कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महामहिम ज्यू यो संविधान ख्यालठट्टा हैन : ओली

उप-राष्ट्रपतिको विज्ञप्तिप्रति ओलीको आक्रोश
संविधान पुनर्लेखन हुँदैन
दुर्गा खनाल

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी ओलीले उप-राष्ट्रपतिलाई राजनीति नगर्न आग्रह गरेका छन् । मंगलबार एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले उप-राष्ट्रपति परमानन्द झाद्वारा सोमबार जारी विज्ञप्तिप्रति लक्षित गर्दै राजनीति नगर्नुपर्ने संस्थाले राजनीति नगरेकै राम्रो भएकाे टिप्पणी गरे ।

उनले भने, 'महामहिम ज्यू, म भन्न चाहन्छु, यो संविधान कुनै ख्यालठट्टा हैन । जनताद्वारा निर्वाचित संविधानसभाले बनाएको संविधान हो । राजनीति नगर्नुपर्ने संस्थाले राजनीति नगर्दा नै राम्रो हुन्छ ।'

उनले उपराष्ट्रपतिलाई आफ्नो मर्यादा भित्रै बस्न आग्रह गरे ।

यसैगरी कार्यक्रममा ओलीले भारतले नेपालको संविधानलाई स्वागत नगर्नु उचित नभएको टिप्पणी गरे । उनले भने, 'भारतजस्तो मित्र राष्ट्रले संविधान बनेकोमा स्वागत गरेन । नोटिस मात्रै लिएको भन्यो । उसका व्यवहारहरु अरु प्रकारका पनि देखिन थालेका छन् । भारतजस्तो लोकतान्त्रिक मानिएको देश यस्ता कुरामा अल्झिनु नसुहाउने र अनुचित काम हो ।'

उनले भारतले नेपाजस्तो भुपरिवेष्ठित सानो देशमा यस्तो (नाकाबन्दी) गर्नु अनुचित भएको बताए । उनले भने, 'आपूर्ति व्यवस्थालाई अविलम्ब सहज बनाउन म आग्रह गर्दछु । यसलाई लामो समयसम्म निरन्तरता दिनु हुँदैन ।'
 
अध्यक्ष ओलीले सबै संघसंस्था र दलहरुलाई लोकतान्त्रिक विधिमा अघि बढ्न म आग्रह गरेका छन् ।

अहिले तराईमा भएको आन्दोलनरत मधेसी नेताहरुसँग कुराकानी गरिरहेका ओलीले जानकारी दिए । उनले देशलाई दुरगामी असर पार्ने र एकता, राष्ट्रिय अखण्डता लागायतका कुरालाई स्वीकार्न नसकिने बताए ।
 
उनले संविधान जारी भएकोमा खुशीयाली मनाउनु पर्नेमा मधेसवादी नेताहरु धेरै भावनामा भडकिएको बताए ।

यसैगरी अध्यक्ष ओलीले अहिले केही नेताले संविधान पुनर्लेखन गर्नुपर्ने माग गरेको र उक्त कार्य हुनै नसक्ने बताए । उनले भने, 'कसैकसैले संविधान पुनर्लेखन गर्नुपर्छ भनेको पनि सुनेको छु । संविधानसभा सक्किसक्यो । संविधान जारी भैसक्यो। जिद्दिको पनि हद हुन्छ नी । असंवैधानिकताको पनि हद हुन्छ नी । पुनर्लेखन हुँदैन ।'

उनले यो संविधान समानुपातिक, समावेशी र सबै प्रतिनिधिकमूलक रहेको र अन्य देशको भन्दा उत्कृष्ट रहेको बताए ।

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजबाट सुरु भएको हो। देशभरका ६ सय अगुवा नेता छन् । भेला संविधानमा भएका विशेषता र संविधान निर्माणमा पार्टीले खेलको भूमिका र अब के गर्ने विषयमा केन्द्रित छ ।
 
यो भेलापछि अगुवा कार्यकर्ता संविधानको विषयलाई प्रचारप्रसार र कार्यान्वय प्रयोजनको लागि देशव्यापी परिचालित हुनेछन् ।

प्रकाशित : आश्विन १२, २०७२ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?