कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदर्शनीस्थलमा परिणत भए ‘दसगजा’

वीरगञ्ज–रक्सौल सीमामा ६ दिनदेखि धर्ना
कान्तिपुर संवाददाता

काठमाडौं — नयाँ संविधानविरुद्ध आन्दोलन चलिरहेका ठाउँमा नेपाल–भारत सीमा दसगजा क्षेत्रमा प्रदर्शन हुन थालेका छन् । नेपाली क्षेत्रमा प्रदर्शन गर्दा प्रहरीले पक्राउ गर्ने र लाठी चार्ज गर्ने गरेपछि प्रदर्शनकारीहरु दसगजा र भरतीय क्षेत्रमा जम्मा हुन थालेका हुन् ।

प्रदर्शनीस्थलमा परिणत भए ‘दसगजा’

गत आइतबार झापाको काकरभिट्टा नाकामा प्रदर्शनकारीहरु मेची पुलबाट भारतीय क्षेत्रमा पुगे । तर, प्रहरी दसगजा कटेर जान मिलेन । सोमबार र मंगलबार भैहरवा–सुनौली नाकामा दसगजा क्षेत्रको पल्लोपट्टि प्रदर्शनकारी र वल्लोपट्टि प्रतिकार गर्नेहरु भए ।

वीरगञ्ज र रक्सौलबीचको दसगजा क्षेत्र पनि अहिले प्रदर्शनस्थलमा परिणत भएको छ । पछिल्ला केही दिनदेखि यो दसगजा क्षेत्रमा पाल टाँगेर धर्नाकारीहरु बसिरहेका छन् । दसगजामा पर्ने मितेरी पुलमाथि ६ वटा पाल टाँगिएका छन् ।

सामान्य अवस्थामा कर्मचारीबाहेक अन्यलाई निषेध गरिने रक्सौल कस्टम भवन अगाडि अहिले आन्दोलनरत दलका नेता कार्यकर्ता बसिरहेका देखिन्छन् । आन्दोलनकारीको सरसफाईका लागि रक्सौल नगर निगम(नगरपालिका)ले पानी र घुम्ती शौचालयको व्यवस्था धर्नास्थलमै गरिदिएको छ ।

अन्य सीमाक्षेत्रमा केही बेर प्रदर्शन भएपनि धेरै समय प्रदर्शनकारी बस्ने गरेका छैनन् । मंगलबार भैहरवा–सुनौली क्षेत्रमा पनि केहीबेर दसगजामा प्रदर्शन भएपछि दुवैतिरका प्रहरीले स्थिती नियन्त्रणमा लिएर दसगजा क्षेत्र खाली गराए । तर, वीरगञ्ज–रक्सौलमा भने त्यस्तो भएको छैन । पछिल्लो विगत ६ दिनदेखि दसगजा खाली गराइएको छैन ।

केही दिनअघि आन्दोलनकारीले ढुंगा प्रहार गर्न थालेपछि भीड तितरबितर पार्न प्रहरीले ४ राउण्ड आश्रुग्यास प्रहार गरेको थियो । आश्रुग्यासको टोटा आन्दोलनकारीले हातले उठाएर भारतको सीमानातिर फ्याकिदिएका थिए । ‘केहीबेरमा भारतीय प्रहरी आइपुग्यो, भीड हटाउनुभन्दा पनि उनीहरुले आश्रुग्यासको टोटा भारतीय भूमिमा कति भित्र आएको भनि फित्ता लिएर नाप्न थाले,’ एक प्रत्यक्षदर्शीले भने, ‘त्यसपछि उनीहरुले आन्दोलनकारीलाई त्यही बस्न अनुमति दिए ।’

दसगजामा धर्नाबस्दा भारतीय पक्षले सघाएको भन्ने कुराको सद्भावनाका अध्यक्ष एवं मधेशी मोर्चाका नेता राजेन्द्र महतो खण्डन गर्छन् । दुई दिन पहिले धर्नास्थलमै पत्रकारहरुसँग बोल्दै उनले ‘यो धर्नामा भारतको कुनै सहयोग छैन, ‘यो मोर्चाको धर्ना हो’ भनेका थिए ।

दसगजा क्षेत्रमा धर्नाका कारण अवरोध कायम रहेसम्म भारतले पेट्रोलियम र अन्य सामाग्री नेपाल नपठाउने मनसाय बनाएको देखिन्छ । धर्ना र प्रदर्शन सकिएपछि भारतीय पक्षले सामान रोक्ने सक्दैन । भारतको यो अघोषित नाकाबन्दीले राजधानी काठमाडौंमा असर पर्न थालेकाले आन्दोलनकारीले यसलाई आफ्नो पक्षमा दबाब बढेको ठानेका छन् । यसैले धर्ना र प्रदर्शन जारी राखेका छन् । सीमा क्षेत्रको प्रदर्शन हटाउन भारतीय पक्षले चासो नदेखाएको नेपाल प्रहरीका एक अधिकारीले गुनासो गरे ।
धर्ना बस्नेहरुका लागि रक्सौलका व्यापारी महेश अग्रवालको गोदाम परिसरमा बिहान र साँझको खाना पाक्ने गरेको छ ।

‘रक्सौल बजार नेपाली उपभोक्ताकै भरमा चलेको हो,’ छपकैयाका अफरोज अन्सारीले भने, ‘४५ दिनको बन्दले उनीहरुको व्यापार पनि चौपट भएको छ । उनीहरु पनि आन्दोलनको सामाधान चाहन्छन्, ताकि व्यापार सुचारु होस् ।’

नेपालका ठूला चाडपर्वमा रक्सौलमा ह्वात्तै व्यापार बढ्छ । तर, यसपटक आन्दोलनका कारण तीजमा रक्सौलमा खासै व्यापार भएन । अरु वर्षमा तीजका बेला रक्सौलमा साडी र कुर्ता सुरुवालको मात्रै लाखौंको व्यापार हुन्थ्यो ।

अब दसैं नजिक आइरहेकाले रक्सौलका व्यापारी पनि चिन्तित बन्न थालेका छन् । दसैंको किनमेल सुरु हुनेबेला हुँदै गर्दा प्रदर्शनले नाका नखुल्दा रक्सौलमा रौनक सुरु भएको छैन ।

प्रकाशित : आश्विन १२, २०७२ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?