कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

परिवर्तनलाई अगाडि बढाउन प्रगतिशील शक्तिहरू मोर्चाबद्ध भएका हौं : यादव

काठमाडौँ — जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रगतिशील शक्तिहरू एकताबद्ध भएर परिवर्तनलाई अगाडि बढाउन समाजवादी मोर्चा गठन गरिएको बताएका छन् ।

परिवर्तनलाई अगाडि बढाउन प्रगतिशील शक्तिहरू मोर्चाबद्ध भएका हौं : यादव

माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी मिलेर बनेको समाजवादी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सोमबार यादवले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउनका लागि समाजवादी मोर्चा गठन भएको बताएका हुन् ।

विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त परिणामको रक्षा गर्नका लागि परिवर्तनकारी राजनीतिक दलहरू एक ठाउँमा आएर समाजवादी मोर्चा गठन गरिएको यादवले बताए ।

राजनीतिक परिवर्तन भए पनि जनताको जीवनमा त्यसको अनुभूति हुन नसकेको कुरा उल्लेख गर्दै उनले सुशासन, विकास र समृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने बताए । 'प्रगतिशील, क्रान्तिकारी शक्ति जसले परिवर्तनलाई अगाडि बढाउन सकोस् ती शक्तिहरू मोर्चाबद्ध भएर अगाडि बढ्ने प्रयासस्वरुप यो मोर्चा निर्माण गरिएको हो । राजनितिक रूपले धेरै कार्य गर्न बाँकी छ । विगतमा गरिएका धेरै कमिकमजोरी र गल्तीहरू सच्याउँदै अगाडि बढ्नुपरेको छ,' उनले भने ।

शासन प्रणाली बदलिए पनि शासकको कार्यशैलीमा परिवर्तन भई जनताको जीवनमा त्यसको प्रभाव देख्न नपाइएको अध्यक्ष यादवको भनाइ थियो । 'विभिन्न आन्दोलनको परिणाम नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुनपुग्यो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि नेपालका उपेक्षित, शोषित, पीडित जनताले अझैपनि त्यो परिवर्तनलाई अनुभूति गर्न पाएको अवस्था छैन,' उनले भने । राजनीतिक रूपमा प्रणाली बदलिएको र अब जनताको जीवनशैली बदल्नुपर्ने बताए ।

समाजवादी मोर्चाको उद्देश्य गणतन्त्रलाई संस्थागत गर्ने, संघीयता, गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता, मौलिक हकजस्ता उपलब्धि सुनिश्चित गर्ने रहेको पनि अध्यक्ष यादवको भनाइ थियो ।

विभिन्न शक्तिहरूले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने षडयन्त्र गरिरहेको अध्यक्ष यादवको भनाइ थियो । ती प्रयासहरूलाई विफल पार्नका लागि समाजवादी मोर्चा एकताबद्ध भएर अगाडि बढ्ने उनको भनाइ थियो । उनले संसद् र सडकबाट समान विचारमा लड्ने बताए ।

'गणतन्त्र, संघीयता, गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता, मौलिक हकजस्ता कुरा आज विभिन्न क्षेत्रबाट प्रतिगमनकारी शक्तिहरू र तिनका मतियाहरूबाट धरापमा पार्ने, समाप्त पार्ने र पुरानैतर्फ फर्काउने प्रयास भइरहेका छन् । ती प्रयासलाई असफल पार्दै उपलब्धिलाई रक्षा गर्ने मोर्चाको उद्देश्य हो,' उनले भने, 'ती उपलब्धिहरूलाई हासिल गर्न जनसंघर्ष, संसद्को माध्यमबाट प्राप्त गर्न हामी सहमत भएका छौं ।'

संविधानलाई सबैले स्वीकार्न र स्वामित्व लिन सक्ने बनाउने पनि अध्यक्ष यादवको भनाइ थियो ।

प्रकाशित : असार ४, २०८० १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?