२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

‘सांसदले मन्त्री बन्‍न दुई करोड मागेपछि देश कसरी अघि बढ्छ ?’

प्रतिक्षा काफ्ले

कास्की — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति कमाई खाने उद्योग भएको बताएका छन् । पोखरामा मंगलबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले मन्त्री बन्नका लागि दुई करोडको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको प्रसंगमा उक्त धारणा राखेका हुन् । 

‘सांसदले मन्त्री बन्‍न दुई करोड मागेपछि देश कसरी अघि बढ्छ ?’

उनले भ्रष्टाचार नियमनकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै शुद्ध नभएको टिप्पणी गरे । ‘एउटा सांसदले मन्त्री बन्‍न २ करोड मागेपछि देश कसरी अघि बढ्छ,’ उनले भने, ‘घुस मागे गुहार्ने ठाउँ अख्तियार हो । यो नै शुद्ध छैन । राजनीतिक नियुक्ति छ भने न्याय कसरी पाइन्छ ?’

संवैधानिक आयोग र अंगमा राजनीतिक भागबन्डाका नियुक्तिले निष्पक्ष काम गर्न नसकिने उनको भनाइ थियो ।

अध्यक्ष लिङ्देनले द्वन्द्वकालीन न्यायको विषयमा बोल्दै जनयुद्धको समय सरकार पक्ष र विद्रोही पक्षमात्र नभई तेस्रो पक्ष (जनता) पनि रहेको तर्क राखे । ‘द्वन्द्वका पीडितलाई उपेक्षा गरेको देखिन्छ,’ उनले भने, ‘हामी तेस्रो पक्षका पीडितले न्याय पाउनुपर्छ भन्ने पक्षमा छौं । ज्यान, धन गुमाएका तेस्रो पक्षलाई सरकारले सम्बोधन गर्नुपर्छ ।’

केन्द्रमा सरकारबाट बाहिरिएको राप्रपा गण्डकी प्रदेशमा भने सरकारमै छ । अल्पमतमा परेको सरकारलाई साथ दिएको राप्रपाले प्रदेशमा पछिल्ला घटनाक्रमअनुसार पर्खको अवस्थामा रहेको अध्यक्ष लिङ्देनले बताए । उनले एमालेसँग सहकार्य नतोडिएकाले गण्डकीमा राप्रपा सरकारमा नै रहेको बताए । सरकारको नेतृत्व कांग्रेसले गरे राप्रपा सरकारमा जान्छ भन्ने संचारकर्मीको प्रश्नमा उनले मुद्दा र एजेन्डा मिलेमा मात्र राप्रपा सरकारमा सहभागी हुने बताएका थिए ।

पूर्वउप्रधानमन्त्री रहेका राप्रपाका अध्यक्ष लिङ्देनले आगामी वैशाख १० गते हुने उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा नआउने बताए । उनले अघिल्लो निर्वाचनमा आएको मतभन्दा यसपटक आउने मत संख्या बढ्ने भन्दै तीन वटा क्षेत्रको उपनिर्वाचनमा आफ्नो तर्फबाट उम्मेदवार भने उठाएको बताए ।

प्रकाशित : चैत्र २८, २०७९ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?