘उपदफा (१) बमोजिमको कारणबाट कसैको ज्यान मरेमा कसुरदारलाई जन्म कैदको सजाय हुन्छ’ भन्ने व्यवस्था छ । यस्तै मुलुकी अपराध संहिताकै दफा १७७ ले ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने व्यवस्था गरेको छ ।

‘शुल्क लिई सार्वजनिक रुपमा सेवा प्रदान गर्न राखीएको स्वीमीङ पुलमा विद्युतिय सुरक्षाको व्यवस्था नगरी त्यस्तो विद्युत लिकेज भैरहेको छ भन्ने कुराको जानकारी हुँदा हुँदै र त्यस्तो विद्युत प्रवाहबाट सेवाग्राहीको मृत्यु हुन सक्ने कुराको जानकारी हुँदा हुँदै र त्यसो हुन सक्ने विश्वासयोग्य कारण हुँदा हुँदै विपक्षीहरुले विद्युत प्रवाह र चुहावट भैरहेको अवस्थामा मेरा पतिलाई स्विमिङपुलमा पौडी खेल्न दिने कार्य मुलुकी अपराध संहिताको परिच्छेद ११ को दफा १७८ बमोजिम ज्यान मार्ने कार्य हुने स्पष्ट छ,’ जाहेरीमा उल्लेख छ, ‘तथापि हालसम्म निज कोमामा रहनुभएको हुनाले विपक्षीहरुको उक्त कसूर मुलुकी अपराध संहिता, २०७४ को दफा १८३ बमोजिमको ज्यान मार्ने उद्योगको कसुर भएको स्पष्ट छ ।’

घटना भएको क्षणको सीसीटीभी

रजिनाका अनुसार छोरीलाई लिएर उनीहरु भदौ १५ गते दिउँसो ३ बजे होटलमा स्विमिङका लागि पुगेका थिए । उनले दिएको जाहेरी अनुसार छोरीसँग स्विमिङ पुलमा गएको र पुलको छेउमा आएकी छोरीलाई समात्न खोज्दा सजिलको हातले पुलकै किनारमा राखिएको बत्तिमा छोइएपछि करेन्ट लागेको थियो । स्वीमीङ पुलमै रहेकै बेला करेन्ट लगेर अचेत भएपछि होटलकै कर्मचारीहरूले उद्धार गरी सजिललाई अस्पताल पु‍र्‍याएका थिए ।

श्रीमती शाक्यका अनुसार उनले दुई–चारपटक नै हात समाउन खोज्दा उनलाई पनि झट्का लागेको थियो । तर जब सजिल पूर्ण अचेत भएर पुलमा लडे तब भने डुब्न नदिन फेरि समाउँदाआफूलाई करेन्ट नलागेको र त्यति नै बेला होटेलको स्टाफसमेत आइपुगेर पुलबाट निकालेर अस्पताल लगिएको रजिनाले कान्तिपुरलाई बताइन् ।

‘पुलबाट निकालेपछि मैले सीपीआर दिन खोजें र स्टाफहरू आएपछि होटलकै गाडीमा अस्पताल लगिएको हो,’ उनले भनिन्, ‘पुलमा करेन्ट लागेको हो भन्नेमा कुनै दुईमत छैन । उहाँलाई राम्रो स्विमिङ आउँथ्यो र स्वास्थ्य अवस्था पनि राम्रो थियो ।’

पूर्णरुपमा अचेत अवस्थामा अस्पताल पु‍र्‍याइएका सजिलको हालसम्म पनि होस आएको छैन । घाइते शाक्यको शरीरको अन्य अंगको अवस्था सामान्य रहे पनि बेहोस भएर मस्तिष्कमा आवश्यक अक्सिजन नपुगेकोले त्यसमा गम्भीर आघात पुगेको छ । उनलाई केही महिना मेडिसिटी अस्पतालका साथै केही समय माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा पनि भर्ना गरेर उपचार गरिएको थियो । सजिलका भाइ विवेक शाक्यका अनुसार हाल उनलाई घरमा नै २४ घण्टा नै नर्सिङ केयर दिएर राखिएको छ ।

होटल अगाडि प्रदर्शन गर्दै परिवार तथा शुभचिन्तक

घटनापछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका फरेन्सिक विशेषज्ञ चिकित्सकहरूले उनको हातको नाडीमा देखिएको जलनको अध्ययन गर्दा सो घाउ विद्युतीय जलन नै रहेको पुष्टि भइसकेको छ । स्वीमिङपुलमा करेन्ट लागेकै कारण कोमामा पुगेपनि होटल सञ्चालकले भने विभिन्न बाहना गरेर सजिल आफ्नै स्वास्थ्य अवस्थाका कारण सो स्थितिमा पुगेको दाबी गर्दै उनको परिवारलाई प्रताडित गर्न केन्द्रित रहेको भाइ विवेकले दाबी गरे । ‘होटलले आफ्नो पहुँच र चिनजानको अनुचित प्रभाव प्रयोग गरेर हामीलाई अलमलाउनमात्रै खोजिरहेको छ,’ उनले भने, ‘सुरुमा प्रहरीले पनि जाहेरी लिएर अनुसन्धान गरेन । अहिले सरकारी वकिलमार्फत जाहेरी दर्ता भए पनि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छैन ।’

उनका अनुसार ललितपुरका एसएसपी शेखर खनालले सजिलको घर नै पुगेर उनको स्वास्थ्य अवस्थाबारेसमेत सोधखोज गरेपनि परिवारले दिएको जाहेरीको अनुसन्धान प्रक्रिया भने अगाडि बढाएको छैन । ‘अहिले प्रहरीले नै हामीसँग विभिन्न कागजपत्रहरू मागेर हैरानी दिने काम मात्रै गरेको छ,’ उनले भने, ‘यसअघिका एसएसपी सिद्धिविक्रम शाहले हामीलाई होटल सञ्चालकसँग वार्ता गरेर मिल्नलाई नै दबाब दिएका थिए । अब के हुन्छ थाहा छैन । हामी अन्योलमा छौं ।’

यस घटनाबारे होटल सञ्चालकसँग गरिएको सम्पर्क प्रयास भने सफल हुन सकेन ।

ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनाल घटना ४ महिना अगाडिको रहेको बताउँदै सरकारी वकिलको कार्यालय ललितपुरले दिएको निर्देशन बमोजिम जाहेरी दर्ता भएको बताए । होटल स्क्वायरका सञ्चालक विरुद्ध जाहेरी दर्ता भएको उनले बताए । ‘स्विामिङ पुलमा करेन्ट लागेर घाइेत भएपछि घटना भवितव्य की अन्य प्रकृतिको भन्ने नखुलेको कारण देखाउँदै त्यसबेला परिसरले जाहरी लिन नमानेको रहेछ,’ उनले भने, ‘किटानी जाहेरी दर्ता भएसँगै यो घटनाको अनुसन्धान अगाडी बढी सकेको छ । घटनामा कसैको संलग्नता देखिए कानुन अनुसार कारवाही गर्छौं ।’

प्रहरी स्रोतका अनुसार यस घटनाका बारेमा अनुसन्धान गर्न काठमाडौं उपत्यका कार्यालय रानीपोखरीले समिति बनाएको थियो । उक्त समितिको आन्तरिक प्रतिवेदन पनि गुपचुप नै राखिएको छ ।

प्रकाशित : माघ ३, २०८० २२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?