कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४९

चीनको आधुनिकीकरण र राजनीतिक प्रणालीबारे बुझ्दै नेपाली सांसदहरू  

लक्ष्मी लम्साल

बेइजिङ — चीनको दश दिने भ्रमणमा रहेको नेपाली सांसदहरूले टोलीले बेइजिङमा चिनियाँ आधुनिकीकरण, विकासको गति र राजनीतिक प्रणालीका विषयमा जानकारी लिइरहेको छ।

चीनको आधुनिकीकरण र राजनीतिक प्रणालीबारे बुझ्दै नेपाली सांसदहरू  

चिनियाँ राष्ट्रिय जनकांग्रेस (एनपीसी)को निमन्त्रणामा नेपाली विधायीकाहरूको टोलीले चीनले हासिल गरेको विकास उपलब्धी, चिनियाँ कम्युनिस्ट पार्टीको जनतासँग प्रत्यक्ष जोडिने तरिका लगायतका विषयमा जानकारी लिइरहेको हो।

नेपाली टोलीको नेतृत्व गरेका नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले चीनको कम्युनिस्ट पार्टीले कसरी जनताबाट रायसुझाव संकलन गर्दछ भन्नेबारेमा जानकारी गराइएको बताए। ग्रेट हल अफ द पिपुल्सका विभिन्न कक्षको अवलोकनकासाथ जनसरोकारसँग जोडिने एनपीसीको तौरतरिकाबारे प्रत्यक्ष जानकारी लिएको बताउँदै उनले नेपालमा जस्तै समानुपातिक, समावेशी प्रणाली चीनमा पनि रहेको पाएको बताए।

यसअघि बुधबार सेमिनार उद्घाटनमा बोल्दै पाण्डेले नेपाल र चीनका विधायिका संस्थाबीचको आउजाउले आपसी जनस्तरीय सम्बन्ध प्रगाढ बनेको चर्चा गरे । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा भएका सहमतिहरूको कार्यान्वयनमा उनले जोड दिएका थिए । उनले सी चिनफिङको नेतृत्वमा चीनले हासिल गरेको विकास उपलब्धीको प्रशंसा गर्दै नेपाल पनि त्यसबाट लाभान्वित हुन चाहेको सुनाए।

‘चीन-नेपाल विधायिका निकायबीचको आदानप्रदानको सुदृढीकरण तथा साझा विकासका लागि सहकार्य’ भन्ने भावार्थका साथ चीनको वाणिज्य मन्त्रालय, अन्तर्राष्ट्रिय बिजनेस अफिसियल्स ट्रेनिङ इन्स्टिच्युटले ‘नेपाली सांसदका लागि सेमिनार’आयोजना गरेको हो । इन्स्टिच्युटका अध्यक्ष सुन चोङ हकाअनुसार चीनले वर्षौँदेखि चीनले नेपालको स्वतन्त्र विकास क्षमताको सुधारमा समर्थन गर्दै आएको बताउँदै विकास अनुभव र प्रविधि वितरण गरेको छ।

सन् २०१० देखियता चीनले ७ हजार ७ सय भन्दा बढी अधिकारीहरू तथा विभिन्न क्षेत्रका प्राविधिक जनशक्तिलाई वैदेशिक सहायता परियोजना अन्तर्गत तालिम प्रदान गर्दैआएको उनको भनाइ थियो ।बिहीबारको सेमिनार कक्षामा सहभागी भएपछि कान्तिपुरसँग कुराकानी गर्दै धादिङबाट नेपाली कांग्रेसका सांसद रामनाथ अधिकारीले चीनको विकाससम्बन्धी धेरै कुरा बुझ्न पाइएको बताए। चीनको तीव्रतर विकासको अध्ययन गर्नका लागि नानचिङ र कुइयाङ सहर पनि पुग्ने योजना रहेको भन्दै उनले त्यहाँ पुगेर स्थानीय सर्वसाधारणसँगै अवलोकन भ्रमण गरेपछि थप खुलस्त हुने प्रतिक्रिया दिए । उद्घाटन समारोहमा एनपीसी स्थायी समितिका उपमहासचिव तथा राष्ट्रिय जन कांग्रेसको चीन–नेपाल मैत्री समूहका उपनेता ह सिनले अध्यक्षता गरेका थिए।

एनपीसी स्थायी समितिका उपाध्यक्ष लोसाङ च्याङछुन, चीनका लागि नेपाली राजदूत श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए।

कास्कीका एमाले सांसद दामोदर पौडेल बैरागीले मानव र पर्यावरणबीचको सन्तुलन कायम गर्दै मानवीय क्षमताले समृद्धि प्राप्त गर्न सकिने कुरा लेक्चरमा प्रस्तुत गरिएको बताए। चीनको वैज्ञानिक समाजवाद र आधुनिकीकरणको विकासक्रमबारे जानकारी लिनुका साथै बाह्य दुनियाँबाट हेर्दा एउटा देखिने चीनले भित्र चाहिँ जनताका आवाजलाई कसरी योजना बनाउँदै कार्यान्वयनमा लैजान्छ भन्ने कुराको जानकारी हासिल गरिएको सुनाए।

नेपाल चीन विधायिका संस्थाबीचको आदानप्रदानलाई बलियो बनाउँदै साझा विकासका लक्ष्य प्राप्तिका लागि सहकार्य गर्ने उद्देश्यले सुरू गरिएको यो सेमिनारमा नेपालका २० भन्दा बढी सांसदहरूले भाग लिएका छन् । चीन भ्रमणका क्रममा नेपाली सांसदहरूको टोलीले चिनियाँ जनताको पूर्ण प्रजातान्त्रिक प्रक्रिया अभ्यास र चिनियाँ शैलीको आधुनिकीकरणको जानकारी हासिल गर्ने योजना छ। शनिबारसम्म बेइजिङ भ्रमण गरेपछि यो टोलीले च्याङ्सु प्रान्त र क्वीचौ प्रान्तको भ्रमण गर्ने योजना रहेको चिनियाँ संचारमाध्यमहरूले जनाएका छन् ।

गत सोमबार काठमाडौंबाट बेइजिङ हिँडेको संसदीय टोलीमा नेपाली कांग्रेस र नेकपा एमालेका ५/५ जना, नेकपा माओवादी केन्द्रका ३ जना तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक–एक जना सांसद सहभागी रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । टोली पुस १४ गते नेपाल फर्किने कार्यक्रम छ। बिहीबार साँझ बेइजिङस्थित नेपाली दूतावासले सांसदहरूको स्वागतमा रात्रीभोजको आयोजना गरेको थियो।

प्रकाशित : पुस ५, २०८० १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?