कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा केही गर्छु भन्ने उद्योगीहरू टाट पल्टिने अवस्था आएको छ : चन्द

'नेपालको अर्थतन्त्र मुठ्ठीभर व्यक्तिको हातमा सीमित भयो'

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द नेपालको अर्थतन्त्र केही व्यक्तिमा मात्र सीमित भएको बताएका छन् ।  बुधबार ९औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा चन्दले नेपालको अर्थतन्त्र मुठ्ठीभर व्यक्तिको हातमा रहेको बताएका हुन् । 

नेपालमा केही गर्छु भन्ने उद्योगीहरू टाट पल्टिने अवस्था आएको छ : चन्द

'सबै पार्टीका नेताहरूले आर्थिक संकट निम्तिँदै छ भन्नुहुन्छ । नेपालको अर्थतन्त्र मुठ्ठीभर व्यक्तिको हातमा जाँदैछ । नेपालको अर्थतन्त्र २ सय परिवारको हातमा जाँदैछ,' उनले भने । त्यस्तै बहुसंख्यक नेपाली गरिबीको मारमा परेको उल्लेख गर्दै राजनीतिक व्यवस्थाले नै अर्थतन्त्र संकटमा परेको चन्दले दाबी गरे । '९० प्रतिशत नेपाली गरिबीको मारमा परिरहेका छन् । यो केबल आर्थिक संकट मात्र होइन राजनीतिक संकट पनि हो । हालै मात्र संघ र प्रदेश र स्थानीय तहका चुनाव भए । तर अत्यन्त्रै फितला सावित भए । वर्तमान व्यवस्थाप्रति जनताको विश्वास गुम्दै गएको छ । संसद्‍वादी दलले जनतालाई घुमाइरहेका छन्,' उनले भने ।

नयाँ दल आउनु सकारात्मक कुरा भए पनि व्यवस्थामै समस्या भएको पनि चन्दको दाबी छ । उनले अगाडि भने, 'नयाँ दल आउनु सकारात्मक कुरा पनि हो । तर नेपालको सन्दर्भमा पार्टीहरू मात्र समस्या होइनन् । व्यवस्था नै हो । दलाल पुँजीवादी सत्ताकै कारण यो समस्या आएको हो । चुनाव वा सरकारको हेरफेर मात्र समस्या समाधान होइन । नेपाललाई वैज्ञानिक समाजवादतिर लगेर आर्थिक क्रान्तिको आवश्यकता छ ।'

युवाहरूमा देखिएको परिवर्तनको हुटहुटीलाई रूपान्तरण गर्न आवश्यक रहेको पनि आफूहरूको निष्कर्ष रहेको उनले बताए । तराईमा मिटरब्याज र पहाडमा लघुबित्तले समस्या निम्तिएको चन्दले बताए । 'तराईमा मिटरब्याजले उठिबास भएको छ । जीवनस्तर उकास्ने आशले ऋण लिएका छन् तर उनीहरूको जायजेथा उठाइएको छ । पहाडमा लघुबित्तहरूले त्यस्तै समस्या उत्पन्न भएका छन्,' उनले भने ।

सामान्य जनता मात्र नभई ठूला उद्योगीसमेत टाट पल्टिने अवस्था निम्तिएको चन्दले बताए । उनले भने, ' राष्ट्रिय उद्योगीहरू पनि ऋणको भारमा थिचिएपछि आन्दोलनमा उत्रिन बाध्य भएका छन् । नेपालमा केही गर्छु भन्ने राष्ट्रिय उद्योगीहरू टाट पल्टिने अवस्था आएको छ । चर्को ब्याजदरले समस्या निम्तिएको छ । बैंकको ब्याजदर वान डिजिटमा झार्नुपर्छ ।'

नेपालको शैक्षिक क्षेत्रमा समेत माफियाकरण भएको चन्दले दाबी गरे । 'सामुदायिक विद्यालयमा समेत अंग्रेजी र नेपालीमा वर्गीकरण गरी विभेद गरिएको छ । शिक्षामा व्यापारीकरण भएको छ । शैक्षिक क्षेत्रमा माफियातन्त्रको जगजगी छ । युवाहरूको ठूलो हिस्सा पलायन हुने अवस्था छ तर सरकार निरीह देखिन्छ,' उनले भने । देशको वर्तमान परिस्थितिको सामनाका लागि आफ्नो पार्टीले नेतृत्व गर्नुपर्ने पनि उनले बताए ।

प्रकाशित : माघ २५, २०७९ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?