३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

चरा तस्करीको हटस्पट बन्दै स्वयम्भू क्षेत्र

स्वयम्भू क्षेत्रबाट विभिन्न प्रजातिका २ सय ६१ वटा चरा नियन्‍त्रण
गोविन्द पोखरेल

काठमाडौँ — काठमाडौंमा चराचुरुंगीको अवैध कारोबार बढिरहेको पाइएको छ । राजधानीको धेरै व्यस्त स्थान स्वयम्भूमा यस वर्ष पनि चरासहित कारोबारीहरू पक्राउ परे ।

चरा तस्करीको हटस्पट बन्दै स्वयम्भू क्षेत्र

जिल्ला वन कार्यालय काठमाडौंले स्वयम्भू क्षेत्रबाट विभिन्न प्रजातिका २ सय ६१ वटा चरा नियन्त्रण लिएपछि स्यवम्भूमा चराको अवैध बिक्री निर्वाध रुपमा भइरहेको पुष्टी गरेको हो ।

गत वर्ष पनि वन कार्यालयले स्वयम्भू क्षेत्रबाट ७ सयभन्दा बढी चराहरू नियन्त्रणमा लिएको थियो । वन कार्यालयले बुधबार पसलहरूमा बिक्रीका लागि राखिएका चरासहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

वन कार्यालयको छुट्टाछुट्टै ५ वटा टोलीले स्वयम्भू क्षेत्रमा सञ्चालित ती पसलमा एकै पटक छापा हानेको थियो । वन अधिकृत सरस्वती अर्यालले भनिन्, 'प्रहरी कार्यालयको छेवैमा निर्वाध रुपमा चराको अवैध बिक्री भइरहेको थाहा पाएपछि हामीले एकै पटक ती पसलमा पुगेर चरासहित मानिसहरूलाई नियन्त्रणमा लिएका हौं ।'

सुगा, मुनिया, फिन्च, लब बर्डस र सानो ढुकुर प्रजातिको चरा बिक्रीका लागि राखिएको अर्यालले जानकारी दिइन् । यी चराहरूको विस्तृत विवरणसहित थप पहिचानका लागि सदर चिडियाखानामा पठाइएको छ । नेपालमा स्वीकृतिबिना चराको ओसारपसार तथा कारोबार गर्न पाइँदैन ।

जिल्ला वन कार्यालय काठमाडौंको वन्यजन्तु अपराध शाखाका अधिकृत अशोक पराजुलीले चराहरुको पहिचान भएर आएपछि आरोपीहरूविरुद्ध मुद्दा दायर गरिने बताए । उनले नियन्त्रणमा लिएकाहरूविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन,२०२९ बमोजिम कारबाही गरिने बताए । वन कार्यालयले यस वर्ष पहिलो पटक अवैध रुपमा बिक्रीका लागि राखिएका चराहरूको नियन्त्रणमा लिएको उनले बताए ।

नियन्त्रणमा लिइएका चराहरूमध्ये कतिपय अवैध रुपमा भारतबाट ल्याइएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । वन अधिकृत अर्यालका अनुसार केही प्रजातिहरूलाई काठमाडौंभित्रै ब्रिडिङ गराएर पनि बेच्‍ने गरिन्छ । 'प्रारम्भिक अनुसन्धानमा केही प्रजाति काठमाडौं भित्रै उत्पादन गराउने गरेको खबर आएको छ । थप पुष्टी हुन बाँकी छ,' उनले कान्तिपुरसित भनिन् ।

गत वर्ष वन कार्यालयले ग्राहक बनेर अनुगमन गर्दा दर्जनौं पसलबाट अवैध रूपमा बेच्नका लागि तयार पारिएका १५ प्रजातिका ६ सयभन्दा बढी चरा बरामद गरेको थियो । यस वर्ष पक्राउ परेकाहरू अन्य व्यापारी छन् । अर्यालले भनिन्,'गत वर्ष पक्राउ परेकाहरू यस पटक पक्राउ परेका छैनन् ।'

व्यापारीहरूले बिक्रीका लागि राखिएका चराको न्यूनतम् मूल्य २५० देखि अधिकतम् १७ हजार रुपैयाँसम्म लिने गरेका छन् ।

नेपालमा चराको व्यापार गर्न निषेध छ । संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ (साइटिस ऐन) अनुसार दुर्लभ वा लोपोन्मुख वन्यजन्तुको वा वनस्पतिको वा सोको नमूना अनुमतिबिना खरिदबिक्री गर्न, आफूसँग राख्न, किनबेच गर्न/गराउन पाइँदैन ।

अवैध तरिकाबाट भारतका विभिन्न ठाउँबाट चराहरू काठमाडौं भित्र्याउने र तिनको व्यापार हुने गर्छ । काठमाडौंको स्वयम्भू क्षेत्रलाई चराको अवैध किनबेच हुने मुख्य केन्द्रको रुपमा लिइन्छ ।

पन्छी संरक्षण संघका अनुसार नेपालमा पाइने चराहरूको अवैध चोरीसिकारी हुने प्रजाति संख्या ३५ छ । अनलाइन तथा पसलहरूमा चराको व्यापारका लागि ग्राहकहरू आउने गरेको पाइएको छ ।

नेपालमा चरा पालन गर्नका लागि कानुनी व्यवस्था पूर्ण रूपमा बनेको भने छैन । चरा पाल्नेको स्रोत खुलाउनुपर्ने, प्रजाति र स्रोत खुलाउन नसके कारबाहीको व्यवस्था छ ।

प्रकाशित : श्रावण २४, २०८० २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?