कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

वामपन्थीहरू एकताबद्ध नभएसम्म सही विकल्प बन्दैन : खनाल

काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सबै वामपन्थी शक्तिहरू एकताबद्ध भएर वैकल्पिक शक्ति बनाउनुपर्ने बताएका छन् । उनले चार दलले समाजवादी मोर्चा घोषणा गरेको भन्दै अब मोर्चाले देशमा रहेका सबै क्रान्तिकारी शक्तिहरूलाई एक ठाउँमा ल्याउन पहल गर्नुपर्ने बताए ।

वामपन्थीहरू एकताबद्ध नभएसम्म सही विकल्प बन्दैन : खनाल

सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित समाजवादी मोर्चा घोषणा सभामा बोल्दै नेता खनालले विगतमा भएका क्रान्तिले लिएका उद्देश्यअनुरूप प्रतिफल प्राप्त गर्न नसक्दा कम्युनिस्ट पार्टीहरू छताछुल्ल बनेको बताए ।

‘हामीले समाजवाद ल्याउने उद्देश्यसहित यो समाजवादी मोर्चा बनाएका छौँ । तर म ध्यानाकर्षण गराउन चाहन्छु कि यो मोर्चा सत्तालाई टिकाउने मोर्चामात्रै नबनोस्,’ उनले अघि भने, ‘यो मोर्चा साँचो अर्थमा सम्पूर्ण वामपन्थीलाई एकताबद्ध बनाउने मोर्चा बन्न सकोस् । यो देशमा रहेका सबै क्रान्तिकारीहरू, स्वाभिमानीहरू, आमूल परिवर्तन चाहनेहरू एक ठाउँमा आउन र ल्याउन सक्ने मोर्चा बनोस् । यो त्यसैका लागि चालिएको पहिलो पाइला हो । समस्त बामपन्थीहरूलाई एकताबद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण हुन सक्दैन । मोर्चालाई अझै व्यापक बनाउनुपर्ने आवश्यकता छ ।’

उनले देशमा अहिले पनि विगतमा कम्युनिस्ट आन्दोलनले उठाएका समस्याहरू कायम रहेको बताए । ‘अहिले पनि समाजमा जातीय भेदभाव छ, महिलामाथि हिंसा छ, भेदभाव छ । असमानता छ । अहिले पनि मिटरब्याजीपीडित किसानहरू जिल्ला जिल्लाबाट राजधानीमा आएर पीडा पोख्न बाध्य छन्,’ उनले भने, ‘हामीले जसरी समस्याहरूलाई किनारा लगाउनुपर्ने थियो, त्यो हुन सकेन, यस्तो किन भयो ?’

उनले देश बिस्तारै रेमिट्यान्समा निर्भर हुने अवस्था रहेको बताए । ‘कृषिलाई आधुनिकीकरण गर्नुपर्ने थियो, त्यो हुन सकेन । यो अवस्था किन आयो ? हामीले गम्भीर भएर सोच्नेबेला आएको छ । कहिलेसम्म कुन सरकार टिक्छ भनेर घोत्लिनुपर्ने स्थिति छ । आर्थिक रुपमाले देश जर्जर भएर गइरहेको छ । देश कृषिप्रधान होइन, रेमिट्यान्स प्रधान देश हुन लागिरहेको छ,’ उनले भने ।

प्रकाशित : असार ४, २०८० १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?