कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यातायातका समस्या समाधान गर्न मन्त्री ज्वालाको ‘एक्सन योजना’

काठमाडौँ — यातायात क्षेत्रको अस्तव्यस्तता अन्त्य गर्न भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ‘सहकार्य, समन्वय र एक्सन’ योजना सुरु गरेका छन् ।

यातायातका समस्या समाधान गर्न मन्त्री ज्वालाको ‘एक्सन योजना’

ट्राफिक प्रहरी, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको सहकार्य तथा समन्वयमा यातायात क्षेत्रका १० समस्या तत्काल सामधान गर्न मन्त्री ज्वालाले शुक्रबारदेखि ‘एक्सन योजना’ सुरु गरेका छन् । शुक्रबार नै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, ट्राफिक प्रहरी प्रमुख एआईजी मिरा चौधरी, वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, सबै प्रदेशका विभागीय सचिव तथा प्रतिनिधि, मन्त्रालयका सचिव, सहसचिवसहित मन्त्री ज्वाला र राज्यमन्त्री नन्दा चपाईले ४ घण्टा लामो छलफल गरे ।

यातायात क्षेत्र सुधार गर्न १० समस्या रहेको समन्वय बैठकले निस्कर्ष निकालेको छ । सवारी चालक अनुमति पत्रको छपाई, सवारी साधनहरुको अभिलेखिकरण, व्यवस्थापन, अनलाइन सवारी दर्ता, तथा लाइसेन्स नवीकरण, सवारी साधन रुट परमिट, परीक्षणकालीन सवारी चालक अनुमतिपत्र, इम्बोस्ड नम्बर प्लेट जडान, बेवारिसे सवारी साधनको व्यवस्थापन, पुराना सवारी साधनको लगत कट्टा, राइड सेयरिङ, विदेशी सवारी चालक अनुमतिपत्र लगायतका समस्या सामधान गर्न मन्त्री ज्वालाले ‘सहकार्य, समन्वय र एक्सन’ योजना सुरु गर्न लागेको बताए ।

‘कानुनी समस्या र बजेटको अभाव हुँदाहुँदै यी समस्यासँग जुध्नु नै छ, तर वर्तमान सरकारको प्रमुख लक्ष्य सेवा प्रवाह हो, यसमा कुनै कन्जुस्यााईँ गर्ने पक्षमा हामी छैनौं,’ मन्त्री ज्वालाले भने, ‘सवारी दर्ता, लाइसेन्स नवीकरण अब केही दिनमै अनलाइन सिस्टमबाट सुरु गर्नुपर्छ, त्यसका लागि हामीले तयारी पनि अन्तिम चरणमा पुर्‍याएका छौं ।'

नेपालमा झण्डै ६ सयभन्दा बढीले विदेशी सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्न माग गरेका छन् । उनीहरुको पनि समस्या सम्वोधन हुन सकेको छैन । तत्काल सम्वोधन गर्न मन्त्री ज्वालाले निर्देशन दिएका छन् ।

त्यसैगरी देशभर झण्डै १० हजार सवारी साधन बेवारिसे अवस्थामा छन् । ती सवारी साधनलाई छिटो व्यवस्थापन गर्ने गरी तीन तहका सरकारबीच समन्वय गर्ने निर्णय भएको मन्त्रालयका सचिव केशव शर्माले बताए ।

समन्वय बैठकमा क्षमताभन्दा बढी सवारी तथा बस्तु ओसारपसारले पनि समस्या परेको राज्यमन्त्री चपाईले बताइन् ।

प्रकाशित : जेष्ठ २६, २०८० २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?