सरकारले जे गर्नुपर्थ्यो, त्यो गम्भीररूपले पूरा गर्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले विपद्का लागि सरकारले गर्नुपर्ने दायित्व गम्भीर भएर पूरा गरिरहेको बताएका छन् । भूकम्प प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि काठमाडौं फर्किनेक्रममा प्रधानमन्त्री दाहालले अझै पनि जोखिम नटरेको र पूर्वसतर्कतासहित जोखिम न्यूनीकरणका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।

सरकारले जे गर्नुपर्थ्यो, त्यो गम्भीररूपले पूरा गर्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री दाहाल

‘मैले बझाङ भूकम्पको पनि स्थलगत अवलोकन गरेको छु । यहाँ पनि मुख्य प्रभावित क्षेत्रसहित जाजरकोट र रूकुम पश्चिमको अवलोकन गरेँ,’ प्रधानमन्त्री दाहालले भने, ‘ठूलो मानवीय क्षति भएको छ । हजारौँ घरहरू क्षति भएको मैले प्रत्यक्ष अवलोकन गरेर आएको छु । आजको दिनमा सरकारले जे गर्नुपर्थ्यो, त्यो गरिएको छ । सरकार यो विषयमा गम्भीर छ ।’

प्रधानमन्त्री दाहालले शनिबार उद्धार र उपचारको काम भइरहेको भन्दै आइतबार मन्त्रिपरिषद्को बैठक बस्ने र राहत तथा पुनर्स्थापनाको काम अघि बढाउने बताए ।

‘आज दिनभर घाइतेहरूको उद्धार भएको छ । मैले आफैँ पनि घाइतेहरूलाई लिएर उद्धार गरेको छु । अहिले चिकित्सक र औषधोपचारको प्रबन्ध पनि भएको छ,’ उनले भने, ‘तीन वटा हेलिकप्टरले दिनभर उद्धारको काम गरेका छन् ।’

उनले जाजरकोट भूकम्पबाट पीडितहरूको राहतका लागि देशभरि र विदेशबाट समेत सहानूभुति र स्वस्फूर्तरुपमा राहतका लागि समेत वचनबद्धता आइरहेकोप्रति खुसी प्रकट गर्दै संकटको घडीमा सरकारलाई सबैको साथ आवश्यक हुने बताए ।


प्रकाशित : कार्तिक १८, २०८० १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?