कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

जाजरकोट भूकम्पले बजाएको 'अलार्म’

इन्डियन प्लेट र युरो एसिया प्लेटको घर्षणका कारण हिमाली क्षेत्र सधैं भूकम्पको उच्च जोखिममा
मणि दाहाल

काठमाडौँ — गत शुक्रबार मध्यरातमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले पश्चिम नेपालको भूगर्भमा निरन्तर हलचल रहेको देखाएको छ । ५ सय वर्षदेखि यस क्षेत्रमा ठूलो भूकम्प गएको थिएन । पछिल्ला दुई वर्षमा मुलुकमा ४ म्याग्निच्युडभन्दा ठूला ७ सहित ३ सय ३९ वटा परकम्प गएको रेकर्ड गरिएको छ ।

जाजरकोट भूकम्पले बजाएको 'अलार्म’

यीमध्ये झन्डै दुई तिहाइको केन्द्रबिन्दु गोरखा पश्चिमका जिल्लाहरू रहेका छन् । पछिल्लो ५ सय वर्षमा यस क्षेत्रमा महाभूकम्प गएको इतिहास नभएको र गर्भमा थुप्रिएको शक्ति कुनै पनि समय विस्फोट हुन सक्ने वैज्ञानिकहरू बताउँछन् । सरकारी अभिलेखअनुसार २०३७ साउन १४ गते राति बझाङमा ६.६ म्याग्निच्युडको भूकम्प गएको देखाउँछ । त्यसबेला एक सयभन्दा बढीको मृत्यु भएको थियो ।

‘पहिलेदेखि नै बझाङ आसपासलाई केन्द्रबिन्दु बनाएर ४–५ म्याग्निच्युडका भूकम्प मकै भुटेजस्तो देखिन्छ,’ भूगर्भविद् एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ विशालनाथ उप्रेतीले भने, ‘नेपालमा भूकम्प मापन गर्न थालेदेखि नै हेर्दा बझाङ आसपासमा यस किसिमका गतिविधि देखेका थियौं ।’

२०३५ सालमा फ्रान्सेली सरकारको सहयोगमा पहिलो पटक भूकम्प मापन यन्त्र नेपाल ल्याइएको थियो । अहिले ४० ठाउँमा त्यस्तो मापन गरिन्छ । ‘पूर्वी नेपालमा पटक–पटक ठूला भूकम्प गए पनि पश्चिमतर्फ ५ सय १८ वर्षयता ठूलो भूकम्प गएको देखिँदैन,’ उप्रेतीले भने, ‘यस क्षेत्रमा जहिले पनि ठूलो भूकम्प जाने सम्भावना छ । साना र मझौला भूकम्पले त्यो जोखिमलाई न्यून गर्न सक्दैन ।’ सन् १५०५ मा महाभूकम्प गएको र त्यसले दिल्ली मात्रै नभएर ल्हासामा पनि क्षति गरेको उप्रेती बताउँछन् । ‘सो भूकम्पले दिल्लीको कुतुबमिनार भत्काउनेदेखि ल्हासासम्म क्षति पुर्‍याएको थियो,’ उप्रेतीले भने, ‘नेपालमा पनि नोक्सान गरेको थियो । कार्बन डेटिङ हेर्दा त्यस समयमा भूकम्प गएको देखिन्छ ।’ उनका अनुसार त्यतिबेला ८.४ देखि ८.८ म्याग्निच्युडको भूकम्प गएको अनुमान गरिएको थियो । पश्चिम नेपालमा भेटिएको चिरा खनेर हेर्दा स्ल्याब १८–२० मिटर यताउति सरेको देखिएको उनले सुनाए । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ सालमा गएको ७.६ म्याग्निच्युडको भूकम्पले गोरखादेखि दोलखासम्मको करिब १ सय ५० किलोमिटर स्ल्याबलाई ३ मिटर दक्षिण र एक मिटर उत्तरतर्फ सारेको थियो ।

जाजरकोटको भूकम्पपछि त्यसकै आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडभन्दा ठूला ७ सहित ३ सय ४५ परकम्प गइसकेका छन् ।

ठूलो भूकम्पपछि निरन्तर रूपमा स–साना परकम्प गइरहे पनि पछिल्लो समयमा पश्चिम नेपालमा केही समयको अन्तरालमा उस्तै क्षमताका भूकम्पहरू गएका छन् । ‘नेपाल र अन्तर्राष्ट्रिय अध्ययनहरूले पनि यो क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको देखाएको छ । गोरखाबाट पश्चिम र भारतको देहरादुनबाट पूर्वमा लामो समयदेखि ठूलो भूकम्प गएको छैन,’ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले भने, ‘पछिल्लो समयमा पश्चिम नेपालमा केन्द्रबिन्दु बनाएर साना भूकम्प गइरहेका छन् । यसले हामीलाई यस क्षेत्रमा ठूलो भूकम्पको जोखिम छ भनेर सचेत गराइरहेको छ ।’

इन्डियन प्लेट र युरो एसिया प्लेटको घर्षणका कारण हिमाली क्षेत्र सधैं भूकम्पको उच्च जोखिममा छ । इन्डियन प्लेटमा प्रतिवर्ष ५ सेन्टिमिटर युरोएसिया प्लेटभित्र प्रवेश गर्छ । त्यसले अग्ला हिमाल बनाउन मात्रै नभएर तिब्बती पठार विस्तारमा पनि भूमिका खेलेको वैज्ञानिकहरू बताउँछन् । तिब्बती पठारको विस्तार र हिमालको उचाइमा ३ सेन्टिमिटर देखिए पनि बाँकी रहेको २ सेन्टिमिटर पृथ्वीभित्र इनर्जी सञ्चित भएर बस्ने गरेको वैज्ञानिहरू बताउँछन् । यही इनर्जी बेलाबेलामा भूकम्पका रूपमा बाहिरिने गरेको हो । ‘स–साना भूकम्प जाँदैमा ठूलो भूकम्पको जोखिम कम हुने भने होइन,’ भूगर्भशास्त्री उप्रेतीले भने, ‘पश्चिम नेपालमा ठूलो भूकम्प जाने सम्भावना अहिले पनि ज्यूँकात्यूँ छ ।’ जस्तो कि, ६ म्याग्निच्युडको भूकम्पले जति इनर्जी रिलिज गर्छ, त्यति नै इनर्जी रिलिज गर्न ५ म्याग्निच्युडका ३२ वटा र ७ म्याग्निच्युड बराबरको इनर्जी रिलिज गर्न ५ म्याग्निच्युडका एक हजार वटा भूकम्प जानुपर्छ ।

२०७८ वैशाखयता मात्र नेपालका विभिन्न जिल्लालाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडभन्दा माथिका १ सय ३६ भूकम्प गएका छन् । तीमध्ये ८६ भूकम्पको केन्द्रबिन्दु गोरखा पश्चिमका जिल्ला रहेका छन् । त्यसमध्ये सबैभन्दा बढी बझाङमा २५, बाजुरामा १५, लमजुङमा ९, जाजरकोटमा ६, दार्चुलामा ५, बाग्लुङमा ४, डोटीमा ३, अछाम, बैतडी, दैलेख र हुम्लामा २–२, डोल्पा, जुम्ला, रुकुम पूर्व, रुकुम पश्चिम, मुगु, कास्की केन्द्रबिन्दु भएर १–१ वटा भूकम्प गएका छन् । बझाङ, बाजुरा, डोटी र जाजकोटलाई केन्द्रबिन्दु बनाएर ५.५ म्याग्निच्युडभन्दा ठूला ६ वटा भूकम्प पनि यसैबीचमा गएका छन् । पछिल्लो ११ महिनामा पश्चिम नेपालमा ४ म्याग्निच्युडभन्दा माथिका ७० वटा भूकम्प गए, जसमा ५१ वटा गोरखा पश्चिमका जिल्लामा केन्द्रबिन्दु रहेका थिए ।

जाजरकोट भूकम्पलाई वैज्ञानिकहरूले मध्यमस्तरको भने पनि त्यसको धक्का काठमाडौंदेखि भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो । ‘पश्चिम नेपालमा अहिले जसरी भूकम्प गइरहेको छ, त्यसले त्यहाँको जमिनमा हलचल छ भन्ने देखिन्छ,’ नास्टका भूकम्पविद् शिव सुवेदीले भने, ‘पछिल्लो समयमा पश्चिम नेपालको डोटी, बझाङ र जाजरकोटमा मध्यमस्तरका भूकम्प गएका छन् । तर, तिनीहरू एकअर्कोसँग सम्बन्धित छैनन् ।’

पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा रहेको भनिए पनि त्यसबारे पर्याप्त अनुसन्धान हुन भने अझै बाँकी रहेको त्रिभुवन विश्वविद्यालयको भूगर्भ विभागका सहप्राध्यापक सुवेश ढकालले बताए । ‘पश्चिम नेपालमा ‘अर्थक्वेक स्वार्म’ जस्तो देखिएको छ । जसका कारण चाँडोचाँडो उस्तैउस्तै शक्तिका भूकम्प जाने गर्छन्,’ उनले भने, ‘हामीले भन्ने गरेको त्यसको प्रवृत्तिलाई हेरेर हो तर यस विषयमा बृहत् अनुसन्धान हुन बाँकी नै छ ।’ भूकम्पको जोखिमका बेला त्यसबाट आत्तिनेभन्दा पनि आवश्यक पूर्वतयारी गर्नुपर्ने उनले बताए । ‘संघ, प्रदेश र स्थानीय सरकार र आमजनता भने यस विषयमा सचेत हुन आवश्यक छ,’ उनले भने, ‘भूकम्पलाई रोक्न सकिने होइन । तर, त्यसबाट हुने क्षतिलाई कम गर्न भने सचेत गराउन सकिन्छ ।’

केही समयदेखि पश्चिम नेपालका विभिन्न जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गए पनि जाजरकोटको भूकम्पमा जस्तो जनधनको क्षति गरेको थिएन । गत असोज १७ गते बझाङलाई केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युड र गत वर्षको कात्तिक २२ गते डोटीलाई केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपाल सरकारको विपद् जोखिम न्यूनीकरणको पोर्टलमा राखिएको जानकारीअनुसार डोटीमा ६ जना, बझाङ र बाजुरामा एक–एक जनाको मृत्यु भएको थियो ।

केन्द्रबिन्दुबाट बस्ती कति टाढा छ ? भौगोलिक र भौगर्भिक अवस्था कस्तो छ र भूकम्पले कत्तिको परकम्प आइरहेका छन् भन्ने विषयले भूकम्पमा हुने क्षति बढी र घटी हुने गरेका छन् । ‘पछिल्लो समयमा त्यस क्षेत्रमा साना तथा मध्यमस्तरका भूकम्पहरू जाने गरेका छन् । त्यसैले तिनको कम्पन आइरहेको हो,’ भूकम्पविद् भट्टराईले भने, ‘यस क्षेत्रमा बनेका धेरै घर कच्ची छन् । माटो र ढुंगा जोडेर बनेका र ढुंगाले नै छाएका घर बढी जोखिमपूर्ण देखिएका हुन् ।’ समथर नभई भिरालो जमिन रहेका कारण पनि क्षति बढी भएको उनले बताए ।

प्रकाशित : कार्तिक २०, २०८० ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?