२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

ट्याटुमा हुरुक्कै

सुजाता मुखिया

काठमाडौँ — ट्याटु फेसन मात्र रहेन । यो युवा पुस्ताको आफ्नो अभिव्यक्तिको भाषा पनि हो । आफूलाई आधुनिक युगको प्रतिनिधि पुस्ता भन्नका लागि होस् वा कसैप्रतिको अव्यक्त माया देखाउन, उनीहरू ट्याटुको माध्यम अपनाउँछन् ।

ट्याटुमा हुरुक्कै

ट्याटु खोप्न त्यति सजिलो छैन । यो एक पीडा वा दुखाइको स्थिति पनि हो । छालाको सतहमा कुनै तिखो वस्तुले पटकपटक खोपिरहँदा कति दुख्छ ? यो कुरा त ट्याटु खोपाउनेलाई मात्र थाहा हुन्छ । तर, उनीहरू यस्तो दुखाइको परवाह गर्दैनन् । जति दुख्छ, चुपचाप सहन्छन् । किनभने ट्याटु भनेका उनीहरूको त्याग र समर्पणको भाषा पनि हो । ट्याटुमार्फत उनीहरू भनिरहेका हुन्छन्, ‘तिम्रा लागि म दुखाइहरू सहन तयार छु ।’

आफ्ना ममतामयी आमाका लागि होस् वा कोही प्रियजनका लागि, उनीहरू ट्याटुमार्फत त्याग र समर्पण व्यक्त गरिरहेका हुन्छन् । त्यसैले त युवा पुस्ताको शरीरमा खोपिएका हरेक ट्याटुको पछाडि कुनै न कुनै समर्पणको कथा लुकेको हुन्छ ।


ट्याटु खोपाउनेहरूको जमातमा अनेक पात्र भेटिन्छन् । कसैले देखासिकीमा त कसैले लहडमा ट्याटु खोपाएका छन् । कसैले बाध्यतावश त कसैले यसको अन्तर्य बुझेर ट्याटु खोपाएका छन् । आखिर जे भए पनि ट्याटुप्रतिको क्रेज बढ्दो छ । यसलाई थप बढावा दिएका छन्, विश्वस्तरका सेलेब्रिटीहरूले ।

विख्यात फुटबलरदेखि हलिउड स्टारसम्मले खोपाएको ट्याटुले पनि युवा पुस्तालाई लोभ्याएको छ । यसबाट अछुतो छैनन् नेपाली युवा पनि । ट्याटुप्रतिको यही क्रेजलाई उजागर गर्छ, बर्सेनि आयोजना हुने ट्याटु मेलाले । ‘अन्तर्राष्ट्रिय नेपाल ट्याटु कन्भेन्सन’ शीर्षकको यो मेला बितेको १३ वर्षदेखि आयोजना हुँदै आएको छ । कोभिडका कारण अघिल्लो वर्ष भने ट्याटु मेला लागेन । त्यसबाहेक हरेक वर्ष अन्तर्राष्ट्रिय ट्याटु मेलाले निरन्तरता पाएको छ ।


यसपालि पनि यो सिलसिला जारी रह्यो । गएको शुक्रबारबाट सुरु तीनदिने मेलामा विश्वभरका ट्याटु आर्टिस्ट सहभागी भए । अमेरिका, अस्ट्रेलिया, जर्मनी, स्पेन, थाइल्यान्ड, भारतजस्ता मुलुकबाट दुई सय आर्टिस्ट सहभागी भएको आयोजकका ओमप्रकाश गुरुङले बताए । ‘खासगरी हामीले आफ्नो देशको कलालाई उजागर गर्न ट्याटु कन्भेन्सन आयोजना गरेका हौं,’ उनले सुनाए, ‘यो हाम्रो संस्कृति पनि हो ।’ हामीकहाँ कतिपय समुदायले ट्याटु खोपाउने सदियौंदेखिको परम्परा पनि छ । थारू, नेवार, तामाङ आदि समुदायमा ट्याटु खोप्ने संस्कार नै छ । ट्याटु खोप्दा रोग, दुःख नहुने धार्मिक जनविश्वास पनि छ । यद्यपि अहिले यसले युवा पुस्तामा यसको बेग्लै आकर्षण छ ।


खासगरी आफ्ना अनमोल स्मृतिलाई सुरक्षित राख्न र शरीरलाई कलात्मक देखाउन पनि ट्याटु खोपाउने प्रवृत्ति बढ्दो छ । यसैको झल्को देखिन्थ्यो हालै सम्पन्न ट्याटु मेलामा । ललितपुरको हेरिटेज गार्डेनमा आयोजिक ट्याटु कन्भेन्सनमा ९० वटा बुथ राखिएको थियो, जहाँ आगन्तुकले आफ्नो इच्छाअनुरूप ट्याटु खोपाउन सक्थे । शरीरका विभिन्न अंगमा ट्याटु खोपाउन त्यहाा युवाहरूको घुइँचो लागेको थियो । ट्याटुमा रमाउन चाहने युवाहरूलाई लक्षित गरेर नेपाल ट्याटु प्राइभेट लिमिटेडले ट्याटु कन्भेन्सनको आयोजना गरेको हो ।

अनौठा कीर्तिमान

  • लकी डायमन्ड रिचले विश्वको अहिलेसम्मको सबैभन्दा बढी ट्याटु भएको व्यक्तिको नाममा रेकर्ड बनाएका छन् । गिनिज वर्ल्ड रेकर्डमा उनले ट्याटुका लागि सबैभन्दा बढी एक हजार घण्टा बिताएका छन् ।
  • म्याट गन नामक व्यक्तिले आफ्नो पूरै शरीरमा चेस बोर्ड (वर्गाकार) को ट्याटु बनाएका छन् । उनको शरीरमा कुल ८ सय ४८ वर्गाकार छन् । अद्वितीय सोखका कारण उनले विश्व कीर्तिमान बनाएका हुन् ।
  • छिमेकी मुलुक भारतका ७४ वर्षीय पुरुषले पूरै शरीरमा ३ सय ६६ देशको झन्डाको ट्याटु खोपाएर विश्व कीर्तिमान बनाएका छन् ।
  • अमेरिकी नागरिक माइकल अमोइयाले शरीरमा ८ सय किराहरूको ट्याटु बनाएर विश्व कीर्तिमान राखेका छन् । यसअघि ब्रिटिस नागरिक ब्याक्सटर मिसोलमले ४ सय २ वटा किरा अंकित ट्याटु बनाएका थिए । माइकले उनको रेकर्ड तोडेका हुन् ।
  • गोब्रिएला र भिक्टरको विवाहित जोडीले शरीरको ९८ वटा भागमा शारीरिक परिवर्तन गराएको विश्व कीर्तिमान छ । त्योसँगै यी जोडीले शरीरमा विभिन्न प्रकारको ट्याटु खोपाएका छन् ।
  • पेट वेलेनकोर्टले शरीरको विभिन्न भागमा १० हजारभन्दा बढी वेबसाइटका नाम खोपाएका छन् । इन्टरनेटप्रतिको प्रेम दर्शाउन ट्याटु खोपाउन थालेका उनको शरीर अहिले विभिन्न कम्पनीले विज्ञापन गर्ने माध्यम बनाएका छन् । त्यसबाट आएको रकम उनले सामाजिक कार्यमा लगाउने गर्छन् ।
  • सोसल मिडिया इन्टरटेनर फंकी मटासले ढाडमा विभिन्न हस्तीहरूको हस्ताक्षरको ट्याटु खोपाएका छन् । जसमा उनको परिवार, साथी, ट्याटु आर्टिस्टसँगै विल स्मिथ, जेरार्ड बटलरजस्ता विश्वप्रख्यात व्यक्तिका हस्ताक्षर छन् । उनी अधिकांश प्रसिद्ध कलाकारलाई हस्ताक्षरका लागि नै पछ्याउने गर्छन् । जसलाई पछि उनले ट्याटुले स्थायी रूप दिन्छन् ।

प्रकाशित : चैत्र २७, २०७९ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?