कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६७

जाजरकोट भूकम्पको 'डाइरेक्सनल इफेक्ट' दक्षिण पूर्वी दिशामा

भूकम्पको केन्द्रबिन्दुभन्दा जुन दिशामा बढी क्षति पुगेको छ, त्यो भूकम्पको डाइरेक्सन इफेक्टले गर्दा भएको प्रारम्भिक अध्ययनले देखाएको छ
मणि दाहाल

काठमाडौँ — जाजरकोट भूकम्पको ‘डाइरेक्सनल इफेक्ट’ दक्षिण पूर्वी दिशामा देखिएको छ । त्यस क्षेत्रमा पुगेको वैज्ञानिकको टोलीले क्षतिको अवस्थाको अध्ययन गरेर ‘डाइरेक्सनल इफेक्ट’ दक्षिण–पूर्वमा देखिएको निष्कर्ष निकालेका हुन् । 

जाजरकोट भूकम्पको 'डाइरेक्सनल इफेक्ट' दक्षिण पूर्वी दिशामा

भूकम्पको केन्द्रबिन्दुबाट तरंग जुन दिशामा प्रवाहित हुन्छ, त्यस क्षेत्रमा बढी क्षति गर्ने गरेको छ । भौगोलिक अवस्थिति, भौगर्भिक अवस्था र भूकम्प प्रतिरोधी संरचनाको निर्माणजस्ता विषय क्षतिको अवस्थामा तलमाथि हुने भए पनि त्यसमा महत्त्वपूर्ण भूमिका ‘डाइरेक्सनल इफेक्ट’ नै क्षतिको कारण देखिन्छ । ‘क्षति बढी हुनमा विभिन्न कारण हुन्छन् । भौगोलिक, भौगर्भिक अवस्था र भूकम्प प्रतिरोधी निर्माण विषयले पनि भूकम्पको क्षति बढी र कम हुने हुन्छ’ भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराई भने, ‘अर्को भनेको डाइरेक्सनल इफेक्ट पनि हो । भूकम्पको केन्द्रबिन्दुभन्दा जुन दिशामा बढी क्षति पुगेको छ, त्यो भूकम्पको डाइरेक्सन इफेक्टले गर्दा भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।’

खानी तथा भूर्गभ विभागको भूकम्प मापन तथा अनुसन्धान केन्द्र र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का फरक–फरक टोलीले भूकम्प केन्द्रबिन्दु आसपासको क्षेत्रको स्थलगत अध्ययन गरेका छन् । भूकम्पको अध्ययन गरी फर्किएको वैज्ञानिक टोलीले केन्द्रबिन्दुभन्दा दक्षिण पूर्वी दिशामा ५० किलोमिटर परसम्म बढी क्षति भन्दै त्यसको डाइरेक्सन इफेक्ट दक्षिण पूर्वतर्फ भएको बताएका छन् ।

‘उत्तर पश्चिम क्षेत्रमा घरहरू क्षति पुगेको छ तर मानवीय क्षति भएको छैन । केन्द्रबिन्दुबाट दक्षिण पूर्वी क्षेत्रमा लाग्दा भने त्यसमा पूर्ण रूपमा क्षति भएको देख्छौं । त्यसको कारण के हो भन्ने विषयमा वैज्ञानिक रूपले हामी हेर्छौं । भूकम्पको रप्चर (भँगालो) कुन दिशामा थियो, रप्चर कहाँसम्म पुगेर ठोकिएको थियो र यहाँबाट तथ्यहरूको अध्ययन गरेपछि विस्तृत रूपमा भन्न सक्छौं । तीव्रता नक्साबाटै रप्चर दक्षिण पूर्वी दिशामा थियो भन्न सकिन्छ । त्यसलाई क्षतिको आधारमा गर्ने गरिन्छ ।’

उनले भूकम्पको केन्द्रबिन्दु रहेको स्थानको भौगोलिक अवस्थिति र घरसहितको संरचना निर्माण उस्तै भए पनि क्षति दक्षिण पूर्वी दिशामा बढी भएकाले ‘डाइरेक्सनल इफेक्ट’ त्यसको कारण भएको बताए । सुवेदीसहितको टोली शनिबार काठमाडौं फर्किएको छ । ‘आगामी एक सातामा अध्ययनको थप विवरणहरू सार्वजनिक गर्ने छौं,’ सुवेदीले भने । भूकम्पले जाजरकोटको भेरी नगरपालिकामा ३८, नलगाड ५५, कुशे नगरपालिकामा ७, बारेकोट गाउँपालिमा ४ जनाको मृत्यु भएको छ । रुकुमको आठबिसकोट ४२, सानीभेरी १० र चौरजहारीमा १ गरी ५३ जनाको मृत्यु भएको छ ।

भेरीमा क्षति पुगेको १ हजार ३२ घरमध्ये ३ सय ४४ पूर्ण रूपमा क्षति भएको छ, नगलाडको ८ सयमध्ये २०० घर पूर्ण रूपमा क्षति भएको छ, छेडागाडमा क्षति पुगेका ६ सय घरमध्ये १०० मा पूर्ण रूपमा क्षति भएको छ, कुशेमा क्षति भएको ३ सय ९६ घर मध्ये ९५ वटामा पूर्ण क्षति भएको छ । शिवालय ३८ घरमध्ये एउटा पूर्ण रूपमा क्षति भएको छ । जुनिचाँदे गाउँपालिकामा ४० घरमध्ये ५ वटामा पूर्ण रूपमा क्षति पुगेको छ । जाजरकोट र रुकुमका भूकम्प प्रभावित पालिकाहरूको ९० देखि ९७ प्रतिशत घरहरू ढुंगा माटोबाट निर्माण भएको २०७८ को जनगणनाले देखाउँछ ।

भूकम्पको केन्द्रबिन्दु रामीडाँडा बारेकोटको पूर्वी भाग रहेको छ । केन्द्रबिन्दुको दक्षिणमा रहेको कुशेमा पनि भूकम्पले धेरै क्षति पुर्‍याएको छैन । केन्द्रबिन्दुभन्दा पश्चिम दक्षिणमा रहेका शिवालय र जुनिचाँदे गाउँपालिका पनि क्षति देखिँदैन । भूकम्पको केन्द्रबिन्दुबाट भेरी नगरपालिकामा दक्षिण पूर्व र नलगाड पूर्वमा पर्छ । ‘बारपाक भूकम्पपछि गोर्खासँग जोडिएको लमजुङमा तुलनात्मक रूपमा कम क्षति भएको थियो । त्यसको केन्द्रबिन्दुबाट पूर्वतर्फ रप्चर निर्माण भएको थियो,’ सुवेदीले भने । ९ हजारको ज्यान लिएको २०७२ सालको गोर्खा भूकम्पको केन्द्रबिन्दुभन्दा पूर्वतर्फ धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, दोलखामा मानवीय र भौतिक क्षति बढी गरेको थियो ।

भूकम्पको केन्द्रबिन्दु नजिकै अस्थायी भूकम्प मापन केन्द्र स्थापना गरिएको छ । ‘सानो भेरी र ठूलो भेरीको बलौटो माटो भएको क्षेत्रमा भूकम्पको तीव्रता अति नै बढेको छ । त्यसले त्यस क्षेत्रमा क्षति बढी भएको छ,’ भट्टराईले भने । भूकम्प गएको स्थानबाट मानप केन्द्र निकै दूरीमा रहेको कारण भूकम्पको विषयमा बृहत् अध्ययनका लागि भूकम्पको केन्द्रबिन्दु नजिकै अस्थायी मापन केन्द्र निर्माण गरिएको छ ।

‘जति धेरै भूकम्पको रेकर्ड गर्न सकिन्छ त्यसको विषयमा त्यति धेरै जानकारी गराउन सकिन्छ । भूकम्प भएको एक दुई दिनमा जति परकम्प जान्छ त्यति अहिले हुँदैन तर कहिले गएर अन्त्य हुन्छ भन्ने पनि थाहा हुँदैन,’ सुवेदीले भने, ‘जाजरकोटमा जुन स्तरको भूकम्प गयो, त्यसको केही साता वा हप्तासम्म परकम्प हुन्छ सक्छ । एक सातामा हेर्‍यो भने यो रेटमा घट्यो सामान्य अवस्थामा आइपुग्नका लागि यति समय लाग्ला ।’

भूकम्प मापन केन्द्रले कात्तिक १७ गते यता भएको निरन्तर परकम्प भए पनि त्यसको दरमा कमी भएको जनाएको छ । हालसम्म सो क्षेत्रमा ४ म्याग्निच्युडभन्दा ठूलो १० वटासहित करिब ५ सय परकम्प गइसकेका छन् । भूकम्प अध्ययनका लागि नास्ट र भूकम्प अनुसन्धान केन्द्रले रुकुम र जाजरकोटको दुई–दुई ठाउँमा भूकम्प मापन प्रविधि संयन्त्र (सिस्मोमिटर) जडान गरेको छ । नास्टले बारेकोट रामीडाँडा केन्द्रबिन्दु सीमा जोडिएको कुशे गाउँपालिका, रुकुम पश्चिमको खलंगा र गौतमकोट र भूकम्प मापन केन्द्रले बारेकोटमा २ भूकम्प मापन यन्त्र जडान गरिएको नास्ट र भूकम्प अनुसन्धान केन्द्रले जनाएका छन् ।

भट्टराईले अहिले फल्टको लम्बाइ पनि निकालिसकेको बताए । ‘हामीले अहिलेसम्म रप्चर क्षेत्र कति हो भन्ने विषयलाई निर्धारण गरेका छैनौं । इरेक्सन इफेक्ट यति किलोमिटरसम्म पर्‍यो भन्ने विषयमा अझै बाँकी छ,’ भट्टराईले भने ।


प्रकाशित : कार्तिक २६, २०८० ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?