अस्ताए नेपाली अर्थतन्त्र र राजनीतिक आरोह-अवरोहका साक्षी- समाचार - कान्तिपुर समाचार

अस्ताए नेपाली अर्थतन्त्र र राजनीतिक आरोह-अवरोहका साक्षी

अर्थसचिवबाट जगेडामा राखिएका हिमालयलाई सरकारले राष्ट्र बैंक खोल्ने योजनाअनुसार अफिसर अन स्पेसल ड्युटीको जिम्मेवारी थमाएको थियो । सुरुका एक महिना नेपाल राष्ट्र बैंक स्थापना गर्नका निम्ति आवश्यक ऐनको तर्जुमा गरेका हिमालय विसं २०१३ वैशाख १४ गते राजा महेन्द्रबाट राष्ट्र बैंकको समुद्घाटन गरेलगत्तै गर्भनरमा नियुक्त भएका थिए ।
जनकराज सापकोटा

काठमाडौँ — आइतबार बिहान ७ नबज्दै ९५ वर्षीय हिमालयशमशेर राणा संसारबाट बिदा भए । उमेरको उत्तरार्द्धमा पनि सक्रिय जीवन बिताएका हिमालय राणाकाल, २००७ को क्रान्तिपछि हुर्किँदै गरेको प्रजान्तन्त्रको संघर्षदेखि पञ्चायतको अँध्यारो र त्यसपछिका कैयन् महत्त्वपूर्ण राजनीतिक आरोह अवरोहको साक्षी थिए । पहिलो गर्भनरदेखि पहिलो अर्थसचिव भएका राणाले नेपाली अर्थतन्त्रको जग बसाल्न आर्थिक र नीतिगत कामको सुरूआत गरेर महत्त्वपूर्ण योगदान दिएका छन् ।

१९८४ सालमा थापाथली दरबारमा जन्मेका राणा प्रधानमन्त्री देवशमशेरका पनाती हिमालयले २००४ सालमा बम्बई विश्वविद्यालयको स्कुल अफ इकोनोमिक्स एन्ड सोसियोलोजीबाट एमए सकेका थिए । भारतमा बस्दा अनेकन् राजनीतिक क्रान्ति र परिवर्तन देखेका उनी त्यहीँ छँदै सुवर्णशमशेर राणा र बीपीसँग नजिकिएका थिए । यही संगतबाट भूमिगत रुपमै प्रजातन्त्र स्थापनाको राजनीतिमा होमिएका हिमालय नेपाल फर्केपछि पनि जहाँनिया राणा शासन हटाउने क्रान्तिमा सक्रिय भएका थिए ।

२००७ सालको परिवर्तनपछि सुवर्णशमशेरले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेपछि उनी अर्थ सचिवमा नियुक्त भएका थिए । केही महिनाअघिको कुराकानीमा उनले सुनाएका थिए, ‘अर्थमन्त्री बनेको पहिलो साता नै सुवर्णले मन्त्रालयका निम्ति कर्मचारीको भर्ती गर्न भन्दै अर्थशास्त्रमा एमए वा वाणिज्यशास्त्रमा एम कम स्नातकोत्तर गरेका कर्मचारीहरुको खोजी थालेका थिए । जबकी त्यतिबेला यस्तो शैक्षिक योग्यता भएका मान्छेको एकाध थिए ।’

हिमालयका अनुसार अर्थमन्त्रीले त्यतिबेला बम्बईबाट पढेर फर्केका हिमालयशमशेर, परीक्षित नरसिंह राणा, विराटनगरका लिलाप्रसाद लोहनी र असनका लाल साहुका छोरा कृष्णराज राजभण्डारीलाई मन्त्रालयमा भर्ती गरेका थिए । अर्थमन्त्रालयको बालुवाटारस्थित ललिता निवासबाट जागिर सुरु गरेका हिमालयले डेढ महिनापछि अर्थ सचिवमा नियुक्त भएका थिए ।

२३ वर्षको उमेरमा २००७ फागुनबाट तलब र भत्ता गरेर मासिक ५ सय ८३ रुपैयाँ बुझ्ने गरी अर्थसचिवको यात्रा सुरु गरेका हिमालयले आफ्नो कार्यकालमा अर्थतन्त्रलाई निश्चित आकार दिने काम मात्रै गरेनन्, महत्त्वपूर्ण आर्थिक र प्रशासनिक सुधारका कामहरु पनि गरे ।

अर्थसचिव भएको अढाई वर्षसम्म काका केन्द्रशमशेरको बेलायती कम्पनी बीएसए ब्रान्डको २ नम्बर भएको मोटरसाइकल चढेर अर्थ मन्त्रालय धाएका हिमालयले परम्परागत अर्थ संरचनामा आमूल परिवर्तन गर्ने जोखिम उठाएका थिए । अर्थसचिव भएलगत्तै उनले मन्त्रालयमा मालपोत विभाग, राजस्व विभाग, खर्च विभाग, बजेट विभाग र आर्थिक मामिला विभाग गठन गरेका थिए ।

आम्दानी र खर्चको दुरुस्त हिसाबको अभावमा अर्थतन्त्रको आकार कत्रो छ भन्ने पनि थाहा नभएको समयमा हिमालयले पहिलो बजेट ल्याउने जिम्मेवारी उठाएका थिए । हिमालयले सुनाएका थिए, ‘अर्थतन्त्र भनेकै मालपोत र चुंगीकर मात्रै थियो । झन् त्यतिबेला वर्षा राम्रो भएपछि उब्जनी बढेकैले पूर्वका जिल्लाहरुबाट मालपोत समयमै उठेको थियो भने खडेरीका कारण उब्जनी नभएकाले पश्चिमका जिल्लाबाट मालपोत समयमै उठन सकेको थिएन ।’

हिमालयका अनुसार देशका विभिन्न माल अड्डाले पठाउने सरकारी आम्दानी काठमाडौंको मुलुकीखानामा जम्मा हुन्थ्यो । पूर्वका विराटनगर, झापालगायतका जिल्लाले उठाएको माल वीरगन्जस्थित बडा हाकिमको कार्यलयमा र सुदूरपश्चिमका जिल्लाले उठाएको माल नेपालगन्ज माल अड्डामा जम्मा हुन्थ्यो । उनले सुनाएका थिए, ‘जम्मा भएको पैसा कपडाको थैलामा हालेर मुख बाँधेर शिलबन्दी गरीवरी टिनको ट्यांकामा राखेर सुरक्षाकर्मीका साथ काठमाडौंको मुलुकीखानामा ल्याइन्थ्यो । तर त्यो पैसा कसरी र कहाँ कहाँ खर्च भयो ? खर्चको प्राथमिकता के हो भन्ने कसैलाई थाह हुँदैनथ्यो । किनकी प्रधानमन्त्रीलाई सोझै हजुरिया जर्नेलले खर्चको हिसाब सुनाउँथे र प्रधानमन्त्रीले आफूखुशी खर्च गर्थे ।’

करिब चार महिना लगाएर देशभरका माल अड्डा र कौषितोषखानाबाट अर्थतन्त्रका सूचकांकहरू जम्मा पारेर उनले पहिलो बजेटको ड्राफ्ट तयार पारेका थिए । जसलाई २००८ माघ १९ गते अर्थमन्त्री सुवर्णशमशेरले रेडियो नेपालबाट पढेर सुनाएका थिए । उनले सुनाएका थिए, ‘राज्यसँग कति पैसा छ, कति आम्दानी छ, के–केमा खर्च भइरहेको छ भन्नेबारे न कसैले प्रश्न सोध्ने न त सरकारले नै बताउने त्यस्तो समयमा हामीले सबै आम्दानी र खर्चको विवरणसहितको बजेट सार्वजनिक गरेपछि सबैले अनौठो माने ।’ पहिलो बजेटका अनुसार २००७ सालको देशको कुल आम्दानी २ करोड नब्बे लाख ८१ हजार थियो भने खर्च २ करोड ४६ लाख २७ हजार रुपैयाँ थियो ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि हिमालयले पहिलोपटक आर्थिक नियमावली बनाएका थिए । त्यसका निम्ति उनले अर्थमन्त्री सुवर्णको सहयोग लिएका थिए । भारतको पश्चिम बंगालका मुख्यमन्त्री विधानचन्द्र रोयसँग सुमधुर सम्बन्ध भएकैले सुवर्णले पश्चिम बंगालका अवकाशप्राप्त सहसचिव मुकरर्जी साहेबलाई नेपाल झिकाएर हिमालयसँग मिलेर आर्थिक नियमावली बनाउन सहयोग लिएका थिए । राजपरिवारको खान्की तोक्नेदेखि कर्मचारीको तलब निर्धारण र २००८ मा पार्टीको नीतिअनुसार देशभरिका मोहीको लगत लिनेजस्ता महत्त्वपूर्ण काम पनि हिमालयले सुरुआती वर्षमै गरेका थिए । उनकै कार्यकालमा तराई तथा भोटका सिमानाहरुमा रहेका बजार अड्डाहरुलाई पुनर्संरचित गर्ने र नेपाल भारत सिमानाका मुख्य पाँच स्थानमा रहेका बजार अड्डालाई भन्सार कार्यालयमा परिणत गर्ने काम भएको थियो ।

मात्रिकाको एकदलीय मन्त्रिमण्डल चलिरहेकै बेला २०११ असारतिर आर्थिक प्रशासनसम्बन्धी मोडलहरुको अध्ययन तथा अवलोकन गर्न युएसएआइडीमार्फत एक वर्षे फेलोसिपमा अमेरिका गएर फर्केपछि भने हिमालयलाई अर्थ सचिवबाट हटाएर जगेडामा राखिएको थियो । बदलिँदो राजनीति सुवर्ण र बीपी निकट भएकै कारण उनले त्यसो गरिएको हुनसक्ने अनुमान उनले सुनाएका थिए । उनले सुनाएका थिए, ‘फेलोसिप सकेर फर्केपछिका दुई/तीन महिना त म बेकामे जस्तै भए । अर्थ सचिवबाट मलाई जगेडामा राखिएको थियो । सरकारले नै बिदा स्वीकृत गरेर म फेलोसिपमा गएको थिए । त्यहाँ हासिल गरेको ज्ञान आर्थिक नीति बनाउन, कर र भन्सार प्रणालीको सुधार गर्न लगाउँला भन्ने मेरो सोच पुरा हुन नसक्ने देखियो । मलाई जगेडामा राख्नुको कुनै खास कारण सरकारले दिएन ।’

अर्थसचिवबाट जगेडामा राखिएका हिमालयलाई सरकारले राष्ट्र बैंक खोल्ने योजनाअनुसार अफिसर अन स्पेसल ड्युटीको जिम्मेवारी थमाएको थियो । सुरुका एक महिना नेपाल राष्ट्र बैंक स्थापना गर्नका निम्ति आवश्यक ऐनको तर्जुमा गरेका हिमालय विसं २०१३ वैशाख १४ गते राजा महेन्द्रबाट राष्ट्र बैंकको समुद्घाटन गरेलगत्तै गर्भनरमा नियुक्त भएका थिए ।

गर्भनरका रुपमा पनि हिालयले महत्त्वपूर्ण जिम्मेवारीहरु निर्वाह गरेका थिए । नेपाललाई अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक सदस्य बनाउनेदेखि कमजोर सुरक्षा फिचर भएको परम्परागत नोटलाई आधुनिक शैलीको सेक्युरिटी फिचर भएको र नयाँ स्वरुपमा बेलायती कम्पनी डेलारुमार्फत छाप्ने काम पनि उनैको कार्यकालमा भएको थियो ।

गर्भनरका रुपमा हिमालयले निर्वाह गरेको सबैभन्दा महत्त्वपूर्ण भनेको भारतीय मुद्रासँग नेपालको स्थितर सटहीदर कायम गर्नु पनि हो । उनले सुनाएका थिए, ‘करिब तीन वर्ष लगाएर पूर्व इलामदेखि पश्चिम कैलालीसम्मका राष्ट्र बैंकका शाखा, उपशाखा र डिपोबाट भएका कारोबारहरुको विश्लेषणबाट हामीले एउटा प्रक्षेपण गरियो । अनि भारु एक सय रुपैयाँको एक सय ६० रुपैयाँ सटहीदर कायम गर्दा सटहीदर स्थिर राख्न सकिन्छ भन्ने निष्कर्षमा पुग्यौं ।’

२०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्थाको घोषणा गरेपछि अन्य सरकारी कर्मचारीसँगै हिमालय बर्खास्तीमा परेका थिए । त्यतिबेला उनि बर्खास्तीमा पर्ने सबैभन्दा उच्चपदस्थ सरकारी कर्मचारी थिए । बर्खास्तीमा परेपछि संयुक्त राष्ट्रसंघमा काम गर्ने गरी अमेरिका गएका हिमालयले त्यसपछिका २४ वर्ष विभिन्न देशमा संयुक्त राष्ट्रसंघको नायब आवासीय प्रतिनिधि र आवासीय प्रतिनिधिका रुपमा बिताए ।

संयुक्त राष्ट्रसंघको जागिरे जीवनबाट अवकाश लिएर २०४२ को फागुनमा स्वदेश फर्केपछि पनि हिमालय विभिन्न महत्त्वपूर्ण जिम्मेवारीहरुमा जोडिइ नै रहे । विद्युत् प्राधिकरणको सदस्यदेखि नेपाल भारतबितको व्यापार तथा वाणिज्य सन्धिको पुनरावलोकनका कामसम्म उनी संग्लन भए । २०४९ माघमा निजी क्षेत्रको पहलमा हिमालय बैंक खोलका हिमालय शमशेर २०६० पछि भने माओवादी द्वन्द्वको शान्तिपूर्ण अवतरणका निम्ति नागरिक आन्दोलनहरुमार्फत सक्रिय थिए ।

राणा परिवारमा जन्मेर पनि प्रजातन्त्र र बहुलवादी शासन व्यवस्थामा विश्वास गर्ने हिमालय खुला बजार र उदारीकरणको पक्षमा थिए । साधारण जीवनशैलीमा रमाउने उनी जीवनको उत्तरार्धमा पनि बिग्रँदो राजनीति र सत्ताकेन्द्रित दलहरूको राजनीतिक गतिविधिहरुलाई नजिकबाट नियाल्दै टिप्पणी गर्न रुचाउँथे । हिमालयको निधनले झन्डै शतक लामो नेपाली समाजको विकास, राजनीति र अर्थतन्त्रको आरोह, अवरोहको एउटा साक्षी नेपाली समाजले गुमाएको छ ।

प्रकाशित : माघ २२, २०७९ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्

‘नेपालले राजा हटायो, श्रीलंकाले जन्मायो’

जनकराज सापकोटा

युर्निभर्सिटी अफ सिकागोबाट विद्यावारिधि गरेका मानवशास्त्री अर्जुन गुणरत्ने अमेरिकाको म्याकालेस्टर कलेजका प्राध्यापक हुन् । श्रीलंकामा जन्मेका गुणरत्ने एक समय नेपाल एन्ड हिमालयन स्टडिजले प्रकाशन गर्ने ‘हिमालय जर्नल’ का सम्पादक थिए ।

सन् १९८० मा नेपाल आएर थारु जातिमाथि बृहत् अध्ययन गरेका गुणरत्ने नेपाली समाज, थारुहरुले उठाइरहेको पहिचानका मुद्दा र सीमान्तीकृत समुदायबारे गहिरो बुझाइ राख्छन् । औलो उन्मूलन कार्यक्रमपछि थारुहरुको सांस्कृतिक, सामाजिक र आर्थिक रुपान्तरण कसरी भयो भन्ने विषयमा उनले अध्ययन गरेका छन् । राज्यले अँगालेका नीतिका कारण थारुमा पहिचानको सवाल कसरी पेचिलो बन्यो भन्ने विषयमा गुणरत्नेको किताब ‘मेनी टङ्ग्स, वान पिपल : द मेकिङ अफ थारु आइडेन्डटिटी इन नेपाल’ प्रकाशित छ । गुणरत्ने नेपाल आएका बेला जनकराज सापकोटाले गरेको संवाद :

पश्चिमाहरूको अध्ययनमा नेपालका धेरै विषय समेटिएका छन् । तपाईं केको खोजीमा नेपाल आइपुग्नुभयो ?

अमेरिकाको युर्निभर्सिटी अफ सिकागोको विद्यार्थी छँदै पीएचडी रिसर्चका लागि श्रीलंका नजिकैको देश जान चाहन्थें । सुरुमा भारत जाने योजना बनाएको थिएँ । तर, त्यतिबेला (१९८०) श्रीलंकामा जारी गृहयुद्धमा भारतले विद्रोही समूह तमिल टाइगरलाई मद्धत गरेको थियो । त्यसैले दुई सरकारबीच राम्रो सम्बन्ध थिएन । र, भारत गएर काम गर्न पाउँदिन भन्ने लाग्यो । अनि नेपालतिर हेर्न थालेँ । दुवै देशमा बुद्धधर्मावलम्बी छन्, दुई देशको सम्बन्ध पनि राम्रो छ । सुरुमा त रोमान्टिक भएर नेपालमा पहाड, हिमाल छन् भन्ने तरिकाले हेरेँ । नेपालबारे पढ्न थालेपछि थाहा पाएँ– जति पनि विदेशी रिसर्चर छन्, तिनले पहाडी र शेर्पाबारे अध्ययन गरेका रहेछन् । सोचेँ, अरूभन्दा फरक किन नगरूँ ! अनि तराईतिर केन्द्रित भएँ । तराईमा पनि थारूमाथि अध्ययन गर्ने सोचेँ । त्यतिबेला थारूबारे दाङका द्रोणप्रसाद रजौरिया, बेलायती मानवशास्त्री क्रिस म्याकडोना र फ्रेन्च मानवशास्त्री जिसेल काउसकोफले मात्रै अध्ययन गरेको थिए । सन् १९८० को सेप्टेम्बरमा नेपाल आएँ ।

अध्ययन कसरी सुरु भयो ?

सुरुमा काठमाडौंमा २ महिना नेपाली सिकेँ । त्यसअघि युनिभर्सिटी अफ विस्कन्सिनको समर ल्याङवेज कार्यक्रमअन्तर्गत नेपाली भाषा सिकेको थिएँ । सुरुमा कञ्चनपुर पुगेँ । पछि दाङ देउखुरी, नवलपरासी, चितवन, रौतहट, सिरहा, सप्तरी, उदयपुर र मोरङसम्म घुमेँ । तर, मेरो अनुसन्धानको केन्द्र चितवनको बछौली थियो । पहिलोपल्ट २० महिना चितवनमा साथी सत्यनारायण चौधरीसँग बसेँ ।

तस्बिरहरू : इलिट जोशी/कान्तिपुर

तपाईंको अध्ययनले नेपालमा पनि अल्पंसख्यक छन् र तिनीहरूमाथि बहुसंख्यकको शासन छ भन्छ ?

नेपालमा अल्पसंख्यक छैनन्, किनकि नेपालमा स्पष्ट रूपमा बहुसंख्यक नै छैनन् । नेपालको मुद्दा भनेको दलित, जनजाति र मुस्लिमको हो, जसको हातमा शक्ति छैन । अर्कोथरी उच्च जातका मानिस छन्, जसको हातमा शक्ति छ । यही नै नेपालको मुद्दा हो । श्रीलंका, म्यानमार, पाकिस्तान र बंगलादेशमा जस्तो कुनै स्पष्ट जातको बहुसंख्यक अवस्था नेपालमा छैन । जस्तो कि, श्रीलंकामा सिंहाली बुद्धिस्ट छन् । उनीहरू जनसंख्याको झन्डै ७० प्रतिशत छन् । त्यसैले त्यहाँ उनीहरूबाहेकका अरू सबै अल्पसंख्यक हुन् । नेपालमा बाहुन करिब १३ प्रतिशत छन् । यो ठूलो संख्या त हो, तर यो बहुसंख्यक होइन ।

थारूहरूमाथिको तपाईंको अध्ययनको निचोड के छ ?

थारूहरू शिक्षित हुन सक्छन्, डाक्टर वा वकिल हुन सक्छन् । तर, शिक्षितै भए पनि योग्यता अनुसारको सम्मान पाउँदैनन् । यस्तो अभ्यास अमेरिकामा पनि छ । अफ्रिकन अमेरिकन जनता जो उच्च योग्यताका छन् र पनि विभेद खेप्छन् । थारू ऐतिहासिक रूपमै दबाइएका जात हुन् । पछाडि पारिएकालाई कसरी अगाडि ल्याएर एउटै लाइनमा उभ्याउने भन्ने महत्त्वपूर्ण हुन्छ । यो परिस्थिति बदल्न, सरकारले विशेष नीति ल्याउनुपर्छ । जस्तो कि आरक्षण । नेपालको थारू समुदाय र अरू जनजातिमा पनि गहिरो बुझाइ के छ भने सरकारले हामीलाई अगाडि बढाउन पहल गरेको छैन । उनीहरूको बुझाइ छ– स्कुले शिक्षा र डिग्री लिएर पनि म योग्यता अनुसारको स्थान पाउन सक्दिन ।

३० वर्षअघिको तपाईंको अध्ययन र अहिलको भ्रमणपछि थारू समुदायमा के बदलाव देख्नुभयो ?

समयक्रममा थारूको राजनीतिक चेतनामा धेरै बदलाव आएको छ । नेपालका परिवर्तनले थारूहरू राजनीतिक रूपमा सचेत भएका छन् । आफ्नो अधिकारका लागि प्रतिक्रियात्मक भएका छन् । माओवादी, जसको हिंसात्मक विगत छ, त्यस आन्दोलनमा धेरै थारू मारिए । हिंसात्मक आन्दोलमा मारिनेको कुल संख्या हेर्दा त्यसमा थारू जनसंख्याको अनुपातमा उनीहरू धेरै मारिएका छन् । त्यसले उनीहरूलाई र्‍याडिकलाइज गर्‍यो । मधेशी आन्दोलनले पनि त्यसमा केही काम गर्‍यो । धेरै खालका राजनीतिक परिवर्तनका आन्दोलनले थारू र अरू जाति, जो विगतमा प्रतिक्रियात्मक थिएनन्, तिनीहरूलाई सचेत बनायो । थारूको राजनीतिक शक्ति निर्माण त्यही हो । मूलधारका दलले स्थान नदिएपछि पनि यो भएको हुन सक्छ । चितवनमा मलाई थारू समुदायका साथीहरूले भन्नुभयो– कुनै पनि मूलधारको दलले थारूलाई टिकटसम्म दिएन, जबकि चितवनमा थारूको जनसंख्या ठूलो छ ।

पहिले लामो समय बस्नुभएको चितवनमा तीस वर्षपछि फेरि पुग्नुभयो । समाजमा भने कस्तो बदलाव आएछ ?

चितवनका थारू हेर्दा जीवनशैली र उनीहरूले उपभोग गर्ने सामानमा धेरै परिवर्तन देखेँ । पुराना शैलीका घर घट्दै गएछन्, थुप्रै थारू विदेश गएछन् । बहुसंख्यक थारू खाडी, मलेसिया गएको देखेँ । थोरै युरोप वा उच्च शिक्षाका लागि अन्य देश गएको देखेँ । धेरै मानिस विदेश भएकाले मानिसको सोचाइमा पनि परिवर्तन आएको छ । जस्तो तीस वर्षअघि महिलाले साइकल चढेको बिरलै देखिन्थ्यो । त्यस्तालाई धेरैले साहसी ठान्थे । तर, अहिले महिलाले साइकल मात्रै होइन, स्कुटर नै चलाएको देखेँ । पहिचानका कुरामा मानिस बढी सचेत देखेँ । जस्तो, कुनै ठूला कार्यक्रम र समारोहमा थारू महिलाले परम्परागत वेशभूषा र गरगहना नै लगाएर आउँछन् । जबकि पहिले यस्तो थिएन । उनीहरूले ‘हामी थारू हौं’ भनेर देखाउन चाहिरहेका छन् । थारूहरू पहिले भोजमा भुइँमा बसाएर खुवाउँथे । अहिले पश्चिमा शैलीमा वुफेट लगाइन्छ ।

तपाईंको किताब ‘मेनी टङ्ग्स, वान पिपल : द मेकिङ अफ थारू आइडेन्डटिटी इन नेपाल’ बारे केही भनिदिनुस् न !

नेपाल आउनुअघि अमेरिकामा उपलब्ध नभएकाले मैले थारूबारे धेरै सामग्री पढ्न पाएको थिइनँ । यति मात्रै पढ्न पाएको थिएँ, जसमा लेखिएको थियो, ‘थारू विभिन्न समूहका मिलन हुन्, उनीहरू विभिन्न समुदायमा बाँडिएका छन्, ठाउँ अनुसारको भाषा, संस्कृति र परम्परा छ ।’ यहाँ आएपछि सुरुमा विराटनगर पुगेँ । त्यहाँ थारू कल्याणकारी सभाको सम्मेलन थियो । सबैजसो वक्ताले मेचीदेखि महाकालीसम्म ‘हाम्रो जात एउटै हो’ भनेको सुनेँ । सोचेँ– कसरी एउटै हो ? जबकि थारूहरू फरक–फरक देखिन्छन् । भाषण गर्नेले पनि थारू भाषामा नबोली हिन्दी वा नेपाली भाषामा बोलेका थिए । मलाई खुलदुली भयो– किन उनीहरू आफूलाई एउटै भनिरहेका छन् ? यसको उत्तर मैले किताबमा खोजेको छु ।

यो विषय बुझ्न राणाकालमा जारी मुलुकी ऐनसम्मै पुग्नुपर्छ । त्यस ऐनले तराईका थारूलाई एउटै समूहमा राखेको छ । २००७ को प्रजातन्त्रपछि सडक निर्माण, मलेरिया उन्मूलन, शिक्षाजस्ता कारणले फरक–फरक ठाउँका थारूबीच सम्पर्क विस्तार भयो । जस्तो, वीरगन्जमा स्कुल खुल्दा देउखुरी, सिरहा र सप्तरीका थारू भेट भए । भेटघाटले उनीहरूमा पहिचानको कुरा गरायो । थारूलाई एकै ठाउँ ल्याउने काम नेपालको विकास योजनाले गर्‍यो । नेपालको राजनीतिले पनि एकीकृत नभएसम्म भिजिवल भइँदैन र त्यसका लागि संख्या महत्त्वपूर्ण हुन्छ भन्ने देखायो । त्यसले पनि थारूलाई एकै ठाउँ ल्यायो ।

तपाईंले श्रीलंकाको विकासदेखि पछिल्लो आर्थिक संकटसम्म देख्नुभयो । तपाईं पहिलोपटक नेपाल आउँदा यहाँ राजतन्त्र थियो, अहिले गणतन्त्र छ । श्रीलंका र नेपालबीचका फरक अनुभव के रहे ?

म सुरुमा नेपाल आउँदा आम नेपालीको बुझाइ थियो– श्रीलंकाले धेरै विकास गरेको छ । किनकि श्रीलंकामा प्रजातान्त्रिक व्यवस्था थियो, नेपालमा राजतन्त्रात्मक पञ्चायती व्यवस्था । तर, अहिले ठ्याक्कै उल्टो भयो । नेपालमा प्रजातन्त्र छ ।

भलै नेपालीहरू सुनाउँछन्– हाम्रो प्रजातन्त्रमा समस्या छ । त्यसैले केही यो व्यवस्थाप्रति निरुत्साहित छन्, केही आलोचनात्मक । तर, जसले जे भने पनि नेपालमा प्रजातन्त्र छ, नियमित चुनाव भइरहेको छ, सरकार बदलिइरहेको छ । प्रेस स्वतन्त्र छ । जनता बोल्न स्वतन्त्र छन् । भलै नेता भ्रष्ट होलान्, तर जनताले तिनको आलोचना गर्न त पाएका छन् । मानिसहरू ठूला नेताविरुद्ध सजिलै बोल्न सक्छन् । प्रजातन्त्रको सुन्दर पक्ष हो यो । तर, श्रीलंकामा यस्तो छैन । नेपालले राजा हटायो, तर, श्रीलंकाले राजा जन्मायो । हाम्रो संविधानमा कार्यकारी प्रधानमन्त्रीको पद राखियो, त्यो नै राजाजस्तो भयो । श्रीलंकाको प्रेस नेपालको जस्तो स्वतन्त्र छैन । भन्न त ‘फ्री प्रेस छ’ भनिन्छ, तर नेपालको जस्तो स्वतन्त्रता छैन ।

पछिल्लो तीस वर्षमा नेपाल र श्रीलंकामा धेरै फरक देखिएको छ । नेपालमा प्रजातन्त्र झनै फस्टाइरहेको छ, श्रीलंकामा झन् खुम्चिरहेको छ । खराब आर्थिक नीति र चरम भ्रष्टाचारले श्रीलंकामा सबै कुरा कोल्याप्स भयो । चितवनका केही स्थानीयले मलाई भने, ‘नेपालमा पनि धेरै भ्रष्टाचार छ । राजनीतिक नेताहरू भ्रष्ट छन् ।’ तर, मैले भनें, ‘तपाईंहरूको नेताको भ्रष्टाचारको लेबल किन्डर गार्डेनको जस्तै हो । श्रीलंकाको नेताहरूको भ्रष्टाचार युनिभर्सिटी लेभलको जस्तै हो ।’

प्रकाशित : पुस ३०, २०७९ ११:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×