'आन्तरिक उडान सुरक्षा सुधारतर्फ'

नेपाली वायुसेवाको उडान सुरक्षा कार्यान्वयन परिपालना दर ६९ र हेलिकोप्टरको ५९ प्रतिशत पुग्यो
सुरज कुँवर

काठमाडौँ — आन्तरिकतर्फ वार्षिक ३ लाख हाराहारी उडान हुने नेपालमा वायुसेवाहरुको उडान सुरक्षा व्यवस्थापन प्रणाली (एसएमएस) कार्यान्वयनस्तरमा उल्लेख्य सुधार भएको देखिएको छ ।

'आन्तरिक उडान सुरक्षा सुधारतर्फ'

अन्तर्राष्ट्रिय समुदायले चासोपूर्वक हेर्ने ‘एभिएसन सेफ्टी रिपोर्ट-२०२३’ (वार्षिक उडान सुरक्षा प्रतिवेदन) ले नेपाली हेलिकोप्टर तथा फिक्स्ड विङ (वायुसेवा) हरुले उडान सुरक्षा व्यवस्थापन प्रणाली कार्यान्वयनमा उल्लेख्य सुधार भएको देखाएको छ । सन् २०१८–०१९ मा करिब ३३.९६ प्रतिशत हाराहारी रहेको उडान सुरक्षा व्यवस्थापन प्रणाली (एसएमएस) कार्यान्वयन दर सन् २०२२ मा ६८.९४ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘नेपाली हेलिकोप्टर तथा जहाजहरुले उडान सुरक्षा पालनामा राम्रो अंक प्राप्त गरेका छन्,’ प्राधिकरणका सेफ्टी म्यानेजमेन्ट इन्स्पेक्टर प्रज्वल ढुंगानाले भने,‘हामीले नेपालका १२ हेलिकोप्टर, नौवटा आन्तरिक र ५ वटा अन्तर्राष्ट्रिय उडानमा संलग्न वायुसेवा कम्पनीमा ४७ वटा मापकको जाँच गर्दा सन् २०२२ मा उडान सुरक्षा व्यवस्थापन प्रणाली (एसएमएस) कार्यान्वयन दरमा उल्लेख सुधार भएको देखिएको छ ।’

अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) लगायतका निकायले झै नेपालले सन् २०१६ यता हरेक अंग्रेजी वर्षमा १० वर्षको हवाई सुरक्षा अवस्थाबारे विस्तृत जाँच गर्छ । यसैका आधारमा एभिएसन सेफ्टी रिपोर्ट सार्वजनिक गर्छ । यसैगरी हेलिकोप्टरतर्फ पनि उडान सुरक्षा व्यवस्थापन प्रणाली (एसएमएस) कार्यान्वयन दर १२ प्रतिशतबाट बढेर ५९ प्रतिशतमा पुगेको छ ।

सन् २०१३ देखि २०२२ सम्म नेपालमा २४ वटा हवाई दुर्घटना भएका थिए । यिनमा सिंगल इन्जिन जहाज ३, मल्टी इन्जिन जहाज ९ र हेलिकोप्टरका १२ गरी २४ वटा दुर्घटना भएका थिए । यीमध्ये मानवीय क्षति भएका दुर्घटना १४ वटा थिए ।

प्रतिवेदनले यी २४ दुर्घटनामध्ये ४२ प्रतिशत दुर्घटना पाइलटको नियन्त्रणमा रहेका जहाज बादलमा पस्दा भएको देखाएको छ भने ३३ प्रतिशत दुर्घटना धावनमार्गमा चिप्लिएर भएको देखिन्छ । त्यस्तै चालकदलले उडान नियन्त्रण गर्न नसक्दा १३ प्रतिशत र धावनमार्गमा अवतरण हुनुपर्ने विन्दुभन्दा अघि वा पछि (अन्डरसुट–ओभरसुट) का कारण ८ प्रतिशत हवाई दुर्घटना भएका थिए ।

त्यस्तै जहाज उड्दा, इनरुटमा र अवतरणका क्रममा भएका दुर्घटनाको विश्लेषण गर्दा नेपालमा इनरुटमा ५०, अवतरणका क्रममा २५, टेकअफमा १७ र अवतरण गर्ने तर्खर (एप्रोच) मा ८ प्रतिशत दुर्घटना भएको प्रतिवेदनमा देखिएको छ ।

सन् २०१३ देखि २०२२ सम्म १९ भन्दा बढी सिट भएका जहाज दुर्घटनमा परेको देखिएको छैन भने १९ सिटसम्मका जहाज दुर्घटना ९ वटा भएका छन् भने सिंगल इन्जिनयुक्त जहाज दुर्घटना ३ वटा भएका छन् ।

उडान सुरक्षा व्यवस्थापनमा पछिल्लोपटक आक्रामक देखिएको प्राधिकरणमा वायुसेवाहरुको जाँच ‘उडान सुरक्षा व्यवस्पथापन महाशाखा’ ले गर्दै आएको छ । यो अर्न्तगत हवाई उडान सुरक्षा व्यवस्थापन प्रणाली जाँच गर्ने निरीक्षक (इन्स्पेक्टर) हरु रहन्छन् ।

प्रकाशित : भाद्र २७, २०८० २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?