कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

५४ सांसदसहित ४ पार्टीको मोर्चा !

सत्तारूढ गठबन्धनमा रहेका र सत्ताबाहिरका कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी, आलोपालो नेतृत्व, मोर्चामा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद
जयसिंह महरा

काठमाडौँ — सत्तारूढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र सत्ताबाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् ।

५४ सांसदसहित ४ पार्टीको मोर्चा !

राजनीतिक स्थिरताका लागि भन्दै सत्तारूढ गठबन्धन र सत्ताबाहिरको कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी हुन लागेको हो । साझा प्रतिबद्धतासहित सोमबार ३ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा मोर्चा घोषणा हुँदै छ । आलोपालो नेतृत्व गर्दै संसद् र सडकमा समान विचार भएका मुद्दामा एकताबद्ध भएर अगाडि बढ्नका लागि समाजवादी मोर्चा बनाइएको नेताहरूको प्रतिक्रिया छ ।

मोर्चा सञ्चालन गर्न तत्कालका लागि दुई तहको संरचना बनाउने तयारी छ । शीर्ष नेताहरू रहने संयोजन समिति र प्रत्येक राजनीतिक दलबाट प्रतिनिधित्व हुने गरी सचिवालय घोषणा गर्न लागिएको छ । प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद हुनेछन्, जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् । मोर्चामा समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएकाले संख्या बढ्न सक्ने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको चार दलको बैठकले समाजवादी मोर्चा घोषणा कार्यक्रमका लागि उद्देश्य तथा नीतिगत प्रतिबद्धतामा समझदारी गरेको छ । माओवादी महासचिव देव गुरुङले समाजवादी क्रान्तिका लागि मोर्चाको आवश्यकता परेको बताए । ‘अहिलेको सन्दर्भमा समाजवादी क्रान्तिका लागि समाजवादी मोर्चाको आवश्यकता देखेर यो गर्न लागेका हौं,’ उनले भने ।

जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार समाजवादी मोर्चाको उद्देश्य तथा नीतिगत प्रतिबद्धता तय भएका छन् भने साझा न्यूनतम कार्यक्रम घोषणापछि संयोजन समिति र सचिवालयले तय गर्नेछ । ‘मुख्यतः हामीले लोकतान्त्रिक मूल्य, मान्यता, सुशासन, समृद्धि र समतामूलक समाज निर्माण गर्ने उद्देश्य लिएर मोर्चा गठन गर्न लागेका हौं,’ उनले भने, ‘संघीय शासन प्रणालीमा अगाडि बढ्ने । संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक, समावेशिता, आर्थिक, विकासका मुद्दालाई लिएर एकठाउँमा आएका हौं,’ उनले भने ।

यसअघि स्वार्थका लागि गठबन्धन बनेको तर यो मोर्चा विचार मिल्नेहरूको भएको श्रेष्ठको दाबी थियो । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले संसद् पाँच वर्ष टिकाउनका लागि मोर्चा गठन गरिएको बताए । ‘संसद्लाई पाँच वर्षसम्म टिकाउन, वामपन्थी जनमतलाई एकीकृत गरिराख्न, एकताबद्ध र प्रभावकारी रूपमा जनताका आवाज अगाडि सार्न मोर्चा गठन गर्न लागिएको हो,’ उनले भने ।

समाजवादी मोर्चाको सम्बन्ध सत्तारूढ गठबन्धनसँग नरहेको माओवादी महासचिव गुरुङले बताए पनि त्यसमा सकारात्मक प्रभाव पर्ने खतिवडाको भनाइ थियो । ‘सत्ता गठबन्धनमा हाम्रो सकारात्मक प्रभाव पर्छ । सत्तामा रहेका ५४ सांसदहरू एकताबद्ध भएर अगाडि बढ्छौं । हामी संसद्मा रहेका दलहरूको एउटै आवाज हुन्छ,’ उनले भने । श्रेष्ठले भने संविधानमा मिश्रित निर्वाचन प्रणाली रहेकाले पनि विचार मिल्ने राजनीतिक दलहरू एकताबद्ध हुनुपरेको बताए । एउटै राजनीतिक दलको बहुमत आउने सम्भावना नरहेकाले यो मोर्चामा जानुपरेको उनको भनाइ थियो । ‘राजनीतिक स्थिरता र अर्थतन्त्र मजबुद बनाउनका लागि समाजवादी मोर्चा हो,’ उनको तर्क थियो । समाजवादी मोर्चाबारे सरकारमा रहेको प्रमुख दल कांग्रेससँग पनि परामर्श गरिएको श्रेष्ठले बताए । उनले आगामी दिनमा कांग्रेस र मोर्चा सहकार्य गरेर अगाडि बढ्ने उनले जानकारी दिए ।

समाजवादी मोर्चामा चन्द नेतृत्वको नेकपा पनि सहभागी हुने भएको हो । वर्तमान राजनीतिक दलबाट राष्ट्रलाई अगाडि बढाउन सम्भव नभएको भन्दै क्रान्तिमार्फत सत्तामा जाने भनेको नेकपा समाजवादी मोर्चामा जान लागेको हो । यसका लागि चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि बालुवाटार पुगेका थिए । मुलुक अप्ठ्यारो अवस्थामा परेकाले समाजवादी मोर्चा बनाउनुपरेको विश्वकर्माको भनाइ छ ।

‘देश र जनताको जीवनमा इतिहासमा यति धेरै अप्ठ्यारा आएका थिएनन् । नेपाली जनता यसबाट उन्मुक्ति चाहन्छ, समाधान चाहन्छ । विदेशी चलखेल अत्यधिक बढेका छन् । यो बेलामा राष्ट्रको अस्तित्व र स्वाधीनताको कुरा छ । देशमा राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक, जनजीविकाको दृष्टिले डरलाग्दो अवस्था छ । यसको समाधान गर्नका निम्ति अहिलेको राज्यव्यवस्थालाई समाजवादी व्यवस्थासम्म नपुर्‍याउने हो, राष्ट्रिय पहल नलिने हो भने केही भन्न सकिन्न,’ उनले भने ।

समाजवादी मोर्चा सुरुवाती चरणमा रहेको विश्वकर्माको भनाइ छ । उनले सुरुवाती चरणमा कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउने र भविष्यमा लोकतान्त्रिक पार्टी, नेता र कार्यकर्तालाई पनि जोड्दै जाने बताए । समाजवादी मोर्चा कुनै एक नेताको नभई सामूहिक सोचको उपज भएको विश्वकर्माको भनाइ थियो । उनले सामूहिक सोच र प्रयासको अभिव्यक्ति समाजवादी मोर्चा रहेको बताए । सत्तारूढ दलहरूसँग मिलेर समाजवादी मोर्चामा नेकपा आउने कुरा कसरी मिल्यो ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘२०६२/६३ पछि राष्ट्रिय राजनीतिमा ठूलो मिस्टेक भयो । त्यही मिस्टेकको परिणाम अहिले देश र जनता भोग्दै छन् । अहिले आफ्नै जीवनमा छताछुल्ल हुने गरी आयो । यो वस्तुस्थितिले के भयो भने सबैले गम्भीर भएर सोच्नुपर्ने भयो । सबैले आत्मसमीक्षा गर्नुपर्ने र आफूलाई नयाँ ढंगले सोच्नुपर्ने, आफ्नो हित र अस्तित्वका निम्ति, देश र जनताका समस्या हल गर्नका निम्ति ।’

समाजवादी मोर्चाको प्रमुख उद्देश्य संघीयता, लोकतान्त्रिक व्यवस्था, सुशासन, आर्थिक समृद्धि रहेको बताइएको छ । मोर्चाले अर्थतन्त्र, रोजगारी, आत्मनिर्भरताका विषयलाई प्राथमिकताका साथ अगाडि बढाउने भनेको छ । स्वास्थ्य, शिक्षालगायतका विषयलाई राज्यले सञ्चालन गर्नुपर्ने उद्देश्य राखिने नीति लिने भनिएको छ । संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहहरूको क्षेत्राधिकार स्पष्ट पार्ने र समन्वयमा काम गर्ने नीतिमा भनिएको छ । संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तका आधारमा स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति लिने भनिएको छ । यसका अलावा सामाजिक र सांस्कृतिक क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने नीतिगत प्रतिबद्धता घोषणा सभामा प्रस्तुत गरिने भएको छ ।

प्रकाशित : असार ४, २०८० ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?