कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जहाँ खोला तर्न शूल्क तिर्नुपर्छ

पर्वत पाेर्तेल

झापा — झापाका धेरैजसो खोला तर्न स्थानीयहरूले शूल्क तिर्नुपर्छ । खासगरी दक्षिणी झापाका सर्वसाधारण बाँसको फड्के तर्न र डुंगा चढ्न शूल्क तिर्न बाध्य छन् ।

जहाँ खोला तर्न शूल्क तिर्नुपर्छ

देशकै होचो भूभागको रुपमा चिनिएको कचनकवल ५ का सर्वसाधारण शूल्क तिरेको डुंगा चढेर वारपार गर्छन् ।

कचनकवल गाउँपालिकाले बर्खायाममा ‘घाटलौरी’ शीर्षकमा वर्षेनि ठेक्का लगाउँछ । ठेक्का पाउनेले बर्खामा डुंगा र हिउँदमा बाँसका फड्के चलाउँछन्। डुंगा तरेवापत मोटरसाइकलसहित भारु ५०, साइकलसहित भारु २० र पैदलयात्रीको भारु १० रुपैयाँ असुल्ने गरिएको स्थानीय इन्द्र गणेशले जानकारी दिए । गणेश भन्छन्, ‘डुंगा चढेको पैसा धेरै भयो भन्ने जनगुनासो छ ।’

करिब ६ वर्षअघि कचनकवल ५ पाठामारीमा झोलुंगे पुल शिलान्यास भयो । तर, अहिलेसम्म बनेको छैन । पुल नहुँदा स्थानीय शूल्क तिरेर मेची तर्न बाध्य भएका हुन् । ‘पुल भइदिएको भए यो सास्ती भोग्नु पर्ने थिएन होला’, स्थानीय मोहम्मद अव्दुल्लाहले भने ।

मेची तरेर भारत जान मात्रै हैन, रतुवा तरेर मोरङ छिर्न पनि सर्वसाधारणले सास्ती पाएकै छन् । ठेकेदारले निर्धारित समयमा पुल निर्माण नगर्ने बेथितिको मारमा सर्वसाधारण परेका छन् । हुलाकी राजमार्गमा पर्ने रतुवा खोलाको पुल डेढ दशकयता बेवारिसे छ । यो पुल रतुवावारिको गौरीगञ्ज र पारिको मोरङ, आमबारीवासीका लागि असाध्यै महत्त्वको छ । उनीहरुले धेरै वर्षदेखि मागिरहेको पुल अझै अलपत्र छ ।

यहाँ पनि हिउँदमा बाँसको फड्के बन्छ । वर्षायाममा डुंगा चल्छ । फड्के र डुंगा तरेरवापत स्थानीयले शूल्क तिर्छन् । स्थानीय बच्चुलाल सिंहले विगत १५ वर्षदेखि स्थानीयले बर्सेनि सास्ती पाउँदै गरेको बताए । ‘फड्के र डुंगा तर्दा पनि हामीले पैसा तिर्नुपर्ने भनेको दुःखद् हो’, उनले गुनासो पोखे,‘कम्तीमा पुल नबनुन्जेल स्थानीय सरकारले फड्के र डुंगा निःशुल्क तर्ने व्यवस्था गर्नुपर्ने हैन र ?’

प्रकाशित : फाल्गुन १९, २०७९ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?