कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

जन्मिँदै कोही राजा बन्ने, जनताभन्दा ठूलो व्यक्ति र परिवार हुने स्वीकारिन्न : ओली

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र चिट्ठा परेर नभई लडेर ल्याएको भन्दै कुनै व्यक्ति र परिवार मुलुकका जनताभन्दा माथि हुने व्यवस्था स्वीकार्न नसकिने बताएका छन् । उनले नेपालमा अस्थिरता ल्याउने षड्यन्त्र भइरहेको पनि बताएका छन् ।

जन्मिँदै कोही राजा बन्ने, जनताभन्दा ठूलो व्यक्ति र परिवार हुने स्वीकारिन्न : ओली

नेपाल संवत ११४४ को अवसरमा एमाले काठमाडौंले शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सचेत जनताले पश्चगमनमा नजाने बताए ।

'हामी ढुंगे युगतिर फर्किन सकिँदैन । जन्मिँदै कोही राजा हुने, जनताभन्दा ठूलो व्यक्ति र परिवार हुने कुरा सचेत जनताले स्वीकार्न सक्दैन, नयाँ पिँढीले स्वीकार्न सक्दैन,' उनले भने, 'लोकतान्त्रिक गणतन्त्र चिट्ठा परेर ल्याएको होइन, लडेर ल्याएको हो । त्यसको रक्षाका लागि एमाले उभिन तयार छ ।'

जनताले लडेर ल्याएको राजनीतिक परिवर्तनका उपलब्धि रक्षा गर्नुपर्ने उनको भनाइ थियो । उनले नागरिकले नै सचेत भएर त्यसको रक्षाका लागि अगाडि बढ्नुपर्ने बताए । नेपालका विरुद्ध षड्यन्त्र भइरहेको पनि ओलीको भनाइ थियो ।

उनले जनतालाई विभिन्न बहानामा भड्काउन खोजिएको भन्दै सचेत हुन आग्रह गरेका छन् । कसले त्यसो गरिरहेको भन्ने स्पष्ट नभने पनि ओलीले जनता सचेत हुनुपर्ने आग्रह गरेका हुन् । 'हाम्रो देशका विरुद्ध षड्यन्त्र भइरहेको छ । हाम्रो देशलाई अस्थिरतामा फसाउने षड्यन्त्र भइरहेको छ । हाम्रा जनतालाई पहिचान, जात, धर्मका नाउँमा विभाजित गर्ने प्रयास भइरहेको छ । देशमा द्वन्द्व मच्चाउने प्रयास भइरहेको छ,' उनले थपे, 'केही समय अगाडि हिन्दु र मुस्लिमका बीचमा झगडा लगाउने कोसिस भयो । त्यो षड्यन्त्र पर्दाफास भयो । त्यो असफल भएपछि जनतालाई असामयिक, असान्दर्भिक कुरा निकालेर, जनतालाई अल्मल्याएर त्यस प्रकारका काम भइरहेका छन् ।'

ओलीले मुलुकमा नयाँ-नयाँ निहुँमा व्यक्तिहरू खडा गरेर अस्थिरता ल्याउने प्रयास भइरहेको बताए । 'हल्लाका पछाडि नकुदौं । अनेक बुख्याँचा अगाडि देखाइएको छ । बुख्याँचाहरूको कुरा होइन, यहाँ देश जोगाउने, बनाउने कुरा छ । देशलाई समृद्ध पार्नुछ । यसमा हामी नेपाली एकताबद्ध भएर अगाडि बढ्नुछ ।'

सरकारले राम्रो काम गर्न नसकेको पनि ओलीले बताए । उनले सरकारले राजनीतिलाई अराजक बनाएको पनि बताए । सरकारले नै अराजकता नियन्त्रण गर्नुपर्नेमा प्रोत्साहित गरिरहेको उनको भनाइ थियो । कुशासन सरकारको कारणले भएको बताउँदै ओलीले भने, 'कुशासन छ यसको अर्थ लोकतन्त्र, गणतन्त्र खराब भन्ने हुन सक्दैन । जसले गल्ती गरेको त्यो खराब होला ।'

प्रकाशित : मंसिर ९, २०८० १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?