कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

माओवादीमा राष्ट्रिय सभा सदस्यका लागि दुई सयको नाम सिफारिस

पूर्वसभामुख एवम् पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, सचिवहरू लीलामणि पोखरेल, हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्यसहित शीर्ष नेताहरूको नाम सिफारिस भएर आएको छ ।
गंगा बीसी

काठमाडौँ — राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउन नेकपा (माओवादी केन्द्र)मा करिब दुई सय जनाको नाम सिफारिस भएको छ । माओवादी केन्द्रीय कार्यालयका अनुसार सात प्रदेशसहित मोर्चाबाट समेत गरी करिब दुई सय जनाको नाम सिफारिस भएर आएको हो ।

माओवादीमा राष्ट्रिय सभा सदस्यका लागि दुई सयको नाम सिफारिस

राष्ट्रिय सभामा रिक्त हुने २० सिटमध्ये १९ सिटमा निर्वाचन हुँदैछ । रिक्त हुने ती सिटमध्ये माओवादी केन्द्रका तीन सांसद छन् । सत्ता गठबन्धनमा कुन दलले कति सिट पाउने भनेर भागबण्डा भइसकेको छैन । भागबण्डा हुँदा माओवादीले पहिलेका तीनसहित बढीमा ६ सिट पाउने सम्भावना छ । तर प्रदेश कमिटीहरूबाट उम्मेदवार चयनका लागि करिब दुई सय जनाको नाम सिफारिस भएर आएको छ ।

‘चुनाव हारेका, समानुपातिक सूचीमा नाम भएका व्यक्तिहरू पनि सिफारिस भएका छन्, 'माओवादी कार्यालयका एक कर्मचारीले भने, ‘नाम सिफारिस नभएका नेताहरूले पनि मौखिक रुपमा हेडक्वाटरमा लबिङ गरिरहेका छन् ।’

कार्यालय स्रोतका अनुसार सिफारिस भएका पदाधिकारीहरूमा उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा, सचिवहरू लीलामणि पोखरेल, हितमान शाक्य, गणेश शाह, डिलाराम आचार्य र प्रवास समिति प्रमुख ओम शर्मालगायत छन् । उनीहरू आम निर्वाचनमा उम्मेद्वार भएका थिएनन् । गत साता केन्दीय पदाधिकारी बैठकले यसअघि अवसर नपाएकालाई प्राथमिकतामा राखेर सिफारिस गर्न निर्देशन दिएको थियो ।

गत आमनिर्वाचनमा चुनाव हारेका पदाधिकारीहरू उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय मात्रिकाप्रसाद यादव, गिरिराजमणि पोख्रेलले राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताइसकेका छन् ।

माओवादी केन्द्रीय कार्यालयका प्रमुख सचिव श्रीराम ढकालले नयाँ र अवसर नपाएका योग्य नेताहरूलाई अवसर दिने पार्टीको नीति भएको बताए । ‘धेरै जनाको सिफारिस भए पनि योग्य, यसअघि अवसर नपाएका नेतालाई क्लस्टर अनुसार राष्ट्रिय सभामा मौका दिने पार्टीको नीति छ,’ उनले भने ।

प्रकाशित : पुस १८, २०८० १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×