खोपमा पहुँच नपुग्दा दादुरा संक्रमण- समाचार - कान्तिपुर समाचार

खोपमा पहुँच नपुग्दा दादुरा संक्रमण

रूपा गहतराज

नेपालगन्ज — बाँकेलाई गत वर्षमात्रै पूर्ण खोप जिल्ला घोषित गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकामा दादुरा खोपसम्बन्धी अभिमुखीकरण पनि चल्यो । तर, यहाँ खोपको पहुँच बढ्न नसकेको पाइएको छ । केही सातादेखि यहाँ देखिएको दादुरा संक्रमण भयावह बन्दै छ ।

दादुराले सिकिस्त नेपालगन्ज–५ का ३१ महिने शिशुको त पुस १३ मा दादुराकै कारण ज्यान गइसकेको छ । त्यसयता बाँकेमा १ सय ३२ जनामा दादुराको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पुस १२ देखि फैलिएको दादुरा संक्रमण उपमहानगरका १ सय ३० र खजुराका २ जनामा पुष्टि भएको हो । बिहीबार मात्रै १७ जनामा संक्रमण देखिएको छ ।

पुस २२ देखि २७ सम्म यहाँका ७ हजार १ सय ६३ जनाले खोप लिएका छन् । जिल्लामा ७ हजार डोज दादुरा–रुबेला खोप बाँकी रहेको र ३० हजार मात्रा थप खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत प्राप्त हुने भएकाले खोप वितरणमा कुनै समस्या नरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दादुरा संक्रमण फैलिएपछि विशेष अभियानका रूपमा दादुराविरुद्धको खोप लगाउने काम सुरु भए पनि समुदायबाट खासै चासो छैन । दादुरा संक्रमण फैलिएका सबै वडामा अभिमुखीकरण अभियान चलाउने रणनीतिअनुसार जनप्रतिनिधि, स्थानीय अगुवा, धार्मिक व्यक्तिहरूलाई सहभागी गराएर दादुराबारेमा जानकारी दिनुका साथै अहिले देखिएको संक्रमणलाई हटाउन खोप लगाउनुपर्ने कुरामा छलफल चलाइए पनि त्यो सन्देश समुदायस्तरमा पुग्न नसकेको सरोकारवालाले बताएका छन् ।

संक्रमण देखिएपछि आफैंले आफ्ना बालबालिकालाई लिएर स्वास्थ्य संस्थासम्म पुग्नुपर्नेमा स्वयंसेविकाहरू घरघर पुगिरहेका छन् । खोप लगाउन आह्वान गर्दा पनि खोप लगाउन आउनेको संख्या उत्साहजनक छैन । १० हजार ९ सय ९६ जनालाई खोप लगाउने जिल्ला स्वास्थ्य कार्यालयको लक्ष्य छ । बालबालिकाको संख्याअनुसार खोप लिनेको संख्या कम देखिएको वडा ८ मा खटिएका स्वास्थ्यकर्मी केशवराज पौडेलले बताए । ‘दादुराले बालकको मृत्यु भइसक्दा पनि सम्बन्धित वडा र अन्य वडाले दादुराविरुद्धको खोप लगाउने चासो देखाएनन्,’ उनले भने, ‘स्वयंसेविकाहरूले घरघरमा गएर बोलाउँदा पनि आउँदैनन् ।’

संक्रमण फैलिएपछि स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्मा र परिवार कल्याण महाशाखाका खोप अधिकृत वसन्त श्रेष्ठ आइतबार नेपालगन्ज आइपुगेका छन् । यहाँ पुस १२ देखि दादुरा संक्रमण देखिएको थियो । त्यसलगत्तै पठाएको नमुनाको १९ गते रिपोर्ट आएको थियो । पुस २२ देखि खोप अभियान सुरु गरे पनि खोप प्रभावकारिताबारे बुझाइको अभावमा अभियान सफल हुन नसकेको स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनीता पौडेलले सुनाइन् । ‘खोप लगाउँदा बच्चाहरूमा सामान्य ज्वरो आउने, दुख्नेजस्ता असर देखिन्छन्,’ उनले भनिन्, ‘खोपको दीर्घकालीन प्रभावबारे बुझाउन नसक्दा चुनौती छ ।’

दादुराविरुद्धको खोप लगाउने र भिटामिन ‘ए’ क्याप्सुल खुवाउने अभियानलाई प्रभावकारी बनाउन सकेमा दादुराको संक्रमण हटेर जाने डा. रोमा बोराले बताइन् । ‘अहिले खोपको बेबास्ताका कारण यो समस्या देखिएको छ,’ उनले भनिन्, ‘दादुरा कोभिडभन्दा निकै संक्रामक छ । एक जना बच्चाले १२ देखि १८ जनासम्मलाई सार्न सक्छ । यसको निन्त्रणका लागि खोप नै प्रभावकारी विकल्प हो ।’ नेपालगन्ज उपमहानगरका १० वटा वडामा संक्रमित फेला परेका छन् । सबैभन्दा धेरै वडा ८ मा २९ जना, वडा ७ मा २८, ११ मा २१, ५ मा १५ जना संक्रमित भेटिएका छन् ।

प्रकाशित : पुस २९, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

घरेलु हिंसापछि मृत्यु

बाँकेमा गत आर्थिक वर्षमा मात्र ८ सय ४४ वटा घरेलु हिंसाका उजुरी, अघिल्लो आवमा भन्दा १०६ ले बढी
रूपा गहतराज

नेपालगन्ज — गत मंसिर २७ मा नेपालगन्ज–१५ टागपसेरी माइती भएकी २३ वर्षीया पूजा लोनिया घरमै मृत अवस्थामा भेटिइन् । २० दिनअघि मात्र उनी माइतीबाट घर फर्किएकी थिइन् ।

पाँच वर्षअघि जानकी गाउँपालिका–६ गिठापुरका राजकुमार लोनियासँग उनको विवाह भएको थियो । एक छोरा र एक छोरीकी आमा पूजाको मृत्युबारे परिवारले माइतीलाई समेत जानकारी दिएनन् । माइती पक्षले छिमेकीबाट मृत्युको खबर पाएका थिए । उनीहरूले दाइजोका लागि छोरीलाई यातना दिएर मारेको आरोप लगाएका छन् ।

दाइजोका लागि शारीरिक र मानसिक हिंसाले पूजाको मृत्यु भएको भन्दै माइती पक्षले इलाका प्रहरी कार्यालय कोहलपुरमा पति र ससुराविरुद्ध कर्तव्य ज्यानको किटानी जाहेरी दिएको छ । पूजाको पोस्टमार्टम रिपोर्टमा विष सेवन गरेर मृत्यु भएको उल्लेख छ । पटक–पटकको यातनाबाट पीडित पूजालाई प्रहरीकै रोहबरमा ‘अबदेखि यातना नदिने सर्त’मा परिवारको जिम्मा लगाइएको मामा मोतीराम चौहानले बताए । पूजाका पति राजकुमार लोनियालाई भने प्रहरीले हिरासतमा राखेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐन बहादुर मल्लले घटनाबारे अनुसन्धानरत रहेको बताए । ‘कुनै दबाब र प्रभावमा परेर प्रहरीले अनुसन्धान गर्दैन । प्रमाणका आधारमा अनुसन्धान चलाउँछौं,’ उनले भने ।

केही महिनाअघि बाँकेको जानकी गाउँपालिकाकी गोडी वर्मा झुन्डिएको अवस्थामा मृत फेला परिन् । उनको हत्या भएको माइती पक्षको आरोप छ । गोडीका पतिविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको छ । दाइजोका कारण दिइएको मानसिक यातना, तनाव र कुटपिट गरी हत्या गरिएको माइती पक्षको जिकिर छ । यस्तै गत कात्तिक १६ मा आफ्नै कोठामा राप्तीसोनारी गाउँपालिका–७, पिप्रहवाकी अफसरुल खान भुन्डिएको अवस्थामा मृत भेटिइन् । मेडिकल रिपोर्टमा यो आत्महत्या देखिएको छ । पीडित परिवार भने यसलाई हत्या नै बताउँछन् ।

अफसरुलका पति र जेठाजु पुर्पक्षका लागि कारागार चलान भएका छन् । मृतकका बुबा मो. वाहव खानले छोरीको हत्या गरेर आत्महत्या पुष्टि गर्न खोजेको दाबी गरे । ‘अब छोरीलाई न्याय दिलाउन कानुनी लडाइँ लड्छु,’ उनले भने । अफसरुल खान र मेराज शेषको दुई वर्षअघि विवाह भएको थियो । अफसरुल श्रीमान्, सासू–सुसुरा, जेठाजु–जेठानी र नन्दसँग सगोलमा बस्दै आएकी थिइन् ।

बाँके प्रहरीमा घरेलु हिंसासम्बन्धी उजुरी हरेक वर्ष बढिरहेका छन् । आर्थिक वर्ष २०७६/७७ मा ५ सय १८ वटा घरेलु हिंसासम्बन्धी उजुरी परेकामा आव २०७७/७८ मा ७ सय ३८ र आव २०७८/७९ मा ८ सय ४४ वटा उजुरी परेका छन् । सबै उजुरी महिलाबाट आएका छन् । अधिकांश उजुरी मिलापत्रमै टुंगिने गरेका छन् । गएको तीन वर्षमा क्रमशः ३ सय ६३, ५ सय १० र ४ सय ५ उजुरी मिलापत्रमा टुंगिएका छन् भने ५८, ६१ र १ सय ३ उजुरी मात्रै अदालतसम्म पुगेका छन् ।

नेतृ विन्दु चर्ती मगरले दाइजोको निहुँमा एउटी महिलाको मृत्यु भएको घटनामा प्रहरी प्रशासन संवेदनशील हुन जरुरी रहेको बताइन् । ‘हामी अहिले पनि कोठामा महिला हिंसाविरुद्ध गोष्ठी चलाइरहेका छौं,’ उनले भनिन्, ‘हाम्रा छोरी–बहिनीहरू अझै दाइजोको नाममा मृत्युवरण गर्न बाध्य छन् ।’ पीडितमैत्री कानुन भएर मात्र नपुग्ने अधिकारकर्मी रुबी खानले बताइन् । ‘हाम्रो शैली पनि परिवर्तन गर्न आवश्यक छ,’ उनले भनिन्, ‘दाइजोका नाममा महिलाहरूले मृत्युवरण गर्नुपर्दा पनि प्रहरीले जाहेरी लिन मान्दैन ।’ अभियुक्तहरू छुट्दै जाँदा अपराध गर्नेहरूको मनोबल पनि बढ्दै गएको उनको भनाइ छ ।

प्रकाशित : पुस १०, २०७९ ०९:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×