२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

नेपालमा वायुसेवा सञ्चालन गर्न कम्तीमा तीनवटा जहाज हुनैपर्ने 

सुरज कुँवर

काठमाडौँ — नेपालमा अब वायुसेवा कम्पनी स्थापना गर्न कम्तीमा तीन वटा जहाज अनिवार्य हुनैपर्ने भएको छ । वायुसेवा सञ्चालन प्रमाणपत्र निर्देशिका (एओसीआर) संशोधन गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले अब नेपालमा दर्ता गरी सञ्चालन हुने वायुसेवा (हेलिकप्टर वा फिक्स्ड विङ्ग (जहाज) उडाउने कम्पनीले न्यूनतम तीन वटा वायुयान राख्नै पर्ने भएको हो । 

नेपालमा वायुसेवा सञ्चालन गर्न कम्तीमा तीनवटा जहाज हुनैपर्ने 

‘अहिलेसम्म एउटा हेलिकप्टर वा जहाजबाट वायुसेवा कम्पनी दर्ता हुने नियम थियो,’ प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने,‘अब नयाँ दर्ता हुँदा तीनवटा हेलिकप्टर वा जहाज हुनैपर्ने छ । नत्र वायुसेवा दर्ता हुने छैन ।’

उनले एओसीआरको शुक्रबार भएको १० औं संशोधनबाट यो नियम लागू गरिएको बताए । प्राधिकरण मातहतको फ्लाइट सेफ्टी स्ट्यार्डड विभागका अनुसार, अहिले आन्तरिक उडानमा १२ वटा रोटर (हेलिकप्टर) र ९ वटा फिक्स्ड विङ्ग एयरक्राफ्ट (जहाज) कम्पनी छन् । यीमध्ये एक वा दुई मात्रै वायुयान भएका हेलिकप्टर कम्पनी ५ वटा छन् भने दुइटा मात्रै जहाज भएको वायुसेवा कम्पनी एउटा रहेको छ ।

पुराना कम्पनीलाई प्राधिकरणले तत्कालै न्यूनतम तीनवटा जहाजको संख्या पुर्‍याउनु पर्ने भनेको छैन । तर, मापदण्डभन्दा कम संख्यामा जहाज भएका कम्पनीलाई मर्जरका लागि बाटो खुला गरिदिएको छ । ‘हामीले वायुसेवा कम्पनीलाई मर्जरमा जान नीतिगत बाटो पनि खुला गरिदिएका छौं,’ प्रवक्ता निरौलाले भने, ‘तर ५ वर्षभित्र सबै नेपाली वायुसेवा कम्पनीसँग न्यूनतम ५ वटा जहाज हुनैपर्ने छ ।’

प्राधिकरणले एक/दुई जहाजमात्रै सञ्चालन गर्ने वायुसेवा कम्पनीमा उडान सुरक्षामा लापरबाही हुने, दक्ष जनशक्ति अभाव भइरहने, कमजोर आर्थिक अवस्थाका कारण वायुसेवा कम्पनीले उडान सुरक्षा परिपालना गर्न नसक्ने लगायतका कारणले जहाजको न्यूनतम संख्या तोक्नुपरेको जनाएको छ ।

त्यस्तै प्राधिकरणबाट इजाजत लिई उडानमा रहेका पाइलटहरुले उडानबाहेक व्यापार वा व्यवसायमा प्रत्यक्ष लगानी गरेर संलग्न हुन पनि नपाउने भएका छन् । त्यस्तै सरकारले नेपाल वायुसेवा निगममा राजनीतिक नियुक्तिमार्फत कार्यकारी अध्यक्ष वा महाप्रबन्धक ल्याउनुपर्दा होस् वा निजी कम्पनीले एकाउन्टेवल म्यानेजर वा पोस्ट होल्डर नियुक्त गर्दा प्राधिकरणको स्वीकृति लिनै पर्ने भएको छ । अब कुनै पनि वायुसेवामा एकाउन्टेवल म्यानेजर हुन प्राधिकरणले बनाउने कार्यविधि अनुसारको न्यूनतम योग्यता, अनुभव हुनै पर्ने छ ।

प्रकाशित : भाद्र १५, २०८० १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?