१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

'वैशाख दोस्रो हप्ता फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउने त हैन !'

काठमाडौँ — एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी वैशाख दोस्रो हप्ता प्रधानमन्त्री दाहालले फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउने त होइन भन्ने आशंका उत्पन्न भएको बताएका छन् । त्यस्तो आशंका उत्पन्न भएकोलाई अस्वाभाविक भन्न पनि नसकिने बताए । 

'वैशाख दोस्रो हप्ता फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउने त हैन !'

प्रतनिधिसभामा प्रधानमन्त्री दाहालले सोमबार राखेको विस्वासको मतका लागि राखेको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै नेपालले गठबन्धनले मुलुलाई राजनीतिक स्थिरता दिनुपर्ने बताए । 'वैशाखको अर्को हप्तामा फेरि विश्वासको मत लिनुपर्ने अवस्था त आउँदैन ? यो आशंका गर्नु अस्वाभाविक ठान्दिनँ,' उनले भने, 'तर त्यो अवस्था आउँदैन भन्ने कुराको मलाई विश्वास छ । अब यो गठबन्धन आउने पाँच वर्षसम्म टिक्छ, देशलाई राजनीतिक स्थायित्व दिन्छ ।' वर्तमान सत्तारुढ गठबन्धनले मुलुकका सामू देखा परेका चुनौतीको सामना गर्न एकताबद्ध हुने बताए ।

प्रधानमन्त्री दाहाल तीन महिनाभित्रै दोस्रोपटक विश्वासको मतका लागि संसद्मा आउने कुराको आकलन सरकार गठनसँगै भएको नेपालले बताए । उनले भने, 'यो परिवेश उत्पन्न हुने कुराको त सम्भवतः पहिलो, दोस्रो दिनमा नै आकलन गरिएको थियो । यो अवस्था आउँछ भन्ने कुराको आकलन गरिएको थियो । किनभने राजनीतिको नाडी हामी पनि छाम्दै हिँडिरहेका छौं, छामेर नै यहाँसम्म आइपुगेका छौं ।'

राजनीतिक दलहरूले गठबन्धन भत्किनुका पछाडिका कारणबारे समीक्षा गर्न पनि नेपालले सुझाव दिएका छन् । उनले अरुलाई दोषारोपण गर्नुभन्दा पहिले किन कसैले आफूसँग सहकार्य गरिरहेको छैन र कसैसँग गरेका सहकार्य पनि टिकाउ भइरहेका छैनन् भन्नेबारे सोच्न आग्रह गरे । 'आफूमा के कमीकमजोरी रहेको भन्ने खोजी छैन, सुधार्ने होइन । अरुलाई दोषारोपण गर्ने कुरामा केन्द्रित रहने गरेको छ । यो प्रवृतिलाई कायम राख्ने हो भने राजनीति कहिले पनि सही दिशामा जान सक्दैन । किन अरुसँग सहकार्य हुन सकिरहेको छैन ? किन सहकार्य टिकाउ भइरहेको छैन ? यो टिकाउ हुनुको दोषी अरु हुन् कि आफै दोषी हौं ? यो सन्दर्भमा सबै दल नेताहरूको ध्यानाकर्षण गर्न चाहन्छु,' उनले भने ।

दाहाल प्रधानमन्त्री बन्ने बेला बनेको एमाले र माओवादी लगायत दलहरूको गठबन्धन किन टिकेन भन्ने कुराको अध्ययन हुनुपर्ने भन्दै नेपालले व्यंग पनि गरेका छन् । एमालेलाई सत्तारुढ गठबन्धनबाट निकालिएको हो कि निक्लिन बाध्य पारिएको हो भन्ने कुराको अनुसन्धान हुनुपर्ने उनको भनाइ थियो । 'गठबन्धनको प्रमुख घटकलाई घोक्र्याएर निकालियो भन्ने अभिव्यक्ति पनि सुनियो । घोक्र्याएरै निकाल्ने काम किन गरियो ? त्यसको जवाफ हामी पक्कै पनि थाहा पाउनेछौं । घोक्र्याएरै निकालियो भन्ने पनि सुनेँ, अर्कोतर्फ आफैं निस्किनुपर्ने अवस्था बन्यो भन्ने पनि सुने । म आफै अलमलमा परेँ,' उनले भने, 'त्यसपछि मैले सोचे हाम्रो देशको कुनै विश्वविद्यालयमा विद्यावारिधी गर्ने विद्यार्थीलाई खोज र अनुसन्धान गर्ने जिम्मा दिनुपर्छ कि ! के कति कारणले गर्दाखेरि त्यतिखेर कायम भएको गठबन्धन टुट्यो ? के कारणले गर्दा नयाँ गठबन्धन निर्माणको अवस्थामा पुग्यो ? यसका पछाडि के-के कारणले काम गरेको छ ? यो खोज र अनुसन्धानको विषय त बन्छ ।'

नेपालले अरुलाई दोष दिनुभन्दा पहिले आत्मसमीक्षा गर्नका लागि नेताहरूलाई सुझाव दिएका छन् । यससँगै अध्यक्ष नेपालले प्रधानमन्त्री दाहाललाई आफ्नो दलले विश्वासको मत दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित : चैत्र ६, २०७९ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?