कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनकपुरमा बाबुरामको मञ्चमा आगजनी

श्यामसुन्दर शशि

काठमाडौं — पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सम्बोधन गरेर निस्किएपछि जनकपुर सभाको मञ्चमा तोडफोड र अागजनी भएको छ । सभामा सम्बोधन गरेर भट्टराई निस्किएपछि पूर्वसहमति अनुसार संविधान नजलाइएको भन्दै मञ्च तोडफोड र अागजनी गरिएको हो ।

जनकपुरमा भट्टराई सभाको माहोल बनाउन सक्रिय रामकुमार शर्मा लगायतसँग संविधान जलाउने लगायतका ३ वटा सहमति भएको तर सभामा नजलाइएको भन्दै अागजनी गरिएको हो ।

भट्टराईले सभामा कांग्रेस एमाले र एमाअोवादी पूराना पार्टी भएकाले नयाँ शक्तिको खोजी गर्न अाफू जनकपुर अाएको बताएका थिए । एमाअोवादी पार्टी परित्याग गरेर जनकपुर पुगेका भट्टराईले जनकपुरमा अायोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

'म यहाँ नयाँ शक्तिकाे खाेजिमा अाएकाे हुँ,' उनले भने, 'नयाँ शक्ति अवश्य बन्छ ।' उनले मधेस अान्दाेलन प्रति अाफ्नाे पूर्ण समर्थन रहेकाे बताउँदै भारतले गरेकाे अघाेषित नाकाबन्दीकाे कुटनीतिक समाधान खाेज्नु पर्ने बताए ।

जनकपुर विमानस्थलमा आइसकेपछि भट्टराईको आग्रहमा आन्दोलनकारीहरुबीच संविधान नजलाउने भन्ने सहमति भएपछि भट्टराई फेरि विमानस्थलबाट फर्केर गोपाल धर्मशालामा सम्बोधन गर्न गएका हुन् ।

उनले संविधान च्यात्नु, जलाउनुको साटो संशोधन गर्दै अघि बढ्न आग्रह गरेका छन् ।

केहीसमयअघि सभास्थलमा हुलहुज्जत भएको र अहिले वातावरण शान्त रहेको छ ।

.....................................

पूर्व प्रधानमन्त्री भट्टराईले मधेस आन्दोलनप्रति ऐक्यवद्धता जनाउन जनकपुर आएको बताएका छन् ।

जनकपुर विमानस्थलमा उपस्थित सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘झण्डै डेढ महिनादेखि मधेस आन्दोलनमा छ । राज्यले मधेसका जायज माग सम्बोधन गरेको छैन । मधेस आन्दोलनप्रति ऐक्यवद्धता जनाउन यहाँ आएको छु ।’

मधेस र राजधानीबीचको दूरी निरन्तर बढदै गएको उल्लेख गर्दै उनले मधेस र राजधानीबीचको दुरी घटाउन आफू पुलको रुपमा काम गर्ने बताए । सरकारसँग हुने वार्तामा तपाई पनि सहभागी हुने ? भन्ने कान्तिपुरको जिज्ञासामा उनले भने, ‘आवश्यक परे म सहजकर्ताको भूमिका निर्वाह गर्न सक्छु ।’

एमाओवादी राजिनामापछि नयाँ पार्टी खोल्ने विषयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उनले भने, 'म राजनीतिक व्यक्ति हुँ । राजनीति त गरिन्छ तर नयाँ पार्टी खोल्ने विषयमा ठोस निर्णय गरि सकेको छुइनँ ।’

भट्टराईलाई स्वागत गर्न एमाओवादी नेता रामचन्द्र झा, राष्ट्रिय मधेसी मोर्चा(क्रान्तिकारी)का अध्यक्ष रामकुमार शर्मा, महासचिव रामरिझन यादवसहित एमाओवादी नेता तथा सयौंको संख्यामा कार्यकर्ता विमानस्थल पुगेका थिए ।

विमानस्थल बाहिर नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य राजीव झासहित आन्दोलनरत युवा समूह सम्बद्ध युवाहरुले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले भट्टराई विरोध चर्का नारावाजी समेत गरेका थिए ।

विमानस्थलबाट यात्री निवास पुगेका भट्टराई तमरा अभियानका संयोजक जयप्रकाश गुप्तासँग छलफल गरेका थिए । दुबै नेताबीच कुन विषयमा छलफल भएको थियो, यस विषयमा भने अहिले थाहा हुन सकेको छैन ।

उनी अपरान्ह गोपाल धर्मशालामा आयोजित विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । आन्दोलनरत केही समूहको विरोधलाई दृष्टिगत गरी स्थानीय प्रशासनले नगर क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

.....

केही दिन अघि मात्रै एमाओवादी र संसद पद त्यागेको घोषणा गरेका डा. बाबुराम भट्टराई आज जनकपुर जाने भएका छन् । उनी जनकपुर गएर आजै फर्किने स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।

पहाड र मधेसबीच देखिएको दुरी कम गरी संविधान जारी भएको खुशीयालीमा सबै नेपालीले दीपावली गर्ने वातावरण बनाउनु आफ्नो पहिलो एजेण्डा भएको भट्टराईले बताएका छन् ।

सीमांकनलगायत बिषयमा असन्तुष्टि व्यक्त गर्दै तराई केन्द्रित दलको आन्दोलनको कारण तराई ६ हप्तादेखि ठप्प छ । आन्दोलनरत मोर्चाले एक सातादेखि नेपाल–भारत नाकामा धर्ना दिइरहेका छन् ।

भट्टराईले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एमाओवादीको साधारण सदस्यसमेत नरहने गरी परित्याग गरेको घोषणा गरेका थिए ।

भट्टराईले आफूलाई पनि आन्दोलनमा सहभागी गराउन तराई केन्द्रित दललाई आग्रह गर्दै आएका छन् ।

प्रकाशित : आश्विन १२, २०७२ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?