कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सात प्रदेश भित्रै सिमांकन मिलाउन सकिन्छ : भट्टराई

माधव अर्याल

पाल्पा — पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेकै सात प्रदेशभित्र सिमांकनलाई मिलाएर समस्या समाधन गर्न सकिने बताएका छन् । को बताए ।

सात प्रदेश भित्रै सिमांकन मिलाउन सकिन्छ : भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेकै सात प्रदेशभित्र सिमांकनलाई मिलाएर समस्या समाधन गर्न सकिने बताएका छन् । उनले पहिला नै मिलाउनुपर्ने प्रदेश मिलाउन नसक्दा गल्ती भएकाले अहिलेको असहज परिस्थिति निर्माण भएको बताए ।

मगर राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिले तानसेनमा सोमबार गरेको ‘पहिचान र अधिकारको निम्ति मगरात संघर्ष’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘सात प्रदेशभित्र नै सिमांकन मिलाएर समाधन गर्न सकिन्छ ।’ उनले सबै पक्षलाई लिएर हिड्ने हो भने मगर र गुरुङ् बाहुल्य क्षेत्रलाई मिलाएर सिमांकन गर्न सकिने बताए । छुट्टै प्रदेश अहिले हुन नसक्ने बताउदै उनले व्यवहारिक कुरा भनेकै अहिलेका प्रदेशको सिमांकन मिलाउने नै भएको बताए ।
‘मधेस, थारुको समस्या समाधान गर्ने कुरा गर्दा विदेशीको एजेण्ट देख्ने काम भयो,’ उनले भने, ‘मगर, थारुका मागलाई सम्वोधन गर्नु अराष्ट्रिय तत्व भन्ने काम भएको छ ।’ उनले जनयुद्ध र विभिन्न कालखण्डमा मगर समुदायले गरेको गौरवपूर्ण बलिदानलाई बिर्सन नहुने बताए ।

उनले प्रदेश विभाजनमा सबैभन्दा बढी मगरातका बासिन्दालाई अन्याय भएको बताए । ‘प्रदेश विभाजनमा मगरात क्षेत्रलाई मिलाउनुपर्ने दृढ मत राखेको पनि हो,’ उनले भने, ‘एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले अन्तमा जुन काठको बोक्रा हो त्यसैमा टाँसिएझै केपी ओलीको प्रस्तावमा सहमति जनाएपछि बिग्रेको हो ।’

संसदीय दलको बैठकमा समेत विगतका सहमति र सम्झौताभन्दा फरक ढंगले जान नहुने बिचार राखेको उनले बताए । आफ्नै अध्यक्ष प्रचण्ड केपी ओली पथमा हिडेपछि समस्या समाधान गर्न नसकेको उनले गुनासो सुनाए । अधिकांश समय आफुले किन पाटीबाट राजीनामा दिनुपरेको र यसरी हिड्नु परेको भन्ने विषयलाई समय खर्चेका उनले भने, ‘संविधानमा सबै कुरा आफ्नो पर्छ भन्ने थिएन तर मगर, थारु र मधेशलाई अन्याय भएको पटक पटक भन्दै आएको थिए ।’ सत्ताको खेलले प्रचण्डले उत्पीडित जाति मगर जातिलाई बिर्सेको आरोप उनको थियो ।

मगर समुदायको जनयुद्धलगायत विभिन्न आन्दोलनमा धेरै रगत बगाएको स्मरण गर्दै भट्टराईले रगत खेरा गएकोमा आफूलाई दु:ख लागेको बताए । ‘मगरात क्षेत्रका बासिन्दाले चलाएको अधिकार प्राप्तिको आन्दोलनमा नैतिक र भौतिक सबै साथ रहनेछ,’ उनले भने ।

उत्पीडित समुदाय र क्षेत्रले अधिकार माग्दा राष्ट्रघाती देख्नेहरु ढोगी राष्ट्रवादी भएको आरोप लगाए । उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगले अधिकार माग्दा विदेशीको एजेण्ट देख्नेहरुले दिउँसै रात पार्ने खोजेको उनले बताए । ‘सबै क्षेत्र, समुदाय र जाति अधिकारसम्पन्न भए मात्र देश समृद्ध हुन्छ,’ उनले भने, ‘जनताले गरेको आन्दोलनलाई समर्थन गर्दा उस्कायो भन्नेको कुनै तुक छैन ।’

आन्तरिक समस्या समाधान नगरी बिदेशीलाई समस्यामा खेल्न दिने राष्ट्रबादी नभएको बताउदै उनले साइकल चढ्ने र टुकी बाल्ने भन्नेहरु राष्ट्रघाती र विदेशीको दलाल भएको आरोप लगाए । पार्टीबाट राजीनामा दिएको विषयमा उनले संघर्षमा एक्लै हुन सकिने भए पनि आफू निरास नभएको बताए । ‘मेरो अधिकांश जीवन संघर्षमै बितेको छ,’ उनले भने, ‘न्यायपूर्ण आन्दोलनमा संख्याले केही फरक पर्दैन ।’ जनताको पक्षमा निरन्तर संघर्षमा सत्ताको र पैसा हुनेका पछि धेरै भीडभाड हुने बताउदै उनले सही आन्दोलनको उठान भएरै छाड्ने बताए । प्रगतिशील, देशभक्त, गणतन्त्रवादी र देशमा केही गर्नुपर्छ भन्ने भावना भएकालाई साथमा लिएर नयाँ शक्ति गठन हुने उनले प्रष्ट्याए ।

आफ्ना मान्छे लिएर निस्कियो भने प्रचण्ड गुट, बावुराम गुटजस्तै हुने बताउदै छलफलबाट नयाँ शक्ति निर्माण हुने भएकाले आफू बाहिरिएको बताए । मगर संघ तथा मगरात संघर्ष समितिका नेता वसन्त घर्तीमगरले मगरातका मुद्दा उठाएर मात्र नभई अन्य हिसाबले पनि भट्टराईलाई राष्ट्रि्रय व्यक्तित्वको हिसाबबाट आफूहरुमा माग सम्बन्धित निकायमा पुऱ्याउन आग्रह गरेका थिए । विभिन्न व्यक्तिहरुले समसामयिक राजनीतिक तथा नयाा शक्तिको विषयमा जिज्ञासा राख्दै सुझाव दिएका थिए ।

एकीकृत माओवादी पार्टीबाट साधारण सदस्य नरहने गरी राजीनामा दिए पछि भट्टराई नागरिकसँग अन्तरक्रिया तथा छलफल अभियानमा छन् । एमाओवादी निकट मगर नेताहरुले मगर मोर्चाले गर्न लागेको अन्तरक्रिया कार्यक्रम रोक्न निर्देशन दिएका थिए । नन्दकिशोर पुन पासाङ्ले बावुराम सहभागी हुने कार्यक्रम रोक्न निर्देशन दिएको स्रोतले जनायो ।

तर आयोजक मगर समुदायले जनयुद्धमा सबैभन्दा बढी नेतृत्वलाई बिस्वास गरेर बन्दुक बोकेर रगत बगाएको तर अन्तमा धोका दिएको भन्दै कार्यक्रम गरेरै छाड्ने जनाएका थिए । जनयुद्ध सुरु गर्दा सबैभन्दा पहिले मगरात भूमीबाट बिद्रोह सुरु भएको स्मरण गर्दै उनले अब अन्यायमा परेपछि उच्च स्तरको बिद्रोह मगरात भूमिबाटै हुने मगर राष्ट्रिय मुक्ति मोर्चाका महासचिव बालकृष्ण काउछाले बताए ।

प्रकाशित : आश्विन १८, २०७२ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×