एमाओवादीले प्रशिक्षण कार्यक्रम गर्ने- समाचार - कान्तिपुर समाचार

एमाओवादीले प्रशिक्षण कार्यक्रम गर्ने

कान्तिपुर संवाददाता

काठमाडौं — एमाओवादीले संविधानबारे कार्यकर्ता पंक्तिलाई जानकारी गराउन विभिन्न चार स्थानमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

केन्द्रीय समितिको सोमबारको बैठकले इटहरी, सिमरा, कोहलपुर र काठमाडौंमा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

त्यसैगरी एमाओवादीले काठमाडौंमा आफ्ना फरक मत राख्दै तीन दलसंग संविधानबारे संयुक्त अन्तरक्रिया गर्ने निर्णयसमेत गरेको छ । बैठकमा भारतीय नाकाबन्दीबारे पनि कुरा उठेको थियो । स्वाधीनताको प्रश्नमा सम्झौता नगर्ने तर नाकाबन्दी खुलाउन कुटनीतिक रुपमा पहल गर्ने र यसबारे कांग्रेस–एमालेसँग पनि छलफल गर्ने निश्कर्ष निकालिएको छ । बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ ।

बैठकमा आन्दोलनमा गएका मधेसी–थारु नेतासँग स्पष्टिकरण सोध्नुपर्ने कुरा उठे पनि निर्णय भने भएन । ‘कांग्रेस–एमालेसँग संविधानका विवाद नटुंगिएका बेला पार्टीकै निर्देशनमा मधेसी, थारु र जनजाति नेताहरुलाई पार्टी नेतृत्वले नै आन्दोलनमा जान निर्देशन दिएको हो । त्यसपछि अर्को निर्णय भएको छैन,’  पोलिटब्युरो सदस्य पौडेलले भने, ‘त्यसैले स्पष्टिकरण सोध्नु उचित हुादैन । बरु उहाँहरुलाई बोलाएर कुरा सुन्नुपर्छ र मागको उचित सम्बोधनका लागि पहल गर्नुपर्छ भन्ने कुरा भयो ।’  

 

प्रकाशित : आश्विन ११, २०७२ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्

माछापुच्छ्रे र जनता बैंकबीच मर्जर सहमति

कान्तिपुर संवाददाता

पोखरा — माछापुच्छ्रे र जनता बैंकबीच मर्जर हुने भएको छ । ६ महिनाभित्र प्रक्रिया पूरा गर्ने गरी सोमबार यहाँ माछापुच्छ्रेका अध्यक्ष वीरेन्द्रप्रसाद महतो र जनताका अध्यक्ष उदय नेपाली श्रेष्ठबीच सहमतिपत्रमा हस्ताक्षर भयो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूको चुक्ता पुँजी ८ अर्ब बनाउनुपर्ने नीति ल्याएपछि उक्त पुँजी बनाउने उद्देश्यसाथ मर्जर भएको सहमतिको हस्ताक्षरपछि आयोजित पत्रकार सम्मेलनमा जनाइयो । यसअघि यही असोज ३ मा दुवै बैंकबीच मर्जर गर्ने प्रारम्भिक सहमति भएको थियो ।

मर्जरपछि बैंकको नाम माछापुच्छ्रे नै रहने बैंकको सञ्चालक समितिमा माछापुच्छ्रेकै अध्यक्ष वीरेन्द्रप्रसाद महतो रहने र ९२ शाखा तथा ९८ एटीएम सेवा पुग्ने मर्जर समितिले जनाएको छ । ६ महिनाभित्र  मर्जर हुने गरी महतो संयोजक रहेको ६ सदस्यीय संयुक्त मर्जर समिति पनि गठन गरिएको छ ।

महतो र श्रेष्ठले मर्जरको ढोका खुलै रहेको भन्दै अन्य विकास बैंक र फाइनान्ससँग पनि मर्जर हुन सक्ने बताए । पुँजी बढाउन मर्जर एउटा प्रक्रिया रहेको भन्दै उनीहरूले जलविद्युत् लगायतका ठूलाठूला आयोजनामा लगानी गर्ने नीति पनि लिइएको जनाए ।  

मर्जरपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ७१ करोड पुग्नेछ । हाल माछापुच्छ्रेको चुक्ता पुँजी २ अर्ब ९५ करोड र जनताको २ अर्ब ६ करोड रहेको छ ।

गत असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार माछापुच्छ्रेको जगेडा कोष १ अर्ब ७ करोड, निक्षेप ४४ अर्ब २० करोड, कर्जा लगानी ३४ अर्ब ८२ करोड र खुद नाफा ६१ करोड छ । यसैगरी जनताको जगेडा कोष २९ करोड, निक्षेप २२ अर्ब ९२ करोड, कर्जा लगानी १८ अर्ब ५१ करोड र नाफा १५ करोड छ । माछापुच्छ्रेको निष्क्रिय कर्जा ० दशमलव ६४ प्रतिशत र जनताको १ दशमलव ६ प्रतिशत मात्रै छ ।

प्रकाशित : आश्विन ११, २०७२ २०:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×