कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

भिजिट भिसामा मानव तस्करी : एजेन्टको प्रलोभनमा फस्छन् सोझा महिला

सरकारले रोक लगाएको मुलुकमा गएका महिलामाथि श्रम शोषण मात्रै होइन यौन शोषण, शारीरिक तथा मानसिक दबाब पनि
लिला श्रेष्ठ

काठमाडौँ — फूलमाला, खादामा सजिएर परिवारसँग बिदाइ भएकी सिन्धुपाल्चोक मेलम्चीकी ३८ वर्षीया तोक्सानी तामाङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि अलमलमा परिन् । भिजिट भिसामा दुबई (यूएई) जान लागेकी तामाङको अवस्था देखेपछि मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएका प्रहरीले सोधपुछ गरे । त्यसपछि थाहा भयो उनी दुबईको बाटो हुँदै घरायसी कामका लागि कुवेत जान लागेकी रहिछन् । 

भिजिट भिसामा मानव तस्करी : एजेन्टको प्रलोभनमा फस्छन् सोझा महिला

‘काठमाडौं धेरै पटक नआएकी तामाङलाई एजेन्टले भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्‍याउन लागेको रहेछ, आफन्तसँग विमानस्थल आइपुगेकी उनी अलमलमा परिन्,’ ब्युरोको एक प्रहरी अनुसन्धान अधिकृतले भने, ‘सामान्य लेखापढीसमेत नजानेकी महिला जोखिममा पर्ने डरले हामीले सम्झायौं, उनी फर्किन तयार भइन् ।’

क्यान्सरपीडित श्रीमान्, दुई सन्तानसँग बिदा भएर भिजिट भिसामा दुबई हुँदै कुवेत गन्तव्य रोजेकी तामाङलाई एजेन्टले पासपोर्ट बनाउनेदेखि कुवेतसम्मको खर्च बेहोरेको पाइएको छ । ‘उनलाई कुवेत पुर्‍याउने मुख्य एजेन्ट कुवेतमै रहेछन्, अर्का एजेन्ट काठमाडौंमै छन्,’ उनले भने, ‘तर, ती एजेन्टबारे बताउन भने तामाङ तयार छैनन् ।’

तामाङजस्तै सोझासिधा, आर्थिकस्तर न्यून भएकाहरूलाई एजेन्टले सजिलै प्रभावमा पारेर भिजिट भिसामा नेपाल सरकारले घरायसी कामका लागि बन्देज गरेका मुलुकमा पुर्‍याउने गरेका छन् । खासगरी कुवेत, ओमन र त्यहाँबाट पनि सिरियालगायतमा महिलालाई घरेलु कामदारका रूपमा एजेन्टहरूले लैजाने गरेका छन् । भाषा र सीपको अभावमा यातना भोग्नुपर्ने, यौन शोषण, शारीरिक तथा मानसिक दबाब, श्रम शोषण, आर्थिक शोषण भएको भनेर उजुरी पर्ने गरेको ब्युरोले जनाएको छ । ‘उद्धार गरिदिनुपर्‍यो भन्ने सूचनाहरू हामीकहाँ धेरै प्राप्त भएको छ,’ ब्युरो प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठले भने, ‘अप्ठ्यारोमा परेका दिदीबहिनी, दाजुभाइलाई हामीले समन्वयात्मक भूमिका खेल्दै उद्धार पनि गर्दै आएका छौं ।’ नेपाल सरकारले खाडी राष्ट्रमा घरेलु कामदारमा नेपालबाट महिला जान नपाउने व्यवस्था गरेको छ । तर, नेपालबाट भिजिट भिसाको दुरुपयोग गर्दै एजेन्टले ती देशहरूमा घरेलु कामदारका लागि लैजाने प्रवृत्ति बढेको प्रहरीले जनाएको छ ।

विदेशमा काम गर्न नेपाल सरकारले तोकेको मापदण्ड पुर्‍याएर जान आफूहरूले परामर्श गर्दै आएको ब्युरो प्रमुख एसएसपी श्रेष्ठले बताए । खाडी मुलुकमा बसेर एजेन्टको काम गर्ने व्यक्तिले नेपाली एजेन्टसँग सम्पर्क गरी नयाँ–नयाँ मान्छे खोज्न लगाउने गरेको अनुसन्धानबाट देखिएको ब्युरोले जनाएको छ । ‘एजेन्टले आर्थिक अवस्था न्यून भएका मान्छे खोज्ने र पासपोर्ट आफैं बनाइदिने गरेका छन्,’ श्रेष्ठले भने, ‘गाउँदेखि काठमाडौंसम्मको यातायात खर्चको व्यवस्था गर्ने, काठमाडौंमा होटल खर्च दिने, एयरलाइन्सको टिकट, आतेजाते खर्चको व्यवस्था गरेर भिजिट भिसामा खाडी मुलुकमा घरेलु कामदार सप्लाई गरेको पाइएको छ ।’

ब्युरोले २०७९ वैशाखयता प्रक्रिया नपुर्‍याई भिजिट भिसामा दुबई हुँदै कुवेत, ओमनलगायत मुलुक जान लागेका ३ हजार २ सय २३ जनाको राहदानी लिएको जनाएको छ । ब्युरोले यही जेठ १ देखि १७ गतेसम्म २ सय ५६ महिला र १ सय ६९ पुरुष गरी ४ सय २५ जनाको राहदानी लिएर परामर्शपछि राहदानी दिएको छ ।

गृह मन्त्रालयको ‘भिजिट भिसा र सो बाट सृजित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको अध्ययन प्रतिवेदन’ अनुसार न्यूनतम दुई वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतीत गरेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिलाई भिजिट भिसाका लागि योग्य मानेको छ । न्यूनतम उच्च माध्यमिक तह वा सोसरह सीप दक्षता भई आधिकारिक निकायबाट प्रमाणीकरण भएका तथा अध्येता, विज्ञ, प्राविधिक, अंग्रेजी वा गन्तव्य मुलुकमा बोलिने भाषाको राम्रो सीप भएका, आफ्नो एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा भिजिट भिसामा जान पाइने उल्लेख छ ।

यस्तै, गन्तव्य मुलुकमा रहेको नियोगबाट प्रमाणित कागजातसहित सिफारिस भएका व्यक्ति, सरकारी कामको सिलसिलामा जाने कर्मचारी/व्यक्ति, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संघसंस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रतिनिधि, व्यावसायिक संघसंस्थाका प्रतिनिधि भिजिटमा जान पाउनेछन् । वार्षिक न्यूनतम १० लाख रुपैयाँ करयोग्य आय भई कम्तीमा त्यसको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्धता व्यक्ति भिजिटमा जान पाउने प्रतिवेदनमा छ ।

प्रकाशित : असार ३, २०८० ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?