कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६७

स्वास्थ्य जाँच्दै घरघरमा महानगर

सरकारले तोकेको ५८ किसिमको औषधि वितरण, घाउ ड्रेसिङ र बाँकी सेवाका लागि परामर्श
लिला श्रेष्ठ

ललितपुर — ललितपुर महानगरपालिका–५ थसिखेलका ६० वर्षीय मिनुर तामाङ नसासम्बन्धी रोगबाट पीडित छन् । सानैदेखि दाहिने खुट्टाले राम्रो भर नपाउने उनी स्ट्यान्डको सहायताबिना उभिन सक्दैनन् ।

स्वास्थ्य जाँच्दै घरघरमा महानगर

पछिल्लो समय उनलाई पिसाब रोकिने समस्या पनि थपिएको छ । ‘नसाकै कारण दिसा आएको पनि थाहा पाउँदिनँ,’ उनले भने, ‘महानगरका स्वास्थ्यकर्मी घरमै आएर जाँच गरेपछि पो सुगर र प्रेसरले पनि च्यापेको थाहा पाएँ ।’

स्वास्थ्य जाँचका लागि पटक–पटक अस्पताल जान नसक्ने तामाङजस्ता बिरामीका लागि ललितपुर महानगरपालिकाले ‘ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिसँग महानगर’ कार्यक्रम सुरु गरेको छ । ७० वर्षमाथिका ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई घरमै पुगेर महानगरले स्वास्थ्य परीक्षण तथा उपचारमा सहजीकरण गरिरहेको हो । ललितपुर–५ मानभवन कुमारीपाटीकी ९२ वर्षीया न्हुच्छेमाया शाक्यले पनि यस्तो सेवा लिइसकेकी छन् । उनी मुटु रोग, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल, अल्जाइमर्स, हड्डी खिइनेलगायत समस्याबाट पीडित छन् ।

घरको दोस्रो तलाबाट आँगनमा झर्नसमेत मुस्किल पर्ने उनको स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी घरमै आइपुग्दा छोरी मञ्जु भावुक बनिन् । ‘आमाले दिनमा १२ थरी औषधि सेवन गरिराख्नुभएको छ,’ उनले भनिन् ।

‘आफैं शौचालयसमेत जान सक्नुहुन्न । अस्पताल लैजान पनि धेरै सास्ती छ । यस्तो अवस्थामा घरघरमै आएर महानगरको टोलीले जाँच गर्दा धेरै खुसी लागेको छ,’ शाक्यले भनिन् ।

ललितपुर–५ लोकेश्वर टोलका ७९ वर्षीय मोतीलाल शिल्पकार उच्च रक्तचाप, मधुमेह, पिसाबसम्बन्धी समस्याबाट पीडित छन् । नियमित औषधि सेवन गरिरहेका उनको स्वास्थ्य समस्या बुझ्न तथा प्रेसर, सुगर जाँचका लागि महानगरका स्वास्थ्यकर्मी घरमै पुगे । ‘स्वास्थ्यकर्मीले तपाईंलाई कस्तो छ भनेर सोधिदिँदा मात्र पनि आनन्द आउँदो रहेछ,’ उनले भने, ‘प्रेसर/सुगरको जाँच गर्ने बेलामै उहाँहरू आइदिनुभयो ।’

बुधबार बिहान सिमसिम पानीको बेवास्ता गर्दै स्वास्थ्य उपचार सामग्री बोकेर कार्यक्रम संयोजक डा. छविन्द्र गैरे, जनस्वास्थ्य शाखा नर्सिङ विभागकी सानुमैया डंगोल र सिता श्रेष्ठ सेवाग्राहीको ढोका ढकढक्याउन पुगेका थिए । उनीहरूको सहजीकरणका लागि स्वास्थ्य स्वयम् सेविका रिना खड्का खटिएकी थिइन् । ‘स्वयम् सेविकाको सहायतामा ज्येष्ठ नागरिक र अपांगता भएकाहरूको घर पहिचान गरी सेवा दिन्छौं,’ डा. गैरेले भने, ‘सेवाग्राहीको सुगर, प्रेसर, अक्सिजन लेभल, पिसाबको जाँच गरेर आवश्यक परामर्श दिन्छौं, अस्पताल लैजानुपरे निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिदिन्छौं ।’ ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था जाँच गरेर आवश्यकताका आधारमा सरकारले तोकेको ५८ किसिमको औषधि वितरण गर्ने, घाउ ड्रेसिङ गर्ने र बाँकी सेवाका लागि परामर्श गर्ने डा. गैरेले बताए । महानगरका स्वास्थ्यकर्मीले हरेक दिन बिहान ८ः३० देखि ११ बजेसम्म र दिउँसो ३ः३० देखि ५ः३० बजेसम्म घर–घर पुगेर स्वास्थ्य जाँच गर्छन् । बाँकी समय कार्यालयलाई दिने गरेको जनस्वास्थ्य शाखाकी नर्स सीता श्रेष्ठले बताइन् । उनीहरू दैनिक रूपमा ग्लुको मिटर, पल्स अक्सिमिटर, बीपी सेट, औषधिलगायत सामग्री बोकेर ज्येष्ठ नागरिक तथा अपांगा भएका व्यक्तिहरू खोज्दै घरदैलो चहार्छन् ।

महानगरले चालु आर्थिक वर्षको सुरुवातबाट नै सेवा प्रवाह गर्ने भने पनि गत साता मात्र कार्यक्रम सुरु भएको महानगरप्रमुख चिरीबाबु महर्जनले बताए । ‘यो नयाँ कार्यक्रम हो, टिमवर्क र सहकार्य गरेर अघि बढ्छौं,’ उनले भने, ‘विज्ञबाट सुझावको अपेक्षा गरेका छौं ।’ महानगरले हाललाई ५, ६, ७, ८, ११, १२, १८, १९ र २० गरी नौ वटा वडामा सेवा दिने लक्ष्य लिएको छ । ती वडामा करिब ३ हजार ५ सय ज्येष्ठ नागरिक र ५ सय अपांगता भएका व्यक्तिको पहिचान भइसकेको छ । ‘अन्य २० वटा वडामा स्वास्थ्य केन्द्र संचालित छन्, कुनै पनि सरकारी स्वास्थ्य केन्द्र नभएका नौ वटा वडामा हाललाई कार्यक्रम सुरु गरेका हौं,’ उनले भने, ‘आगामी आर्थिक वर्षमा सेवा थप प्रभावकारी बनाउन १ करोड रुपैयाँ विनियोजन गरिसकेका छौं ।’

महानगरमा बसोबास गर्ने ज्येष्ठ नागरिक र अपांगता भएकाहरूको मुट, मिर्गौला र आँखाको परीक्षण समेत गर्ने उद्देश्यले कार्यक्रम सुरु भएको हो ।

प्रकाशित : असार २२, २०८० ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?