२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

नक्कली शरणार्थी प्रकरण टुंग्याएर ओम्नी, बालुवाटार प्रकरण पनि छानबिन गर्नेछौं : पौडेल

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई टुंगोमा पुर्‍याएपछि अन्य भ्रष्टाचारका प्रकरणमा पनि छानबिन गर्नुपर्ने बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई प्रभावित पार्नका लागि अरु प्रकरणको पनि छानबिन गर्नुपर्ने भनेर विषयान्तर गर्न खोजिएको पनि बताए । 

नक्कली शरणार्थी प्रकरण टुंग्याएर ओम्नी, बालुवाटार प्रकरण पनि छानबिन गर्नेछौं : पौडेल

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद पौडेलले एउटा विषयको छानबिन भइरहेको बेला अर्को विषयमा पनि छानबिन गर्नुपर्छ भन्ने विषय उठाएर समस्याको समाधान नहुने बताए । 'एउटा विषयको छानबिन चलिराखेको बेलामा, अर्को विषय उठाइदिएर विषयान्तर नगरौँ । भुटानी शरणार्थीको विषय गम्भीरतापूर्वक उठेको छ । सत्यतथ्यलाई निष्कर्षमा पुर्‍याउनका लागि सरकारलाई सम्बन्धित निकायहरूलाई सहयोग पुर्‍याउनुपर्ने यतिबेलाको हामी सबैको साझा कर्तव्य र दायित्व हो,' उनले भने, 'पहिला पनि उठेका थिए कतिपय कुराहरू । ती कुराको पनि क्रमशः छानबिन गर्नेछौं । ओम्नी प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण, बालुवाटार प्रकरण, एनसेल प्रकरण, सुन तस्कर प्रकरण पनि उठेका थिए । यी विषयको पनि छानबिन गरौंला ।'

नेपाली नागरिकलाई विदेशी बनाएर अर्को देशमा पठाउने घटना गम्भीर भएको पौडेलको भनाइ थियो । उक्त घटनाको छानबिन भइरहेको अवस्थामा पनि सरकारमाथि प्रश्न उठाइएको भन्दै उनले थपे, 'मैले त सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु, राम्रो काम गरेको बेलामा इमानदारितापूर्वक समर्थन गर्न डराउनुहुँदैन । भ्रष्टाचारको विषय पक्ष र प्रतिपक्षको विषय होइन । नेपालको नागरिकहरूको साझा विषय हो ।'

राजनीतिक दलहरू साझा संकल्पका साथ भ्रष्टाचाविरुद्ध लाग्नुपर्ने पौडेलको भनाइ थियो । यस्ता विषयमा एक अर्कालाई आरोप प्रत्यारोप गरेर जान नहुने उनले बताए ।

सांसद पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग, सम्पत्ती शुद्धीकरण विभागजस्ता राज्यका निकायहरू सुस्ताएर बस्न नहुने पनि बताए । ती निकायहरूलाई जवाफदेही, पारदर्शी रूपमा काम गर्न के कुराले रोकेको हो भन्ने विषय पनि उनले उठाएका थिए । कानुन अभाव रहेको हो भने त्यो कुराको अन्त्य गरेर जानुपर्ने उनले बताए ।

प्रकाशित : जेष्ठ १, २०८० १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?