'विपिनसँगै बन्धक बनेका थाई श्रमिक छुटिरहेका छन्, हामी त हेरेको हेर्‍यै मात्र भयौं’ 

हमासद्वारा १५ विदेशी र २६ इजरायली बन्धक रिहाई, बदलामा इजरायलले छोड्यो ७८ प्यालेस्टिनी  
आइतबार थप १३ इजरायली र ७ जना विदेशी बन्धक रिहा हुँदै  
हामी कतारी निकायसँग निरन्तर सवांदमा छौं । विपिन छुट्ने प्रक्रियामा रहेको विश्वासमा छु- कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल
म छिट्टै खुसीको खबर सुनाउन आतुर छु । यसको लागि उच्च तहमा काम गरिरहेकी छु- इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल
होम कार्की

काठमाडौँ — हमासले इजरायलसँग गरिएको सम्झौता बाहिर गएर १५ जना विदेशी नागरिकलाई रिहाई गरिसकेको छ । आइतबार पनि थप ७ जना विदेशी बन्धकलाई मुक्त गर्ने सुचना इजरायललाई दिएको छ ।

'विपिनसँगै बन्धक बनेका थाई श्रमिक छुटिरहेका छन्, हामी त हेरेको हेर्‍यै मात्र भयौं’ 

यो ७ जनाभित्र नेपाली विपिन जोशी परे/नपरेको सार्वजनिक गरिएको छैन । अहिलेसम्म २४ जना इजरायली नागरिकको पनि रिहा भइसकेको छ । इजरायलले पनि बदलामा ७८ प्यालेस्टिनी कैदीलाई रिहाई गरिसकेको छ ।

इजरायलको प्रधानमन्त्रीको प्रेस कार्यालयले रिहाई हुने विदेशी नागरिकको सूचीबारे खुलाएको छैन । ‘सम्झौता अनुसार आइतबार बन्धकहरु रिहा हुनेछन् । यो सूचीमा नेपाली नागरिक रहे नरहेको विवरण आइसकेको छैन’, प्रेस कार्यालयले कान्तिपुरसँग भन्यो ।

हमासले एकसय २२ जना विदेशी नागरिकलाई बन्धक बनाएर राखेको थियो । त्यसमध्ये १४ जना थाई र एकजना फिलिपिनो नागरिकलाई रिहाई गरिसकेको छ । हमासले पहिलो दिनमा नै १० जना थाई र एकजना फिलिपिनोलाई रिहाई गरिदिएको थियो । दोश्रो दिन पनि चार जना थाई नागरिकलाई रिहाई गरिदिएको थियो ।

‘दुईदिनदेखि थाई नागरिक मात्रै रिहाई भइरहेको छ । थाइल्याण्ड आफ्ना नागरिकलाई रिहाई गर्न सफल भइरहेको छ । विपिनको अत्तोपत्तो छैन’, इजरायलबाट उद्धार भई फर्केका विपिनका साथी नीतिन भण्डारीले भने,‘हामी त हेरेको हेर्‍यै भइरहेका छौं ।’

कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले विपिनको उद्धारको लागि कतारी निकायसँग निरन्तर पहल भइरहेको बताए । बन्धक रिहाई र युद्धविराम गर्न कतारले हमास र इजरायलबिच मध्यस्थता गरिरहेको छ । कतारी टोली रिहाई र युद्धविरामलाई अझ प्रभावकारी बनाउन शनिबार इजरायल पुगेका थिए ।

‘हामी कतारी निकायसँग निरन्तर सवांदमा छौं । कतारबाट सकारात्मक जवाफ पनि पाएका छौं’, राजदूत ढकालले कान्तिपुरसँग भने,‘विपिन छुट्ने प्रक्रियामा रहेको विश्वासमा छु ।’

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले आफुले इजरायल सरकारसँग निरन्तर पहलकदमी गरिरहेको वताइन् । ‘म छिट्टै खुसीको खबर सुनाउन आतुर छु । यसको लागि उच्च तहमा काम गरिरहेकी छु’, उनले कान्तिपुरसँग भनिन् ।

कतारी कूटनीतिक स्रोतका अनुसार बन्धक बनाएका विदेशीहरु गाजा क्षेत्रको अलग अलग स्थानमा राखिएको छ । अक्टोवर ७ मा जोशीलाई भने अल्फा अस्पतालमा पुर्‍याइएको भिडियो सार्वजनिक गरिएको थियो ।

इजरायल र हमासबिच सम्झौता भएको ५० जना बन्ककको सूचीमा विदेशी नागरिक थिएनन् । सम्झौतामा इजरायली बालबालिका, महिला र बृद्धबृद्धालाई प्राथमिकतामा राखिएको थियो ।

इरान र मलेसियाको सहयोगबाट १४ थाई नागरिक रिहा भएको थाई सरकारले जनाएको छ । हमासको बन्धकमा अझै १८ जना थाई नागरिक रहेको थाई सरकारको भनाई छ । थाइल्याण्डस्थित इरानी दूतावासले इस्लामिक गणतन्त्रका अधिकारीहरूको बेरुत भ्रमणको क्रममा इरानले हमासका अधिकारीहरूलाई बन्धक भएका थाई नागरिकको सूची उपलब्ध गराएको सामाजिक सञ्जालमा लेखेको छ । ‘हमास नेताहरूलाई इरान र थाइल्याण्डबीचको मैत्रीपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै थाई बन्धकहरूलाई रिहा गर्न आग्रह गरिएको थियो’, एक्समा इरानी दूतावासले लेखेको छ ।

रिहाई भएकामध्ये चार जना नागरिकको नामवाली हमासको बन्धकमा रहेको जानकारी थाई सरकारसँग थिएन । उनीहरु बेपत्ता भएका थिए । शुक्रबार रिहाई भएका थाई नागरिक भिटुन फुम मारिएको हुनसक्ने परिवारले आशंका गरेका थिए । शुक्रबार गाजा क्षेत्रबाट रिहाई भएको तस्बिर परिवारले पाएपछि जिउँदै रहेको खबर परिवारले पाएका थिए । 'उनले (भिटुन)ले मलाई नरुनु भन्नुभयो । आमालाई म फर्कंदैछु भनेर भन्नुभयो,’ भिटुनसँगको भिडियो कलमा पुनर्मिलन भएपछि कान्छा भाई रुंगारुन विचागरनले रोयटर्सलाई बताए,‘उनले आफूलाई खाना र पानी पाएको बताए । उनको तौल घटेको देखिएन ।’

३३ वर्षिय भिटुन पाँच वर्षदेखि इजरायलमा कृषि काम गर्दै आएका थिए । उनीहरुलाई ४८ घण्टा अस्पतालमा बसेर घर फर्किने थाइल्याण्डले जनाएको छ । 'परराष्ट्र मन्त्रालयको समन्वय र प्रयासमा इजरायलको शमिर मेडिकल सेन्टरमा उपचार भइरहेको १० थाई कामदारको रिहाइको पुष्टि भएको कुरा सुन्न पाउँदा म धेरै खुसी छु,' थाई प्रधानमन्त्री श्रेथा थाविसिनले शुक्रबार सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । आइतबारको अर्को पोस्टमा उनले रिहा भएका सबै नागरिकको स्वास्थ राम्रो रहेको र थप उपचार गर्न आवश्यक नरहेको जनाएकी छन् ।

किवुज अलुमिमबाट विपिन जोशीलाई पनि थाई कामदारसँगै बन्धक बनाएर लिएर गएको थियो । सुरक्षाको लागि थाईसँगै बंकरसँग बसेको बेला हमास लडाकु आएपछि थाई कामदारले हात उठाएर 'थाइल्याण्ड, थाइल्याण्ड' भन्दै कराएको थियो । त्यतिखेर केही थाई र विपिनलाई हमासले बाहिर निकालेर अन्धाधुन्दा गोली चलाएको थियो । त्यसरी गोली चलाउFदा अलुमिमभित्रको दुई बंकरमा १० जना नेपाली मारिएका थिए ।

प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित कम्तीमा एकसय २२ जना विदेशी नागरिक रहेको कान्तिपुरलाई बताएको थियो । थाइल्याण्डका ३२ जना नागरिक र जोशीलाई किवुजबाट बन्धक बनाएर लागिएको थियो । उनीहरु कृषि क्षेत्रमा काम गर्थे । हमासले अर्जेन्टिनाका २१, जर्मनीका १८, अमेरिकाका १०, फ्रान्स र रसियाका ७–७ जना नागरिकलाई बन्धक बनाएको छ । त्यस्तै हंगेरीका ४, पोल्याण्डका ३, पोर्चुगलका ३, चीनका २, फिलिपिन्स, रोमानिया, ताञ्जिनिया र बेलायतका २–२ जना, अष्ट्रिया, ब्राजिला, क्यानडा, डेनमार्क, आयरल्याण्ड, लुथिनिया, मेक्सिको, नेदरल्याण्ड, सर्विया, दक्षिण अफ्रिका, श्रीलंका, युक्रेन र उरुगुयअयनका एक–एक जना नागरिकलाई बन्धक बनाएर लगिएको छ ।

प्रकाशित : मंसिर १०, २०८० १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?