महराको दाबी- 'प्रचण्ड, देउवा र ओली त पात्र हुन्, सत्ता अरुले नै चलाउँछ'

'हुन त हाम्रै अध्यक्षको नेतृत्वमा सरकार छ, तर पनि हाम्रो बिडम्वना, जो प्रधानमन्त्री भए पनि हुने यही हो'
नारायण शर्मा

पूर्वी नवलपरासी — सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्ण बहादुर महराले नेपालको सत्ता नेपालीले नभएर 'अरु कसैले' संचालन गरिरहेको दाबी गरेका छन् ।

सभामुख र गृहमन्त्रीसमेत भइसकेका महराले शनिबार प्रेस सेन्टर पूर्वी नवलपरासीको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । नेता महराले भनेका छन्, 'देश अरु कसैले चलाइरहेको छ । प्रचण्ड, ओली र देउवा त पात्र हुन् ।'

तर महराले सत्ता चलाउने त्यो अदृश्य शक्तिबारे खुलेर चर्चा गरेका थिएनन् । 'हुन त हाम्रै अध्यक्षको नेतृत्वमा सरकार छ, तर पनि हाम्रो बिडम्वना यही हो, जो प्रधानमन्त्री भए पनि हुने यही हो,' महराले भने ।

यस क्रममा महराले वर्तमान सरकारले शान्ति प्रक्रियाका महत्त्वपूर्ण मुद्दा टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए । उनले लोकतन्त्र र संविधानमाथि अझै खतरा कायम रहेकाले यसको संरक्षणमा लाग्नुपर्ने बताए । 'अझै पनि प्रतिगामीहरु टाउको उठाउन खोज्दैछन्, यसलाई निस्तेज गर्नुपर्छ,' महराले भने ।

प्रकाशित : चैत्र १८, २०७९ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्

मिटरब्याजपीडितको समस्यामा सरकार संवेदनहीन : एमाले

कान्तिपुर संवाददाता

काठमाडौँ — लामो समयदेखि मिटरब्याज पीडितले आफ्ना समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदा पनि ठोस कदम नचाल्नु सरकारको संवेदनाहिनता भएको नेकपा एमालेले टिप्पणी गरेको छ । 

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त समस्या समाधानका लागि ठोस, सार्थक र शीघ्र पहल गर्न सरकारको ध्यानाकर्षण गराउनेसमेत निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

'मिटरब्याजकै पासोमा परेर कतिपय व्यक्तिहरुले घरजग्गा गुमाउनु परेको, कतिपयले मुद्दामामिला बेहोर्नु परेको, कतिपय जेलमा परेको, कतिपयले घर छाड्न बाध्य हुनु परेको र कतिपय बालबालिकाहरुले पढाईसमेत गुमाउनु परेको यथार्थले लामो समयदेखि पीडितहरुले यस विषयमा गम्भीर ध्यानाकर्षण गर्दा पनि समस्या समाधानका लागि तत्काल ठोस कदम नचाल्नु सरकारको संवेदनाहिनताको परिचायक हो,' उनले भने, 'हाम्रो पार्टी यस समस्या समाधानका लागि ठोस, सार्थक र शीघ्र पहल गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।'

एमालेले कानुनविपरीत मिटरब्याज असुल गर्ने विषयलाई वित्तीय अपराध ठहर्‍याउने गरी कानुनी व्यवस्था गर्न माग गरेको छ । ‘मुलुकको प्रचलित कानुन र वित्तीय प्रणालीको मान्यताविपरीत सर्वसाधारणलाई अप्ठ्यारोमा पारेर मिटरब्याज असुल गर्नु गैरकानुनी हो । यस सन्दर्भमा सार्वजनिक भएका कतिपय घटनाहरु अमानवीयसमेत छन् । प्रचलित कानुनविपरीत मिटरब्याज असुल गर्ने विषयलाई वित्तीय अपराध ठहर्‍याउने गरी कानुनी व्यवस्था गर्न माग गर्दछ,' प्रचार विभाग प्रमुख गुरुङले सुनाए ।

एमालेले मौद्रिक तरलताको संकट समाधानका लागि ठोस पहल गर्न, बैंक, वित्तीय संस्था र लघुवित्तहरुको ब्याजदर घटाउन, त्यसलाई वाञ्छित सीमाभित्र राख्न र व्यवसायीहरुको समस्या समाधान गर्न पनि सरकारसँग माग गरेको छ ।

बैठकले अप्रिल २२ नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसबाट लागू हुने गरी पार्टीको वार्षिक कार्यक्रम बनाउने निर्णय गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पार्टीका सचिवालय सदस्य र स्थायी कमिटीका सदस्यहरुलाई निर्देशन समेत दिएको उनले जनाए ।

प्रकाशित : चैत्र १८, २०७९ १७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×