कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झुक्याएर जग्गा पास, दलित परिवारको उठीबास

डेढ करोडभन्दा बढी पर्ने घरजग्गा दुई लाखमा पास
ऋण सापटी भनेर दिएको १० लाख तिरेपछि राजीनामा पास भइसकेको जग्गा स्वतः फिर्ता हुने सम्झौतापत्र
दिनेश रेग्मी

धादिङबेंसी — घरजग्गा कारोबारीले पति वियोगमा परेकी एक महिलालाई झुक्याएर उनको ५ रोपनीभन्दा बढीको घरजग्गा आफ्नो नाममा गराएका छन् । ती कारोबारीले साढे तीन वर्षअघि झुक्याएर राजीनामा पास गराएको घरजग्गा फिर्ता लिन उनले अझै सकेकी छैनन् । उनी छोराछोरीलाई दुःखजिलो गरेर हुर्काइरहेकी छन् ।

झुक्याएर जग्गा पास, दलित परिवारको उठीबास

धादिङको नीलकण्ठ नगरपालिका–८, मुरलीभन्ज्याङकी ३४ वर्षीया गीता विकको जग्गा उनकै जेठाजु जगबहादुर विकको सम्पर्कबाट आएका काठमाडौं र पर्वतका दुई कारोबारीले न्यून मूल्यमा पास गरेका हुन् । उक्त जग्गा सदरमुकाम धादिङबेंसीबाट ७ किमि उत्तर मुरलीभन्ज्याङस्थित मूल सडक छेवैमा छ ।

काठमाडौंको चन्द्रागिरि–४ थानकोटका दिनेश गोपाली र पर्वत घर भई हाल चन्द्रागिरि–११ सतुंगल बस्ने राजकुमारी राना गुरुङले गीताको ५ रोपनी ४ आना जग्गा संयुक्त रूपमा आफ्नो नाममा पास गरेका हुन् । वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत पति सीतारामको मृत्युको चार महिनापछि जग्गा कारोबारीहरू गीताको सम्पर्कमा पुगेर जग्गा पास गरेका थिए । साढे चार वर्षदेखि मलेसियामा कार्यरत सीतारामको ०७५ चैत २० मा मृत्यु भएको थियो ।

जग्गा कारोबारीले गीतालाई तत्काल सापटीस्वरूप दुई लाख रुपैयाँ दिएर सहुलियत ऋण र कृषि तथा पशुपक्षी अनुदान उपलब्ध गराइदिने आश्वासन दिँदै २०७६ भदौ १ मा मालपोत कार्यालय धादिङबाट जग्गा पास गरेका हुन् । मालपोत कार्यालयको तथ्यांकअनुसार गीताको मुरलीभन्ज्याङस्थित कित्ता नम्बर ६१२ को २ रोपनी ११ आना र कित्ता नम्बर ६१४ को २ रोपनी ९ आना जग्गा गोपाली र गुरुङले ६२ लाख ७५ हजार रुपैयाँ थैली राखेर संयुक्त रूपमा पास गरेका थिए ।

‘बाटो फराकिलो हुँदा एउटा कित्ताले मोटर बाटो भेट्छ, यसको मूल्य आनाकै साढे दुई लाखभन्दा बढी छ, बाटोले नछोएको जग्गाको आनाको एक लाख पर्छ,’ गीताले भनिन्, ‘मलाई जग्गा रोक्का मात्र गर्ने हो भनेका थिए तर राजीनामा पास गरेछन् ।’ १० लाखको कागज बनाएर आफूलाई २ लाख मात्र दिएको र अरू चेक काटेर दिन्छौं भनेको उनले सुनाइन् । उनको आंकलनअनुसार उक्त जग्गाको मूल्य डेढ करोडभन्दा बढी पर्छ ।

उनीहरूले ६२ लाख ७५ हजार रुपैयाँ थैली राखेर ०७६ भदौ १ मा जग्गा पास गर्दा गीतालाई ऋण सापटी १० लाख रुपैयाँ दिएको कागज बनाएका थिए । उनीहरूले नेपाली कागजमा बनाएको ‘सम्झौतापत्र’ मा उक्त ऋण पाँच वर्षभित्र नतिरे जग्गा आफ्नो हुने उल्लेख छ । ‘रजिस्ट्रेसन पास गर्दा रु.६२,७५,००० (बैसट्ठी लाख पचहत्तर हजारमात्र) राखी पास गरेको भए तापनि खुद मूल्य रु. १०,००,००० हामी प्रथम पक्ष (दिनेश गोपाली र राजकुमारी राना गुरुङ) हरूले दोस्रो पक्ष (गीता विक) लाई ५ वर्षका लागि ऋण सापटी दिएको र सो सापटीबापत उक्त जग्गा हामी प्रथम पक्षहरूले रा.पा. पारित गरिलिएको’ सम्झौतापत्रमा उल्लेख छ । सम्झौतापत्रको साक्षीमा धादिङको नीलकण्ठ–७ बस्ने कृष्ण खाती, नुवाकोटको विदुर–१२ बस्ने रामकाजी सुनार र लेखकमा मोहन रोक्का छन् । त्यसको भोलिपल्ट (२०७६ भदौ २) त्यही कागजको पछाडिपट्टि ‘नगद लिएको रकम २,००,००० र रजिस्ट्रेसन दस्तुरचाहिँ उल्लेख नगरेको’ भनेर लेखिएको छ । त्यसमा कसैको ल्याप्चे र हस्ताक्षर छैन ।

कसरी झुक्याए गीतालाई ?

घरव्यवहार चलाउन गाह्रो भएपछि एक महिनाकी सुत्केरी गीता, नवजात छोरा र ५ वर्षकी छोरी छाडेर सीताराम ०७१ कात्तिक सुरुमा मलेसिया हान्निएका थिए । दुई लाख रुपैयाँ खर्चेर मलेसियामा गएका उनी साढे ४ वर्षसम्म घर नफर्की काम गरिरहेका थिए । त्यहीबीच बिरामी परेर उनको मृत्यु भयो ।

मलेसियाबाट पतिले पटक–पटक गरी ७ लाख रुपैयाँ जति घर पठाएको गीताले सुनाइन् । ‘पुरानो घर भुइँचालोले भत्काएपछि नयाँ बनाएँ,’ उनले भनिन्, ‘घर बनाउँदा ५ लाख ९५ हजार रुपैयाँ खर्च भएको थियो ।’

पतिको मृत्युसँगै गीताका दुःखका दिन सुरु भए । मलेसियाबाट पैसा आउन बन्द भएपछि उनलाई घरव्यवहार धान्न हम्मे पर्न थाल्यो । श्रीमान् बित्दा छोरी ९ वर्ष र छोरा साढे ४ वर्षका थिए ।

घर बनाउँदा लागेको ऋण तिर्न बाँकी नै थियो । बिरामी छोराको नियमित जाँच, औषधि, घर खर्च र छोराछोरीको पढाइले ऋण बढ्दै गयो । त्यही समस्याका बीच गीताका जेठाजु जगबहादुर विकले दिनेश गोपालीसँग भेट गराए । ‘श्रीमान् बित्नुभयो, ४/५ लाख ऋण थियो, केही सोच्न सक्ने बेला थिएन,’ गीताले भनिन्, ‘जेठाजुले ल्याएर चिनाउनुभएको हो । उसले (दिनेश गोपालीले) ४/५ प्रतिशत ब्याजमा ऋण दिन्छु, एकल महिला अनुदान पार्दिन्छु भन्यो र मैले कागज गरिदिएँ ।’

गोपालीले जग्गा दृष्टिबन्धक राखी रोक्का गर्ने हो भनेकोले उनको विश्वासमा परेको गीताले बताइन् । ‘मालपोत कर्मचारीले पैसा लेनदेन भइसक्यो ? भनेर सोध्दा भइसक्यो भन्नु भनेका थिए, मैले त्यही भनें,’ उनले सुनाइन्, ‘आपत् परेका बेला सहयोग गर्न आएका हुन् भन्ने भयो, यसरी जग्गा लैजालान् भन्ने थाहै भएन ।’


गीताका जेठाजु जगबहादुरले जग्गाधनीसँग आफूले सम्पर्क गराएको र ऋण लिएको रकम तिरेमा उनीहरूले जग्गा फिर्ता गरिदिने दाबी गरेका छन् । उनले गोपाली, गुरुङ र एलिसा भन्ने चन्द्रकुमारी श्रेष्ठ मिलेर आफूसहितलाई ऋण दिई जग्गा दृष्टिबन्धक गरेको बताए । ‘दिनेश गोपालीले तिमीहरूले खाएको मेरो पैसा लेऊ, तिमीहरूको जग्गा लैजाऊ भनेको छ,’ जगबहादुरले भने, ‘न उसले काम गर्न सकेको छ, न हामीले काम गर्न सकेका छौं ।’ राजीनामा पास भएको जग्गा सजिलै फिर्ता हुन्छ भन्ने कान्तिपुरको जिज्ञासामा जगबहादुरले फिर्ता हुने दाबी गरे । ‘जग्गा पास गरेर लिए पनि हामीसँग फिर्ता कागज छ नि,’ उनले भने, ‘त्यसैबाट फिर्ता हुन्छ ।’

गीताले भने घरजग्गा कारोबारी गोपालीलाई सम्पर्क गर्दा साँवा, ब्याज र राजस्व जम्मा गरेर राख्न भनेको तर उनी लिन नआएको बताइन् । ‘पहिला जुन बेला भन्यो त्यही बेला पैसा दिए जग्गा फिर्ता गरी दिन्छु भन्यो, पुर्जा फिर्ता गर्ने भनेर तीनपटक ऋण लिइसकें तर ऊ (गोपाली) एक पटक पनि लिन आएन,’ उनले भनिन्, ‘उसले नलगेपछि त्यो पैसा अरूलाई सापटी दिएँ । मैले महिनाकै ५० हजार रुपैयाँ किस्ता तिर्नुपर्छ ।’

कुखुरा, बाख्रा र भैंसीपालन तथा मासु पसल चलाउँदै आएकी गीताले यो व्यवसायलाई पनि घटाएकी छन् । अहिले उनी त्यही घरजग्गामा बस्दै आएकी छन् । ‘३ वर्ष कुखुरा पालें, चारतिर हिँड्नुपर्ने हुनाले हटाएँ, मासु पसल पनि छाडें, दुईवटा भैंसी बेचेर एउटा मात्र पालेकी छु,’ उनले भनिन्, ‘ऋणमाथि ऋण थपिएर १४/१५ लाख पुगिसक्यो, हातमा पुर्जा आए जसोतसो गरेर तिर्छु भन्ने छ, नभए छोराछोरी जिम्मा लगाएर विदेश जान्छु ।’


आमा जुरेली छोरीका पीडा सुन्दै गर्दा रोइन् । ‘जग्गा मिले त टुक्रो बेचेर पनि ऋण तिर्न हुन्थ्यो,’ उनले भनिन्, ‘बाबु पनि छैन, आमा पनि विदेश गए छोराछोरीको के हालत होला ?’

एकअर्काप्रति आरोपमा कारोबारीहरू

गीतासहितकाको घरजग्गा कारोबारबारे सम्पर्क गर्दा गुरुङले गोपाली, चन्द्रकुमारी श्रेष्ठ र जगबहादुर मिलेर आफूलाई फसाएको दाबी गरिन् । उनले जग्गाधनीहरूलाई आफूले पास गर्ने दिनमात्र देखेको, सबै कारोबार गोपाली र जगबहादुरले मिलाएकाले आफू किन्ने दिनमात्र धादिङ पुगेको सुनाइन् । ‘मालपोत अधिकृतले लेनदेन भयो भन्नुभयो, मैले भयो भनें तर बीचमा त्यस्तो कागज बनाएका रहेछन्, मलाई थाहै भएन,’ उनले कान्तिपुरलाई भनिन्, ‘गोपालीले जग्गाधनीलाई एकमुष्ट पैसा दिएको होला भन्ने मलाई लाग्यो तर दिएकै रहेनछ ।’

गुरुङले आधा–आधा रकम हालेर जग्गा किन्ने भने पनि गोपालीले नहाली आफ्नोमात्र लगानी परेको दाबी गर्दै आफूलाई लेनदेनमा फसाएकाले बैंकिङ कसुरमा उजुरी दिएको बताइन् । ‘दिनेश गोपाली र चन्द्रकुमारीलाई चेक बाउन्समा मुद्दा हालेकी छु,’ गुरुङले भनिन् । उनले संयुक्त रूपमा किनेको घर जग्गामा आफ्नो कति लगानी परेको छ भनेर खुलाउन चाहिनन् ।

यता, कारोबारी गोपालीले भने गुरुङ र चन्द्रकुमारीसँग मिलेरै सहमतिमा ६ जनाको जग्गा किनेको हो भन्दै गीतालाई भने २ लाख रुपैयाँ दिएर १० लाखको कागज बनाएको स्वीकारे । उनले गीतालगायतको घरजग्गा लिलामीमा गएकाले आफूहरूले ऋण दिएर जोगाएको दाबी गरे । उनले आफ्नो पैसा दिए जग्गा फिर्ता गरिदिने सुनाए । ‘उहाँहरू सबैको जग्गा बैंकमा थियो, लिलाममा गएकोले हामीले पास गरेर लिएका हौं, पैसा दिए फिर्ता दिन्छौं,’ गोपालीले भने, ‘उहाँहरूसँग कागज छ, त्यसबाट फिर्ता गर्न मिल्छ । जहाँसुकै चलेको यही त हो नि ।’

व्यावहारिक रुपमा जग्गा रोक्का

कारोबारीले झुक्याएर पास गरेको जग्गा हाल मालपोत कार्यालयले रोक्का गरेको छ । पीडामा परेकी गीताको समस्या छिमेकी वडाकी पूर्ववडासदस्य कविता विकले जिल्ला प्रशासन कार्यालयअगाडि रहेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) मा जानकारी गराएकी थिइन् । ‘हामीले मनोसामाजिक परामर्शको लागि गीताको घरमा कर्मचारी पठायौं, त्यसपछि उहाँको जग्गा बिक्री भएको थाहा भयो र रोक्का गर्न पहल गर्‍यौं,’ सामीका संयोजक दिनेश दुवाडीले भने ।


मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले गीतासँगको चौथो पटकको भेटमा समस्याहरू बुझ्दै जाँदा घरजग्गा अरूले लगिसकेको पीडा भोगेको पनि थाहा पाएको बताए । ‘त्यसपछि गीतालाई लिएर हामी सीडीओ कार्यालय गयौं र झुक्काएर अरूले नै किनेको गीताको घरजग्गा रोकिदिन आग्रह गर्‍यौं,’ थापाले भने, ‘सीडीओले मालपोत प्रमुखलाई खबर गरेर रोक्न लगाउनुभयो, यति कामले पनि अहिलेसम्म बेच्नबाट जोगिएको छ ।’ मालपोत कार्यालय धादिङका अधिकृत मोतीराम थपलियाले कानुनी रूपमा नभएर व्यवहारिकता हेरी मालपोतले रोक्का गरेको बताए । ‘पैसा लेनदेन गर्दा दृष्टिबन्धक भन्ने तर जग्गा रजिस्ट्रेसन पास गरेर लिने दिने गरेको देखियो,’ उनले भने, ‘हामीले व्यावहारिक रूपमा मात्र रोकिदिएका छौं ।’

थपलियाले जग्गा खरिद–बिक्री गर्न आउनेसँग पैसा लेनदेन भए/नभएको बारे सोध्ने गरे पनि कसैले सही नबताउने बताए । ‘हामीले पैसा लिएको हो कि होइन ? भनेर सोध्दा लिएको हो भन्छन्,’ उनले भने, ‘लिएको छैन जस्तो पनि लाग्छ तर लिएँ भनेपछि हामीले रोक्न मिलेन ।’ गोपाली र गुरुङले संयुक्त रूपमा किनेको गीताको जग्गाको मालपोत कार्यालयको एउटा ढड्डाको टुप्पामा सानो कागजमा सूचना लेखेर राखिएको छ । ‘यो जग्गा बिक्री तथा बैंकिङ प्रयोजनका लागि कसैले प्रयोग/बिक्री/बन्धकी राख्न खोजेमा यो... नम्बरमा सम्पर्क गर्नुहोला, धन्यवाद’ भनेर त्यो सूचनामा गीताको नम्बर उल्लेख छ ।

प्रकाशित : फाल्गुन २१, २०७९ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?