कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना महामारीपछि आयुर्वेदप्रति संसारको आकर्षण बढेको छ : राष्ट्रपति भण्डारी

दुर्गालाल केसी

दाङ — राष्ट्रपति विद्यादेवी भण्डारीले आयुर्वेद पूर्वीय सभ्यताको मात्र नभई संसारकै साझा सम्पत्ति बनिसकेको बताएकी छन् । बुधबार दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद क्याम्पस एवं शिक्षण अस्पताल उद्घाटन गरेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारीपछि आयुर्वेदप्रति संसारको आकर्षण बढिरहेको बताइन् ।

कोरोना महामारीपछि आयुर्वेदप्रति संसारको आकर्षण बढेको छ : राष्ट्रपति भण्डारी

आयुर्वेद र प्राकृतिक चिकित्सा मौलिक उपचार पद्धति रहेको भन्दै उनले नेपालमा आदिवासी जनजातीहरूमा आयुर्वेद र प्राकृतिक चिकित्साका विज्ञहरूले परम्परादेखि काम गर्दै आएको बताएकी थिइन् ।

मानव सभ्यतादेखि सिर्जना हुँदै आएको ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न यस शिक्षण भवनले महत्वपूर्ण योगदान गर्ने पनि उनको भनाइ थियो । साथै उक्त भवनबाट सयौं आयुर्वेद स्नातकहरू उत्पादन भई स्वास्थ्य सेवामा योगदान गर्ने विश्वास उनले व्यक्त गरिन् ।

यस्तै संस्कृत शिक्षा अध्ययनले मानिसलाई सभ्य र शालीन बनाउने उनको तर्क थियो । उनले संस्कृत शिक्षासँगै स्वर्गीय मदन भण्डारीको स्मरण गरिन् । मदन भण्डारी संस्कृत अध्ययन गरेकै कारण शालीन र सिर्जनशील भएको आफूले पाएको उनले बताइन् । संस्कृत विश्वविद्यालयले परम्परागत भाषा, धर्म र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलिरहेको उनले बताइन् ।

यस्तै सांस्कृतिक जागरण र पुनरउत्थानका लागि विश्वविद्यालयले भूमिका खेल्नुपर्ने उनले बताइन् । विश्वविद्यालयलाई आफ्नो अचल सम्पत्तिको उचित उपयोग र परिचालन गर्न पनि उनले सुझाव दिइन् ।

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले संस्कृत शिक्षाको विकास र संरक्षणका लागि सरकारले उचित ध्यान दिने बताइन् ।

लुम्बिनी प्रदेश सरकारका स्वाय्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले अहिले उद्घाटन भएको भवनले कोरोना महामारीमा कोरोना अस्पताल सञ्चालन गरेर ठूलो योगदान गरेको बताए ।

यस्तै विश्वविद्यालयका उपकुलपति यादव प्रकाश लामिछानेले संस्कृत शिक्षालाई समयानुकूल परिमार्जन गर्दै जीवनउपयोगी बनाइने बताएका थिए । विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडा र अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सुधनकुमार पौडेललले पनि कार्यक्रममा आफ्ना विचार व्यक्त गरेका थिए ।

दाङको बेलझुण्डीमा आयुर्वेद स्नातक (बिएएमएस) कक्षा सञ्चालनका लागि २४ करोड ७२ लाख ८३ हजार ४ सय ६६ रुपयाँ १०पैसाको लागतमा भवन निर्माण भएको छ । नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट २०७४ असार मसान्तमा भवन निर्माण भएको नेपाल संस्कृत विश्वविद्यालयका कूलसचिव माधव अधिकारीले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ३, २०७९ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?