कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यातायात अस्तव्यस्त

जगदीश्वर पाण्डे

काठमाडौं — इन्धन अभावका कारण मुलुकभरकै यातायात क्षेत्र अस्तव्यस्त बनेको छ। छोटो तथा लामो दूरीमा चल्ने सवारी साधनको कमी भएपछि यात्रुले दु:ख पाएका छन्।

यातायात अस्तव्यस्त

भारतको अघोषित नाकाबन्दीका कारण मुलुकमा चरम इन्धन अभाव भएको हो। सरकारले आइतबारदेखि सवारी साधन सञ्चालनमा जोर/बिजोर प्रणाली लागू गरेको छ भने बुधबारदेखि निजीलाई पेट्रोल/डिजेल दिन छाडेको छ। ‘इन्धन आयात हुन छाडेकाले यातायात क्षेत्रमा समस्या भएको छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने।

उनका अनुसार छोटो दूरीको यातायातमा न्यून संख्याका साधन गुडेका छन्। लामो दूरीमा २५ प्रतिशत गाडी मात्र गुडिरहेको उनले जानकारी दिए।

‘महेन्द्रनगर, नेपालगन्ज, पूर्वलगायत लामो दूरीका साधनले हालसम्म आफैं इन्धन जोहो गरेर काम चलाइरहेका छन्,’ उनले भने, ‘तर, इन्धन अभावका कारण अधिकांश थन्किएका छन्।’ उनका अनुसार शुक्रबारदेखि अझै कम सवारी साधन गुड्ने अवस्था छ। ‘मुलुकभरकै समस्या भएकाले हामीले केही गर्न सक्ने स्थिति छैन,’ उनले भने।

यातायात क्षेत्र इन्धन अभावको चपेटामा परेको यातायात व्यवस्था विभागका निर्देशक वसन्त अधिकारीले बताए।

इन्धन संकट कायम रहे नजिकिंदो दसैं/तिहारका लागि यातायात व्यवस्थापनमा चुनौती थपिने उनको भनाइ छ।

उपत्यका र लामो दूरीमा गाडी कम भएकाले यात्रु जोखिमको यात्रा गर्न बाध्य भएका छन्। उपत्यका बाहिरको आवतजावत थप कष्टकर बनेको छ। यात्रुले सामाजिक सञ्जाल प्रयोग गरी लिफ्ट लिने अभियानसमेत चलाएका छन्।

सडकमा पैदल यात्रु बाक्लिएका छन्। उपत्यकामा साइकल यात्रु बढेका छन्। अधिकांश विद्यालय र कलेजले विद्यार्थीलाई छुट्टी दिएका छन्। केही दिनयता साइकलको व्यापार बढेको बालुवाटारका एक व्यवसायीले बताए।

प्रकाशित : आश्विन १५, २०७२ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?