रेशम चौधरीलाई माफी दिने निवेदनमा गृहलाई राष्ट्रपति कार्यालयको राय- 'कानुनबमोजिम गर्नू'

कान्तिपुर संवाददाता

काठमाडौँ — कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको सजाय माफी निवेदनमा राष्ट्रपति कार्यालयले कानुनबमोजिम गर्न राय दिएको छ । गृह मन्त्रालयले चौधरीको सजाय माफी मागको निवेदनमा राय माग गर्दै उनको निवेदन राष्ट्रपति कार्यालय पठाएको थियो । शुक्रबार राष्ट्रपति कार्यालयले रायसहित चौधरीको फाइल गृहलाई फिर्ता पठाएको छ ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले राष्ट्रपति कार्यालयले गृहबाट प्राप्त निवेदनको फाइल अध्ययनपछि कार्यार्थकालागि फेरि गृह मन्त्रालयलाई नै फाइल फिर्ता पठाइएको जानकारी दिए । राष्ट्रपति कार्यालयले कानुनबमोजिम गर्नू भन्ने राय दिएको छ ।

'चौधरीलाई आममाफीका विषयमा प्रचलित कानुन, सो मुद्दासम्बन्धी सर्वोच्च अदालतको फैसला, अदालतद्वारा प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुनबमोजिम गर्नू भनेर राष्ट्रपति कार्यालयले फाइल फिर्ता पठाएको छ,' राष्ट्रपति कार्यालय स्रोतले भनेको छ ।

चौधरीलाई लगाएको मुद्दा फिर्ता गर्ने विषयमा पटक-पटक सहमति गरेका सत्ता गठबन्धन दलले पछिल्लो पटक सर्वाेच्च अदालतले समेत जिल्ला र उच्च अदालतको फैसलालाई सदर गरेपछि सजाय माफीको प्रक्रिया अघि बढाउन सहमत छन् ।

चौधरीको निवेदन राष्ट्रपति कार्यालय पुगेकै दिन प्रधानमन्त्री पुष्पकमल दाहालले समेत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर त्यसबारे छलफल गरेका थिए । चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजायअनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने छ । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले करिब १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।

त्यस्तै, चौधरीको सजाय माफीको निवेदन अगाडि बढेकै बेला सो घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहराले दिएको निवेदनसमेत राष्ट्रपति कार्यालयले कार्यार्थका लागि गृहलाई पठाएको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० १६:३५
प्रतिक्रिया
पठाउनुहोस्

सत्ता पक्षले प्रश्न गर्नै नपाउने भन्ने कहीं लेखिएको छैन : राणा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले सत्ता पक्षले भ्रष्टाचारका सवालमा प्रश्न उठाउनै नपाउने भनेर नियमावलीमा कहीं पनि नलेखिएको बताएका छन् । उनले एउटा सांसदले सदनमा उठाएको सार्वजनिक महत्वको विषय कुनै छानबिन नगरी रेकर्डबाट हटाउन नमिल्ने बताए ।

प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपति मन्दिरमा जलहरी लगाउने बेला तत्कालीन सरकारले भ्रष्टाचार गरेको भन्ने वक्तव्य दिएको विषयमा नेकपा एमालेले संसद् अवरोध गरेपछि बैठक स्थगित छ । एमालेले त्यसबारे सरकारले जवाफ दिनुपर्ने र दाहालले बोलेको सो अडियो रेकर्डबाट हटाउनुपर्ने माग गर्दै संसद् अवरुद्ध पारेको छ ।

सत्तारुढ दल कांग्रेसका सांसद राणाले भने एउटा सांसदले सदनसम्म विषय प्रवेश गराएपछि त्यसबारे संसदीय छानबिन समिति बनाएर छानबिन गरेर विषयलाई टुंगोमा पुर्‍याउनुपर्ने बताए । ‘सत्तापक्षले प्रश्न गर्नै नपाउने भन्ने संसद्को नियमावलीमा कतै पनि छैन । प्रतिपक्षले सरकारमा भएको दललाई गाली गर्ने, सरकारमा भएको दलले चाहिँ चुप लागेर बसिरहनुपर्ने भन्ने हुँदैन,’ उनले भने, ‘म केपी शर्मा ओली, एमालेको अध्यक्षले भनेपछि कालो पनि सेतो बन्छ भन्ने खालको उहाँहरूको सोच छ । एउटा सांसदले सदनमा उठाएको विषयलाई त्यति हलुका रुपमा लिन मिल्दैन । त्यसबारे छानबिन हुनुपर्छ ।’

उनले संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने र जलहरी लगाउने योजनाका विषयमा दूधको दूध, पानीको पानी छर्लंग हुने बताए ।

प्रकाशित : जेष्ठ १२, २०८० १६:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×