भैरहवा नाकामा बन्दकर्ता र बन्दविरोधीबीच ढुंगा हानाहान- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भैरहवा नाकामा बन्दकर्ता र बन्दविरोधीबीच ढुंगा हानाहान

स्थिति नियन्त्रणमा
कान्तिपुर संवाददाता

काठमाडौं — भैरहवाको सुनौली नाकामा बन्दकर्ता र बन्दविरोधीबीच मंगलबार ढुंगा हानाहान भएको छ । बन्दकर्ताले नेपाल भारत सीमा क्षेत्र दशगजाबाट नेपालतर्फ रहेका बन्दविरोधीलाई ढुंगा हानेपछि तनाव श्रृजना भएको थियो ।

नेपालबाट बन्दको विरोधमा गएको प्रतिकार समूहलाई दशगजामा बसेका करिव १ सय ५० जना आन्दोलनकारीले पहिला ढुंगा हानेका थिए ।

आन्दोलनकारीले ढुंगा हानेपछि नेपालतर्फबाट पनि ढुंगा हान्न सुरु गरिएको प्रहरीले जनाएको छ ।

नेपाल तर्फ बन्दको प्रतिकार गर्न महिला, बालबालिका तथा युवाहरु गएका थिए ।

नेपाल प्रहरीले अहिले स्थिति नियन्त्रणमा लिएको छ ।

प्रकाशित : आश्विन १२, २०७२ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्

यू-१६ को विश्वकप लक्ष्य

विनाेद पाण्डे

काठमाडौं — क्रिकेट खेलाडीको तुलनामा नेपाली फुटबल खेलाडी हत्तपत्त बोल्दै बोल्दैन । जब बोल्छन् त्यसले ठूलो अर्थ राख्छ । किर्गिस्तानमा एएफसी यु–१६ छनोटचरण खेल्न गएको नेपाली खेलाडीलाई सुरुमै दबाब आइपरेको थियो ।

क्रिकेट खेलाडीको तुलनामा नेपाली फुटबल खेलाडी हत्तपत्त बोल्दै बोल्दैन । जब बोल्छन् त्यसले ठूलो अर्थ राख्छ । किर्गिस्तानमा एएफसी यू–१६ छनोटचरण खेल्न गएको नेपाली खेलाडीलाई सुरुमै दबाब आइपरेको थियो । प्रशिक्षक उपेन्द्रमान सिंहले त्यो दबाब थुपारिदिएका थिए, हरेक मिटिङमा टोलीका सवैले आफ्नो भनाइ राख्नुपर्ने भनेर ।

नेपाल भोलिपल्ट जोर्डनसँग खेल्दै थियो । अघिल्लो दिन प्रशिक्षकको यस्तो उर्दीपछि सबै खेलाडीको टाउको निहुरिइसकेको थियो, बोल्नुपर्छ भनेर । खेलाडीका लागि बोल्नु र हिमाल चढ्नु उस्तै देखिन्थ्यो । प्राय: खेलाडी मसिनो स्वरमा ‘हामीले राम्रो खेल्नुपर्छ, सबैलाई शुभकामना’ भन्दै आफ्नो भनाइ सिध्याइरहेका थिए । सास नसकिंदै उनीहरूको मन्तव्य सकिइसकेको हुन्थ्यो ।

असिम भुसाल भर्खर यू—१४ बाट तानिएका खेलाडी हुन् । उनले आफ्नो बोल्ने क्रममा भने, ‘हामीभन्दा जोर्डन धेरै माथिको टोली हो, तर पनि हामीले विजय हात पारेर राष्ट्रिय टोलीले ९ गोल खाएको बदला लिनुपर्छ ।’ उनको भनाइ नेपाल चार वर्षअघि विश्वकप छनोटमा जोर्डनमा ९ गोल खाएकोप्रति लक्षित थियो । हुन त नेपालले काठमाडौंमा दोस्रो लेगमा १—१ को बराबरी खेलेर एतिहासिक नतिजा निकालेको थियो । तर नेपाली फुटबलले अझै जोर्डनको पहिलो लेगको नतिजा बिर्सन सकेको छैन । त्यसैलाई असिमले चित्रित गरेका थिए । असिमको यही भनाइमा आफ्नो साथीबाट सबैभन्दा ठूलो ताली पाए । नेपाली फुटबलको विगतको अवस्थाबारे बोलेर मात्र होइन अफिसियलका अगाडि वजनदार भनाइ राखेर उनलाई साथीहरूले ठूलो तालीको साथ दिएका थिए ।

किर्गिस्तान गएको नेपाली यू—१६ टोलीमा सबै एन्फा एकेडेमीबाट उत्पादित खेलाडी छन् । २०५६ सालदेखि नै अखिल नेपाल फुटबल संघले आफ्नै मातहात रहने गरी एन्फा एकेडेमी चलाइरहेको छ । होस्टेलमा प्राय: यसको रेखदेखको जिम्मा टक्कर थापामा हुन्छ । अफिसियलको रूपमा किर्गिस्तानमा रहेका थापाले खेलाडीले यसरी बोल्न लागेको पत्याउनै सकेनन् । पत्याउन पनि कसरी ? थापाका अनुसार एन्फा एकेडेमीको कुनै पनि ब्याचले यसअघि खेलाडी पिच्छै बोलेको देखेका थिएनन् । त्यसमा असिम जसरी बोल्ने त कोही नै थिएनन् । प्रशिक्षक सिंहको नेपाली टोलीलाई तयार पार्ने यो एउटा योजना थियो । त्यसमा उनी सफल हुँदै थिए । जोर्डनसँगको खेल जितेर अन्य दुई टोलीसँग ‘गोर्खाली शक्ति’ देखाएर आफूअनुकूल नतिजा ल्याउने मोटामोटी रणनीति थियो नेपालको ।

समूह ‘बी’ खेल सुरुअघिको पत्रकार सम्मेलनमा आयोजक किर्गिस्तान र ओमानले एक्कासि जोर्डनलाई दाबेदारमा उभ्याइदिए । ओमान त्यही टोली थियो जसले गल्फ कपमा जोर्डनलाई हराएको थियो । रसियन ‘ब्लक’ टोलीसँग खेल्न नेपाललाई सधैं फलामको चिउरा चपाएजस्तो हुन्थ्यो । त्यसमा यसपटक किर्गिस्तान आफैं आयोजक राष्ट्र ।

जोर्डन नेपालभन्दा निकै माथिको टोली थियो । राष्ट्रिय टोलीको फिफा वरीयतामै जोर्डन ९१ र नेपाल १ सय ८५औं स्थानमा छ । त्यसमा जोर्डनका स्ट्राइकर फारिस अब्देल हक यूएईको यूथ लिगमा खेलिरहेका खेलाडी थिए । यसले प्रशिक्षक सिंहको तनाव झन् बढाएको थियो । अब नेपालले कसलाई जित्ने त । अझ जोर्डन प्रशिक्षक सामिह इलक्वातातीले नेपाललाई रहस्यम टिम हुन सक्ने मात्र बताएका थिए । सिंहको आफ्नै योजनाहरू थिए । जितको लालसा, एकाग्रता र स्वउत्प्रेरणा । खेलाडीलाई यी तीन मन्त्र दिएका थिए सिंहले । सिंह र अर्का प्रशिक्षक राजेश मानन्धर खेलाडीहरूलाई भन्थे, ‘राष्ट्रिय टोली जस्तोसुकै होस उमेर समूहमा त्यसले कुनै फरक पार्दैन । यसमा सबैको स्तर एउटै हुन्छ । सबै खेलाडीले र टोलीले शून्यबाट सुरु गर्नुपर्छ । लामो समयदेखि सँगै खेलिरहेकाले हाम्रो स्तर अझ माथि छ ।’ बिस्केकको डोलोन ओमुरजाकोभ रंगशालामा पहिलो खेलमा भयो पनि त्यही । छोटो पास, सानदार ड्रिब्लिङ, निकै छरिता विङ्स र स्ट्राइकर तथा रक्षकहरूले ओभरल्यापमा आएर गर्ने क्रसहरूपछि नेपाली टोली बेजोड देखियो । जोर्डनले पत्तो पाउनै सकेन ।

जोर्डनले खेलको अन्त्यतिर लय मिलाउने प्रयास गरेको थियो । तर नेपालले २—१ को नतिजा निकाल्यो । यो यस्तो नतिजा थियो जहाँ नेपालले जोर्डनलाई कुनै पनि समूहमा पहिलोपटक पराजित गरेको थियो । असिमको त्यो भनाइ जसले खेलाडीको मनोबललाई उठाएको थियो, त्यसलाई मान्ने हो भने नेपालले विश्वकप छनोटमा जोर्डनसँग राष्ट्रिय टोलीले ९ गोल खाएको बदला लिएका थियो । प्रशिक्षक सिंहले जोर्डन कस्तो टोली हो भनेर नतिजा आएपछि यसरी मात्र खुलासा गरे, ‘साँच्चै भन्ने हो भने जोर्डनसँग खेल्नुपर्दा म निकै डराएको थिए । किन भने उनीहरूबारे केही थाहा थिएन । उनीहरूको फुटबल संस्कार राम्रो छ । हाम्रो उनीहरूसँग केही तुलनै हुन सक्दैन । त्यसैले यो नतिजालाई भाग्यमानी पनि भन्नुपर्छ ।’ नेपाललाई रहस्मय टोली भन्ने जोर्डनका प्रशिक्षक इलक्वाताती हार स्विकार्न सकिरहेका थिएनन् ।

कप्तान आफैं उदाहरणीय हुनुपर्छ, कम्तीमा आफ्नै खेलाडीका लागि भए पनि । नेपाली टोली बिस्केक पुगेर जोर्डनसँगको खेलमा उभिँदासम्म मनीष कार्कीमा त्यो क्षमता देखिएको थिएन । जोर्डनसँगको खेलअघिको २—३ टिम मिटिङमा उनी पनि अन्य खेलाडीझैं टाउको लुकाएर ‘अफिसियल’ को भनाइ सुनिरहेको हुन्थे । जोर्डनसँगको स्मरणीय विजयले मनीषमा पनि ठूलो परिवर्तन ल्याइसकेको थियो । उनी नेपाललाई यस विजयको कति अर्थ छ भनेर प्रस्ट्याउनेसमेत भइसकेका थिए ।
पहिलो खेलमा देखाएको प्रदर्शनपछि अन्य टोली नेपाललाई लिएर चकित भइसकेका थिए । सबैले नेपाललाई दाबेदार मान्न लागिसकेका थिए । पहिलो दिन ओमान र आयोजक किर्गिस्तानबीचको खेलले प्रशिक्षक सिंहमा अझै डर थपिदिएको थियो । दुवै टोलीले निकै फास्ट खेलेका थिए । सिंहलाई त त्यो खेल कता कता यूरोपियन च्याम्पियन्स लिगको जस्तो पनि लागेको थियो । मध्यान्तरसम्म किर्गिस्तानसँग नेपालको नतिजा सिंह डरजस्तै थियो । नेपाल २—० ले पछाडि परेको थियो ।
नेपालले सुरुआतमै केही राम्रो मौका गुमाएको थियो । चेन्जिङ रुममा मध्यान्तरमा कसैको मुखबाट आवाज निस्किएको थिएन । त्यसपछि प्रशिक्षक सिंह गर्जिए । पहिला उनले नेपालले पाएको अवसरलाई उदाहरण दिए । अनि किर्गिस्तानले ३१ मिनेटमा २ गोल गर्न सक्छ भने नेपालले किन ३ गोल गर्न सक्दैनौं ? जोर्डनसँग खेलपछि हौसिएका नेपाली खेलाडीहरूले सेनामा जाँच दिन गएको जसरी ३६ इन्च छाती फुलाएर भने, ‘सक्छौं ।’ १८ मिनेटको अन्तरमा ३ गोल गरेर नेपालले ४–२ ले खेल आफ्नो पक्षमा पारेको थियो । नेपालको यो अर्को एतिहासिक नतिजा थियो । पहिलो २ खेलले अन्य समयमा दबिएर खेल्ने नेपालको गोल स्कोरिङ क्षमता देखाइसकेको थियो । रेजिन सुब्बा, दिनेश हेन्जन, अशोक थापा, अभिषेक रिजालजस्ता खेलाडी विपक्षीका लागि कसरी रोक्ने विषय बनिसकेका थिए ।

प्रशिक्षकद्वय सिंह र मानन्धर नेपाली टिम व्यवस्थापनले खेलाडीलाई यो स्थितिमा ल्याउन के मात्र गरेनन् । किर्गिस्तान भ्रमणमा सबै खेलाडीका लागि मोबाइल लान बन्देज लगाइएको थियो । ल्यापटप, सेल्फी स्टिक सबै प्रतिबन्ध थिए । मोबाइलमा पनि विशेषगरी सोसल मिडियामा फेसबुक चलाउन नपाएर खेलाडीहरू ‘सिक’ भएजस्ता देखिन्थे । भ्रमणमा जाँदा फोटो पनि खिच्न नपाउने र फेसबुक पनि चलाउन नपाउँदा उनीहरू नीरस महसुस गर्थे । बिस्केको होटल होस् या इस्तानबुलको ट्रान्जिट नौलो कोही भेटिएमा खेलाडीहरू सजिलै नजिकिन्थे । उनीहरू मेरो फोटो खिच्दे, अनि मलाई फेसबुकमा एड गर र त्यसमा फोटो पठाइदे भन्दै नयाँ व्यक्तिहरूसँग पनि सजिलै हिमचिम हुन्थे । मोबाइल चलाउँदा खेलाडीहरू छुटिएर बस्ने गरेको आरोप प्रशिक्षक सिंहको थियो । उनका अनुसार नेपाली टोलीमा राखिएको यो नयाँ नियमले खेलाडीलाई एकजुट बनाउन पनि मद्दत गरेको थियो ।

अनुशासनमा अझ बढी जोड दिइएको थियो । एन्फा एकेडेमीमा रहेका खेलाडीहरूलाई लिएर अनुशासनबारे धेरै चर्चा हुने गरेको छ । यसपटक पल्टनमा रहेका सिपाहीलाई जसरी खेलाडीलाई अनुशासनको दायरामा ल्याइएको थियो । बिस्केक पुगेपछि नेपाल पहिलो दिन अभ्यासका क्रममा जान लाग्दा रेजिन, राजेश परियार, सुमन अर्याल र राजीव लोप्चान बसमा १५ मिनेटजस्तो ढिला गरी आइपुगेका थिए । प्रशिक्षकद्वयले यी चार खेलाडीलाई केही सजाय दिने योजना बनाइसकेका थिए । तर जोर्डन टोलीले नेपालको प्रशिक्षण हेरिरहेकाले उनीहरू सजाय पाउनबाट जोगिए ।

किर्गिस्तान जानुअघिसम्म प्रेजेन तामाङ नेपालको अग्रपंक्तिका प्रमुख खेलाडी थिए । ओमानसँग खेल्ने दिन नेपालले हरेक दिनजस्तो बिहान १५ मिनेट स्ट्रेचिङ गरेको थियो । प्रेजेन १२ मिनेट ढिला आइपुगे । प्रशिक्षक सिंहले उनलाई स्ट्रेचिङमै मात्र नभई ओमानसँगको खेलमा प्लेइङ ११ मै राखेनन् । उनको भनाइ थियो, ‘खेलाडी जत्तिकै प्रतिभावान होस, तर ऊ अनुशासनमा बस्दैन भने उसले आफ्नो प्रतिभाअनुसार कहिल्यै खेल्न सक्दैन ।’ प्रेजेनको हकमा उनको बुझाइ पनि त्यही थियो ।
नेपाल यू–१६ ले यसअघि तीनपटक एएफसी यू–१६ छनोट चरण पार गरेको थियो । सबै स्वदेशी भूमिमा थियो । ओमानसँगको अन्तिम खेलमा नेपालले बराबरीको नतिजा निकाल्न सक्यो भने पनि भारतमा हुने एएफसी यू १६ च्याम्पियनसिपमा छनोट हुने थियो । विदेशी भूमिमा नेपालले यो सफलता पहिलोपटक पाउने थियो । तर नेपाल ३–१ ले पराजित भयो । मध्यान्तरसम्म नेपाल २–० ले पछाडि थियो । तर किर्गिस्तानविरुद्धजस्तो नेपालले नतिजा उल्टाउन सकेन । ओमानले नेपालको सबै खेल बुझेको थियो । दुवै विङ्सलाई कसेर राखेको थियो र क्रस भइहालेको बल पनि उनीहरूले सजिलै क्लियर गरेका थिए ।
नेपाल र ओमानको दुवै ६–६ अंक भएको थियो । हेड टु हेडमा पनि ओमान अगाडि थियो । यस्तोमा नेपालको अन्तिम आशा किर्गिस्तान र जोर्डनसँगै अन्य समूहको केही खेलमा थियो । एएफसी यू–१६ को समूह चरणमा कुल ११ समूह थिए र त्यसबाट सबै विजेता अर्को वर्ष भारतमा हुने च्याम्पियनसिपमा छनोट हुन्थे । नेपालले समूह विजेता हुने मौका गुमाइसकेको थियो । त्यस्तै शीर्ष चार उपविजेता पनि च्याम्पियनसिपमा पुग्ने थिए । किर्गिस्तानले जोर्डनलाई पराजित गरेपछि र अन्य केही नतिजा आफूअनुकूल आएपछि नेपाल चौथो उपविजेताको रूपमा एएफसी यू–१६ च्याम्पियनसिपमा छनोट भएको थियो ।

असोज ३ गते नेपालका लागि एतिहासिक दिन बन्दै थियो । त्यस दिन संविधान जारी हुँदै थियो नेपालमा । किर्गिस्तानमा ओमानसँग त्यही दिन आफूअनुकूल नतिजा निकालेमा नेपाल यू–१६ पहिलो पटक विदेशी भूमिबाट छनोट हँुदै थियो । बिहानको टिम मिटिङमा अधिकांश संविधान र नेपाल यू–१६ को सम्भावित सफलतालाई जोडेर हेरिएको थियो । नेपालले त्यो आफ्नो हातबाट त्यो मौका चुकाएको थियो । तर असोज ४ हुनुअगाडि नै यू–१६ टोलीले संविधान जारी भएको खुसीमा अर्को उत्साह थपिसकेको थियो छनोट भएर । गोलरक्षक अर्पण कार्कीको सानदार प्रदर्शनअगाडि सन्देश गुरुङ गोलपोस्टमुनि सधैं दोस्रो नम्बरमा रहे । ‘मेहनत र जोश हाम्रो राम्रो थियो, मुख्य टिमवर्क हो,’ सन्देश भन्छन, ‘खेल्न पाउनु र नपाउनुमा यसले कुनै सरोकार राख्दैन ।’ रक्षक रोमन लिम्बु नेपाल दोस्रो चरणका लागि योग्य भएकाले छनोट भएको तर्क राख्दै थिए ।

किर्गिस्तान, जोर्डन र ओमानसँग नेपाल नेपाल छनोट चरणका प्रतिद्वन्द्वी थियो । नेपाल यू–१६ टोलीको प्रतिस्पर्धा नेपाली यू–१९ फुटबल टोलीसँगैं थियो । अघिल्लो महिना बंगलादेशमा साफ यू–१६ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमै रोकिएको थियो । पुरानो प्रतिद्वन्द्वी भारतले नेपालको आशा समाप्त पारेको थियो । त्यसपछि नेपाल रित्तो हात नेपाल फर्कनुपरेको थियो । नेपाली टोली फर्किंदा कुनै त्यस्तो ठूलो स्वागत नपाएपछि सफलताको अर्थ उनीहरूले थाहा पाएका थिए । त्यसमा यू–१९ ले साफ च्याम्पियनसिप जितेपछि यू–१६ टोली ओझेलमा परेको जस्तै भएको थियो । अझ यू–१९ को सम्मान क्रम सुरु भएको थियो । त्यसले उनीहरूको छाती पोल्न सुरु गरेको थियो । आफूभन्दा सिनियरहरूले सम्मान पाएर नभई आफूहरूले चुकाएकोमा ।

नेपालले फुटबलको विश्वकपमा सहभागिता जनाउन सक्ने भनेको उमेर समूहमा मात्र हो । त्यसमा पनि विशेषगरी यू–१६ मा । तर नेपालले यसअघि सहभागिता जनाएको एएफसी यू–१६ च्याम्पियनसिपमा समूह चरण पार गर्न सकेको छैन । सेमिफाइनलसम्म पुग्ने टोलीले फिफा यू–१७ विश्वकपमा प्रवेश पाउँछन् । नेपालको लक्ष्य उमेर समूहमा विश्वकप खेल्ने छ । अहिले त्यो लक्ष्यमा नेपाली यू–१६ टोली अगाडि आएका छन् ।

प्रकाशित : आश्विन १२, २०७२ १२:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×