१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

नेमकिपालाई प्रमुख प्रतिपक्षी दल तोकियोस् : सांसद सुवाल

'प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबैभन्दा ठूलो राजनीतिक दल नेमकिपा हो'

काठमाडौँ — नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का सांसद प्रेम सुवालले कांग्रेसलाई प्रमुख प्रतिपक्ष दल मान्ने आधार नभएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कांग्रेस प्रमुख प्रतिपक्ष दल हुन नसक्ने जिकिर गर्दै सांसद सुवालले प्रतिपक्ष दल नतोकी संसद् बैठक सुरु नगर्न सदनको ध्यानाकर्षण गराएका छन् । 

नेमकिपालाई प्रमुख प्रतिपक्षी दल तोकियोस् : सांसद सुवाल

सभामुख निर्वाचनको प्रयोजनका लागि बुधबार बोलाइएको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले आफ्नो दल नै सबैभन्दा ठूलो प्रतिपक्षी दल भएको पनि बताए । उनले नेमकिपालाई प्रमुख प्रतिपक्षी दल तोकेर मात्र संसद्को बैठक सुरु गर्न पनि सभाध्यक्षको ध्यानाकर्षण गराए । उनले भने, 'प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबैभन्दा ठूलो राजनीतिक दल नेमकिपा हो त्यसैले प्रमुख प्रतिपक्ष दल नेमकिपालाई घोषित गरियोस् ।'

संसद्ले बनाएको कानुन संसद्‍मै पालना नहुने हो भने देशमा अराजकता फैलिने पनि उनले बताए । कानुनविद्, राजनीतिज्ञहरूले पनि कांग्रेस प्रतिपक्ष दल हुन नसक्ने बताएको उल्लेख गर्दै सांसद सुवालले भने, 'कांग्रेस प्रतिपक्ष दल होइन, एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूले पनि कांग्रेसलाई कानुन, व्यवहार र राजनीतिक रूपमा प्रमुख प्रतिपक्षको हैसियत नभएको बताउनु भएको छ । संघीय कानुनबमोजिम विपक्षी दल तोकेर मात्र संसद्का कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ ।'

प्रमुख प्रतिपक्ष दल नतोकी सुरु भएको बैठक स्थगितको माग गर्दै उनले अगाडि भने, 'संसद्ले बनाएको कानुन संसद्मै लागू नभए देशमा अराजकता फैलिन्छ । बैठक स्थगित गरी नेमकिपालाई विपक्षी दल तोकिएपछि मात्र बैठक सुरु गर्न अनुरोध गर्छु ।'

पुस २६ गते प्रतिनिधिसभामा उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ जनाले दाहाललाई विश्वासको मत दिएका थिए । माओवादी केन्द्रका अध्यक्ष दाहालले सत्ता गठबन्धन बाहिरका कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको समेत मत पाएका थिए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्र विपक्षमा मतदान गरेका थिए।

कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएपछि संसद् प्रमुख प्रतिपक्षविहीनजस्तै भएको छ । प्रतिपक्षी दलको कानुनी हैसियत प्राप्त गर्न सरकारलाई समर्थन नगरेको र संसद्मा न्यूनतम १० प्रतिशत सांसद रहेको दल हुनुपर्छ ।

प्रकाशित : माघ ५, २०७९ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?