कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६९

सर्वदलीय श्रद्धाञ्जली

बिहीबार सार्वजनिक बिदा, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, राष्ट्रिय झन्डा आधा झुकाइने 
मकर श्रेष्ठ

काठमाडौँ — संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार निधन भएको छ । इलाम क्षेत्र नं. २ बाट निर्वाचित नेम्वाङ घरमै बेहोस भएपछि नजिकैको शिक्षण अस्पताल महाराजगन्जमा पुर्‍याएलगत्तै मृत घोषणा गरिएको हो । परिवार स्रोतका अनुसार उनी सोमबारदेखि ज्वरो आएर अस्वस्थ भएपछि घरमै चिकित्सक बोलाएर स्वास्थ्य जाँचसमेत गरिएको थियो ।

सर्वदलीय श्रद्धाञ्जली

नेम्वाङको निधनले संविधान निर्माणको नेतृत्वकर्ता गुमाएको भन्दै सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नेम्वाङको अन्तिम संस्कार बिहीबार गरिने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । ‘कुन विधि र प्रक्रियाबाट कहाँ गर्ने परिवारले निधो गर्नेछ,’ गिरीले भने, ‘अन्त्येष्टि भएपछि संसद्बाट शोक प्रस्ताव पारित हुनेछ ।’ जेठो छोरा बेलायतमा र कान्छा अस्ट्रेलियामा भएकाले उनीहरू आएपछि अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

एमाले उपाध्यक्षसमेत रहेका ७१ वर्षीय नेम्वाङ ०६४ र ०७० को दुवै संविधानसभाका अध्यक्ष थिए । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार सूचना जारी गरेर अन्त्येष्टिका दिन बिहीबार सार्वजनिक बिदा दिने जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णयपछि नेम्वाङको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ । प्रतिनिधिसभाको बिहीबार ३ बजे बस्ने बैठकले नेम्वाङको शोक प्रस्ताव पारित गर्ने भएको छ । बुधबारका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक स्थगित गरी नेम्वाङप्रति शोक व्यक्त गर्न बिहीबार बोलाइएको छ । त्यस्तै एमालेले पार्टीको झन्डा तीन दिन झुकाउने र औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । एमालेले असोज २ गते शोकसभा गर्ने निर्णय पनि गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर र एमाले पार्टीप्रति उनले समवेदना प्रकट गरेका छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि दुःख व्यक्त गरेका छन् । नेम्वाङको निधनलगत्तै मंगलबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरू शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए ।

अस्पतालमा नेता–कार्यकर्ताको भीड लागेको थियो । नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । श्रद्धाञ्जली कार्यक्रम बुधबार पनि चल्नेछ । एमाले संसदीय दलका उपनेता नेम्वाङलाई प्रधानमन्त्री दाहालसहित शीर्ष नेताहरूले श्रद्धाञ्जली दिए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत नेताहरूले नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका हुन् ।

प्रधानमन्त्री दाहालले संविधानसभाका अध्यक्ष नेम्वाङको असामयिक निधनले आफू मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

सभामुख देवराज घिमिरेले नेम्वाङको अप्रत्याशित निधनले अनुभवी र सिद्धहस्त राजनीतिक गुमाएको बताएका छन् । ‘प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु,’ उनले भने । पूर्वराष्ट्रपति भण्डारीले पनि नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनले आफू स्तब्ध भएको बताएकी छन् । नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएको व्यक्तित्वका रूपमा उनले स्मरण गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, यस दुःखद घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

एमाले अध्यक्ष ओलीले नेम्वाङले लोकतान्त्रिक संविधान निर्माणमा पुर्‍याएको योगदान सधैं सम्झिने बताएका छन् । ओलीले एक मृदुभाषी, विनम्र र शालीन साथी गुमाएको बताए । नेम्वाङ पार्टी उपाध्यक्ष मात्र नभई आफ्नो सुखदुःखको साथीसमेत रहेको उनले बताएका छन् । नेम्वाङलाई सम्झँदै ओलीले लेखेका छन्, ‘लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनुभएको योगदान सधैं सम्झिरहने छौं ।’

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनआन्दोलनपछि पुनःस्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षका रूपमा नेम्वाङले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘सुझबुझपूर्ण ढंगबाट सबै पक्षसँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर विवाद निरूपण गर्ने नेम्वाङको शैली सबैका लागि अनुसरणयोग्य रह्यो,’ उनले भने ।

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेम्वाङलाई नेपाली राजनीतिका सहमति र समझदारीको हिमायतीका रूपमा चित्रण गरेका छन् । संविधान निर्माणमा मात्रै नभई सबै राजनीतिक दलहरूबीच सहमति र सहकार्यको माध्यमबाट मुलुकमा राजनीतिक परिवर्तनको हरेक मोडमा नेम्वाङले नेतृत्वदायी भूमिका निर्वाह गरेको उनले बताए ।

पूर्वधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेम्वाङको निधनले देशले ठूलो क्षति बेहोरेको र आफूले एक आत्मीय मित्रसमेत गुमाएको बताए । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेम्वाङलाई सम्झँदै लेखेका छन्, ‘हामी अलग पार्टीमा हुँदा पनि हाम्राबीच सधैं सम्पर्क र सम्बन्ध भइरहन्थ्यो । पार्टी विभाजन भएको प्रति उहाँ निकै दुःखी हुनुहुन्थ्यो । मिलेर काम गर्ने उपाय के हुन सक्छ भन्नेबारेमा हाम्राबीच चर्चा भइरहन्थ्यो । आखिर अनेक सम्भावना अगाडि हुँदाहुँदै पनि उहाँको यो दुःखद निधन भएको छ ।’

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेम्वाङको निधनबाट सिंगो राष्ट्र शोकाकुल भएको बताएका छन् । ‘नेपालको राजनीतिक तथा लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकामा नेम्वाङलाई नेपाली जनताले पुस्तौं पुस्तासम्म स्मरण गरिरहनेछ,’ श्रेष्ठले भने । अनुचित लेनदेन वा मिटरब्याजीसम्बन्धी विधेयक संसद्मा जटिल अवस्थामा पुगेको अवस्थामा त्यसलाई संसद्बाट पारित गरेर कानुन बनाउन नेम्वाङले निर्णायक भूमिका खेलेको श्रेष्ठले स्मरण गरे ।

कांग्रेस महामन्त्री गगन थापाले संविधानसभा अध्यक्ष हुँदा संविधान निर्माणमा सहमति र सहकार्यका लागि नेम्वाङको समन्वयकारी भूमिका स्मरणीय रहने बताएका छन् । आफू संविधानसभा सदस्य हुँदा नेम्वाङले अभिभावकीय भूमिका खेलेको सम्झना गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म संविधानसभा सदस्य हुँदा र अहिले पनि अभिभावकजस्तै भएर संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयन् विषयमा मलाई सिकाउने, बुझाउने सुवास दाइको अभाव सधैं खड्किनेछ ।’

नेम्वाङको निधनपछि कांग्रेसको आयोजनामा भइरहेको बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित भएको छ । नेम्वाङको निधनमा शोक व्यक्त गर्दै कार्यक्रम स्थगित गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाए ।

समाजवादीका महासचिव घनश्याम भुसालले एमाले उपाध्यक्ष नेम्वाङको निधनले वाम आन्दोलनमा क्षति पुगेको बताए । नेम्वाङ शालीन र सन्तुलित व्यक्तित्व, राजनीतिक समस्या आएका बेला भरपर्दो विकल्प भएको भुसालको भनाइ छ । ‘वाम आन्दोलनको भविष्यमा पनि उहाँको अभाव खट्किरहनेछ,’ उनले भने ।

नेम्वाङसँग कानुन पढेका पूर्वकानुनमन्त्री अग्नि खरेलले ‘आफ्ना कुरा मात्रै नलाद्ने, अर्काको कुरा पनि सुन्ने र सहमतिबाटै अघि बढाउन खोज्ने व्यक्ति’ रहेको टिप्पणी गरे । ‘सुवास दाइ जे विषयमा लाग्नुभयो, त्यसमा सफल हुनुभयो । उहाँ सफल विद्यार्थी, सफल शिक्षक, सफल सांसद र सफल सभामुखका रूपमा रहनुभयो,’ उनले भने ।

प्रकाशित : भाद्र २७, २०८० ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?