कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७७

९ केजी सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासँग सीआईबीले गर्‍यो सोधपुछ

कान्तिपुर संवाददाता

काठमाडौँ — विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको तस्करीको ९ केजी सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख तथा सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ ।

९ केजी सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासँग सीआईबीले गर्‍यो सोधपुछ

सीआईबीले महाराजगञ्जस्थित कार्यालयमा बोलाएर महरासँग भेप प्रकरणमा केरकार गरेको हो । २०७९ पुस १० मा दुबईबाट चिनियाँ गिरोहले भेपमा लुकाएर ९ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याएको थियो ।

महराको परिवारसँग निकट चिनियाँ तस्करीका नाइके दावाजिन वाङको योजनामा भित्र्याइएको सुन लुकाइएको भेप विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो । त्यसपछि सामान छुटाउन महरा र उनका छोरा राहुलसहितको समूहले भन्सार प्रशासनलाई पटक–पटक दबाब दिएको थियो । भेप भन्सारकै नियन्त्रणमा रहेका बेला कर्मचारी र भन्सार एजेन्टसहितको योजनामा गोदामबाटै चोरी भयो ।

त्यसपछि भन्सार कार्यालयले थप अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएकोमा पहिलो चरणमा सुन चोरीमा मात्रै मुद्दा गएको थियो । चोरीको अनुसन्धानका क्रममा महरा र उनका छोरा राहुलसहितका व्यक्ति चोरी हुनुअगावै सुन छुटाउन भन्सारलाई दबाब दिनेदेखि सुन ल्याउने तस्करसँग पटक–पटक सम्पर्कमा रहेको खुलेको थियो । त्यसको अहिले सीआईबीमा अनुसन्धान जारी छ । अनुसन्धानका क्रममा राहुल पक्राउ परिसकेका छन् भने चिनियाँ तस्करसँग निकट रहेको खुलेपछि महरा पनि अनुसन्धानमा तानिएका हुन् । तर, सीआईबीले उनलाई भने पक्राउ नगरी बयान कागज मात्रै गराइएको हो ।

सीआईबीका एक अधिकारीले चिनियाँ तस्करसँग फोन सम्पर्क गरेको देखिएपछि सोधपुछका लागि महरालाई बोलाइएको बताए । ‘भेप प्रकरणको अनुसन्धानका क्रममा सोमबार महरासँग बयान कागज गराएको हो,’ ती अधिकारीले भने, ‘सुन ल्याउने चिनियाँ फरार छन्,राहुलसँगको अनुसन्धान जारी नै छ ।

अनुसन्धानकै क्रममा महरासँग पनि सोधपुछ गरिएको हो ।’ भेप प्रकरणका नाइके दावाजिन फरार छन् भने सुन बोकेर आउने ली भन्ने चिनियाँ तस्कर पनि फरार छन् । ६१ केजी सुन प्रकरणमा पनि दावाजिनको संलग्नता खुलेको थियो । ६१ केजी प्रकरण र त्यसको अनुसन्धानका आधारमा साढे ३ अर्ब रुपैयाँ बिगो कायम गरेर दायर गरिएको मुद्दामा पनि दावा फरार छन् । ६१ केजी प्रकरणमा माओवादीका केही शीर्ष नेतासँग निकट रहेका दावा छिरिङसहितका ९ विदेशीसहितलाई प्रतिवादी बनाएर यसअघि संगठित अपराधसहितका ७ वटा कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भइसकेको छ ।

भेप प्रकरणको अनुसन्धान पनि अन्तिम चरणमा पुगेका बेला पूर्वसभामुख महरासँग सीआईबीले कागज गराएको हो । महराले सीआईबीसमक्ष आफ्नो दावाजिनसँग चिनजान भएको र रोकिएका सामान मिलेसम्म छुटाउन अनुरोध गरेको स्वीकार गरेका छन् ।

भेपमा सुन ल्याएको विषय आफूलाई थाहा नभएको र विधिवत आएको सामान रोकियो भनेपछि त्यसलाई छुटाउन मात्रै पहल गरेको उनले जिकिर गरेका छन् । तर, दावाजिनसहितका तस्करको योजनामा भेपमा ९ केजी सुन भित्रिएको थियो । भेपको सुन छुटाउने क्रममा महरा र उनका छोरा राहुलले चिनियाँ तस्करसँग मात्रै २ सय ५६ पटक टेलिफोन सम्पर्क गरेको अनुसन्धानबाट खुलिसकेको छ ।

प्रकाशित : आश्विन १६, २०८० १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?