भगवानपुर गाउँपालिका अध्यक्ष यादवविरुद्ध छुवाछुतसम्बन्धी उजुरी

भरत जर्घामगर

सिरहा — सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले आफ्नी दिवंगत आमाको १३ औं दिनको तिथिमा जातीय छुवाछुत गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा मंगलबार उजुरी दर्ता भएको छ ।

गाउँपालिका अध्यक्ष यादवले आफ्नी दिवंगत आमा रामसती यादवकोृ फागुन २२ गते सोमबार १३ औं दिनको पुन्यतिथिमा भोजको आयोजना गरेका थिए । सोही भोजमा जातीय छुवाछुतसम्बन्धी कसुर गरेको भन्दै सिरहा गोलबजार नगरपालिका–४ का शिव कुमार मोचीसहित ११ जनाले संयुक्त रुपमा चैत ५ गते जिल्ला प्रहरी कार्यालय सिरहामा गाउँपालिका अध्यक्ष यादवविरुद्ध उजुरी दिएका थिए ।

सोही उजुरीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले मंगलबार दर्ता गरेको हो । जाहेरीमा जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ को उपदफा १ को (क), (ख) र (ग) र सोही ऐनको दफा २ बमोजिम आरोपीलाई पक्राउ गरी हदैसम्म सजाय गर्न र क्षतिपूर्ति भराउन माग गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जातीय भेदभाव छुवाछुत सम्बन्धी कसुरमा जाहेरी दर्ता गरिएको जानकारी दिए ।

भगावानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले आफ्नी दिवंगत आमाको १३ औं दिनको पुन्यतिथि फागुन २२ गते सोमबार गरेको भोजमा जात र समुदायअनुसार फरक–फरक ठाउँमा बसेर खाने प्रबन्ध गरेको र प्लेकार्ड नै टाँसेर गैरदलित, मुस्लिम र दलित निम्तालुलाई खाने ठाउँ छुट्टयाएर भोज खुवाएको आरोप छ ।

एमाले सिरहाका सचिवसमेत रहेका अध्यक्ष यादवले इनर्वा परौलस्थित आफ्नो घर अगाडिको सडकदेखि उत्तरपट्टिको खाली खेतमा गैरदलित, दक्षिणपट्टि दलित र पूर्वपट्टि मुस्लिम समुदायलाई राखेर भोज खुवाएर जातीय भेदभाव र छुवाछुत गरेको आरोप लागेको थियो । भोजका निम्तालुलाई ‘यादव समुदाय’, गिरी समुदाय, बंगाली, राजपुत, मुस्लिम, सुडी, पासवान, राम, खत्वे खंग, सदाय, विश्वकर्मा, दास अमात समुदाय लगायत प्लेकार्ड नै राखेर बस्ने ठाउँको व्यवस्था गरिएको उनीमाथि आरोप छ ।

भोजमा बोलाएर जातीय भेदभाव गरेको आरोप लागेपछि भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले आत्मालोचना गर्दै सार्वजनिक रुपमा माफी मागेका थिए । राष्ट्रिय दलित आयोग, राष्ट्रिय दलित नेटवर्कलगायत विभिन्न जातीय संघसंस्था, अधिकारकर्मी लगायतको चौतर्फी विरोध, आलोचना र कारबाहीको मागपछि उनले फागुन २६ गते शुक्रबार पत्रकार सम्मेलन गरी माफी मागेका थिए ।

जिम्मेवार राजनीतिक दलको कार्यकर्ता तथा निर्वाचित जनप्रतिनिधिका रुपमा नेपालको संविधानमा व्यवस्था गरिएको सम्मानपूर्वक बाँच्न पाउने हक, छुवाछुत तथा भेदभावविरुद्धको हकसहित दलित समुदायको सम्पूर्ण हकप्रति आफू पूर्ण जानकार हुँदाहुँदै भोज व्यवस्थापन गर्ने व्यक्तिबाट जातीय छुवाछुत हुने गरी भएको कामले आफू स्तब्ध भएको विज्ञप्तिमा उल्लेख गरेका थिए । गाउँपालिका अध्यक्षसँगै राजनीतिक दलको जिम्मेवार कार्यकर्ताको हैसियतमा संविधान, प्रचलित ऐन–कानुन, मानव अधिकार एवं जातीय विभेदविरुद्धका अन्तर्राष्ट्रिय महासन्धि, मूल्य–मान्यताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उनको जिकिर थियो ।

मृत्यु संस्कारको भोजमा जातीय क्लस्टरअनुसार प्लेकार्ड र ब्यानर राखेर जातीय छुवाछुत गरिएको घटनामा संलग्नलाई कारबाही गर्न चौतफी दबाब परेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले फागुन २९ गते सोमबार तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

एमालेका सिरहा जिल्ला सचिवसमेत रहेका भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवकी दिवंगत आमाको १३ औं पूण्यतिथि २२ फागुनमा आयोजित भोजमा जातीय छुवाछुत गरिएको घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि रहेको छानबिन समिति गठन गरेको थियो ।

जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ ले जातीय विभेद तथा छुवाछुतजन्य कार्य आफैं गर्ने तथा अरुमार्फत गराउने कुरालाई मात्र निषेध गरेको छैन, भेदभाव तथा छुवाछुतजन्य निषेधित कार्यलाई समर्थन गर्ने, दुरुत्साहन गर्ने वा उकास्ने कार्यलाई समेत वर्जित गरी दण्डनीय बनाएको छ ।

सार्वजनिक तथा निजी दुवै स्थलमा जातीय भेदभाव वा छुवाछुतजन्य कार्य गरेको अवस्थामा ऐनअन्तर्गत फौजदारी दण्डको भागीदार बन्नुपर्ने व्यवस्था छ । ऐनको दफा ४ को उपदफा २ (ख) मा व्यक्तिगत वा सामूहिक रुपमा सार्वजनिक स्थान वा समारोहमा कुनै प्रकारको भेदभाव गर्न नहुने उल्लेख छ । भेदभाव गरेमा तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रकाशित : चैत्र १४, २०७९ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्

हातले टेकेर भर्‍याङका खुड्किला ओर्लिँदै विश्व रेकर्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाका हरिचन्द्र गिरीले सबैभन्दा छोटो समयमा हातले टेकेर भर्‍याङका खुड्किला ओर्लिने प्रतिस्पर्धामा विश्व रेकर्ड कायम गरेका छन् ।

‘सबैभन्दा छोटो समयमा भर्‍याङका खुड्किला हातले टेकेर ओर्लिने’ शीर्षकमा गिरीले गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम दाबी गरेका हुन् ।

केही सातापछि उनले गिनिज वर्ल्ड रेकर्डबाट आधिकारिक रुपमा सर्टिफिकेट हात पार्नेछन् । गिरीले २५.०३ सेकेन्डमा भर्‍याङका ७७ खुड्किला हातले टेकेर ओर्लिँदै गिनिज वर्ल्ड रेकर्डमा दाबी गरेका हुन् । यसअघि अमेरिकन नागरिक मार्क केन्नीले ३०.८ सेकेन्डमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए । केन्नीको रेकर्ड तोड्दै नेपाल आर्मीमा कार्यरत दाङका गिरीले २५.०३ सेकेन्डमै नयाँ विश्व रेकर्ड राख्न सफल भएका हुन् ।

हालै बुढानीलकण्ठको जाम्चेन विजय स्तुपामा भर्‍याङका ७७ खुड्किला हातले टेक्दै २५.०३ सेकेन्डमै ओर्लिएर गिरीले विश्व रेकर्ड राखेका हुन् ।

गिरीको यो कौशल मन पराएर नेपाली सेनाका उपरथी सन्तोष कुमार ढकाल र महासेनानी अच्युतम भन्डारीले उनलाई नेपाल आर्मीको खेलकुद केन्द्रमा ल्याएका थिए । यसले गर्दा आफ्नो खेल कला विकासका लागि एकदमै सहजता मिलेको गिरीले बताए । यसअघि गिरीले तीन वटा शीर्षकमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाइसकेका छन् ।

प्रकाशित : चैत्र १४, २०७९ १९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×