कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कीर्तिमानी आरोही कामीरिता शेर्पा र हरि बुढामगरलाई सम्मान

एक लाख राशिको सगरमाथा पुरस्कार र ५० हजार राशिको तेन्जिङ–हिलारी पुरस्कार वितरण

काठमाडौँ — विश्वकै अग्लो हिम चुचुरो सगरमाथा कृत्रिम खुट्टाको सहायतामा आरोहण गरेका रोल्पाका हरि बुढामगर र २८ पटक चढेर सर्वाधिक आरोहण कीर्तिमान गर्ने सोलुखुम्बुका कामीरिता शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पालीले १६ औं सगरमाथा दिवसका अवसरमा सोमबार सम्मान गरिन् ।

कीर्तिमानी आरोही कामीरिता शेर्पा र हरि बुढामगरलाई सम्मान

सगरमाथा चुचुरोमा मानव पाइला पुगेको ७० वर्ष पूरा भएको अवसर समेत पारेर १६ वर्षयता पर्यटन मन्त्रालय लगायतका निकायले संयुक्त आयोजना गर्ने सगरमाथा दिवसका अवसरमा राज्यमन्त्री सिर्पालीले सम्मान प्रदान गरेकी हुन् । पर्यटन विभागले १ लाख राशिको यस वर्षको सगरमाथा राष्ट्रिय पुरस्कार संखुवासभाका आरोही सानु शेर्पालाई प्रदान गरेको छ । उनले सगरमाथासहित विश्वका १४ वटा ८ हजार अग्ला हिमाल दोहोर्‍याएर आरोहण गर्ने कीर्तिमान राखेका थिए ।

यसैबीच मन्त्रालयले यस वर्षको ५० हजार रुपैयाँ राशिको तेन्जिङ हिलारी पुरस्कार तीन जना आरोहीलाई प्रदान गरेको छ । यो पुरस्कार सोलुखुम्बुका आरोही पासाङ दावा शेर्पा र पासाङ ल्हामु शेर्पा अकिता तथा नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीलाई प्रदान गरिएको छ । पासाङ दावा सगरमाथा २७ पटक आरोहण गर्ने नेपाली हुन् । उनी कामीरिता पछि सर्वाधिक सगरमाथामा आरोहण गर्ने विश्वकै दोस्रो व्यक्ति हुन् ।

त्यस्तै तेन्जिङ हिलारी पुरस्कार प्राप्त गर्ने अकिता धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो महिला आरोहीमध्येकी उनी नेपालको पहिलो महिला पर्वतारोहण प्रशिक्षक पनि हुन् । उनले विश्वका ८ हजार अग्ला १४ मध्ये नौं वटा हिमालको आरोहण गरिसकेकी छन् । त्यस्तै नेपाली सेनाका प्रमुख सेनानी अधिकारी सफा हिमाल अभियान तीन वर्षदेखि नेतृत्व गर्दै आइरहेका छन् ।

समारोहमा राज्यमन्त्री सिर्पालीले ७० वर्षयता कम्तीमा ७ हजार ८ सय ५० जनाले सगरमाथा आरोहण गरिसकेको बताइन् । उनले सगरमाथालाई थप सुरक्षित बनाउने बताउँदै आधार शिविरसम्म चाँडै सडक पुर्‍याइने बताइन् । यस वर्ष आरोहण दलका सदस्य र सहयोगी शेर्पाहरुसमेतले गरी करिब ६ सय हाराहारीले सगरमाथा आरोहण गरिसकेका छन् । विभागले एकिन विवरण आउन अझै एक महिना लाग्ने जनाएको छ ।

पर्यटन विभागका महानिर्देशक होम लुइँटेलका अनुसार, यसै वर्षदेखि सगरमाथा आरोहीलाई परिचयपत्र र ब्याच वितरण थालिने भएको छ । ‘१ सय ६५ वटा चाँदीका ब्याच वितरण सोमबार सगरमाथा दिवसको साइत पारेर सुरु गरिएको छ,’ महानिर्देशक लुइँटेलले भने ।

प्रकाशित : जेष्ठ १५, २०८० १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?