भन्सार नाकामा मधेसी मोर्चाको धर्ना

कान्तिपुर संवाददाता

वीरगन्ज — आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार पनि मुलुकका भन्सरा नाकाहरुमा धर्ना दिएका छन् । राजविराजमा बुधबार सम्पन्न मोर्चा बैठकले भन्सारबाट सामान आयात हुन नदिने आन्दोलनको कार्यक्रम ल्याएसँगै बिहीबारबाट मोर्चा कार्यकर्ताहरु भन्सार नाकामा धर्ना दिन थालेका हुन् ।


वीरगन्जः  भारतसँगको प्रमुख नाकामा मोर्चाका कार्यकर्ताहरु त्रिपाल टाँगेर बसेका छन् । सीमा क्षेत्रमा धर्नामा बसेकालाई भारतीय सहर रक्सौलका बासिन्दाले खाना र नास्ताको व्यवस्था गरेका थिए । दुई सीमावर्ती सहर वीरगन्ज र रक्सौलबीचको दसगजा क्षेत्रमा रहेको मितेरी पुलमा बिहीबारदेखि संयुक्त लोकतान्त्रिक र संघीय समावेशी मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले धर्ना सुरु गरेका हुन् । पहिलो दिन आवागमन सुचारु गराउन प्रहरीले हटाउन खोज्दा झडप भएको थियो । शुक्रबार झडप नभए पनि बिहानैदेखि आन्दोलनकारी पुलमा त्रिपाल टाँगेर बसेका छन् ।

जनकपुर- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार सीमावर्ती जटही नाका घेराउ गरेको छ । मोर्चा सम्बद्ध नेता कार्यकर्ताले घेराउ गरेपछि सवारी आवागमन ठप्प भएको थियो । जनकपुर-जयनगर रेल सेवा स्थगित भएयता जटही नाकाबाटै मालसामान पैठारी हुँदै आएको थियो ।
महोत्तरी - मधेसी मोर्चाका नेता कार्यकर्ताले मलिवारास्थित मूल भन्सार नाकालगायतका स्थानमा धर्ना दिए । उनीहरूले दशगजा नजिक मूल सकडमा पाल टाँगेर शुक्रबारदेखि धर्ना सुरु गरेका हुन् । तराई मधेस सद्भावना पार्टीकी केन्द्रीय उपाध्यक्ष रानी शर्मा र सद्भावना पार्टीका केन्द्रीय सदस्य धर्मेन्द्र राय पनि धर्नामा छन् ।
मोर्चा कार्यकर्ताका अनुसार मटिहानी र समसी छोटी भन्सारमा समेत यस्तै धर्ना दिइएको छ । आन्दोलनरत मोर्चा कार्यकर्ता सुदीप झाका अनुसार मलिवारामा सद्भावना पार्टी र संघीय समाजवादी फोरमका कार्यकर्ताले धर्ना दिएका छन् । त्यस्तै छोटी भन्सार मटिहानीमा तमलोपा र समसीमा तराई मधेस सद्भावना पार्टीले धर्ना दिएको छ । सर्लाहीको मलंगवा र रौतहटको गौरको सीमा क्षेत्रमा पनि मोर्चा कार्यकर्ताले धर्ना दिएका छन् ।

 

 

प्रकाशित : आश्विन ८, २०७२ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्

हनुमानढोकामा लिंगो ठड्याई इन्द्रोत्सव सुरु (फोटो फिचर)

चेतबहादुर सिंह

काठमाडौं — ऐतिहासिक हनुमानढोका दरवार परिसरमा कालभैरवको बिशाल मूर्तिअगाडि शुक्रवार बिहान ७.४५ बजे लिंगो ठड्याई ईन्द्रजात्रा महोत्सव सुरु गरिएको छ ।

करिव ३२ हात अग्लो लिंगोमा ईन्द्रध्वजा राखी साँस्कृतिक बाजागाजाहरु, बैण्ड बाजा, पञ्चबाजाको सुमधुर मंगलध्वनीका बीच केन्द्रीय मानन्धर संघसमेत भई लिंगो ठड्याएका थिए ।

लिंगो ठड्याइसकेपछि सैनिकको एक टुकडीले तोप पडाई हर्षबढाई गरेका थिए । नेपालभाषामा ‘योसीं’ भनिने त्यस लिंगोमा विभिन्न प्रकारका मंगलसूचक चिन्हहरु अंकित पताका पनि झुण्ड्याइएका थिए ।लिंगोको फेदिमा हात्ती चढेको इन्द्रको सानो प्रतिमा राखी पूजाअर्चना गरिएको थियो ।

यस अवसरमा किलागल टोलका ज्यापू समुदायद्वारा परम्परागत देवी नाच प्रस्तुत गरेका थिए । समारोहस्थलमा राजप्रतिनिको रुपमा मल्लकालीन राजखड्ग र सिंहदरवार क्याब्लरीबाट एउटा सेतो धोडा पनि ल्याइएको थियो ।

राजधानीदेखि करिव १० माइल पूर्वमा पर्ने नालाको भन्ज्याङको सल्लरी बनबाट ल्याइएको लिंगोलाई सोमबार भोटाहिटीदेखि तानेर हनुमानढोका परिसरमा पुर्‍याइएको थियो ।

यसै अवसरमा मरु टोलस्थित प्रतापपुरको अगाडि अग्लो डबली बनाई त्यसमाथि चारवटा हात्तीमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधी प्रदर्शको लागि राखेको छ ।

यस्तै इन्द्रचोक, किलागल, र नरदेवीस्थित पनि इन्द्रको मूर्तिलाई अग्लो डवली बनाई त्यसरी नै इन्द्रलाई प्रर्दशनीमा राखिएको छ ।
इन्द्रचोकमा रहेको आकाश भैरवको मूर्तिलाई मन्दिर बाहिर खट बनाएर राखी बिभिन्न प्रकारका फूलले सिंगारिएर राखियो ।

यसै गरी हनुमानढोकादरवारमा रहेको सुनको मोलम्मा लगाइएको विशाल श्वेतभैरवको प्रतिमालाई पनि सफा गरेर सर्वसाधारणलाई दर्शनको लागि टिका झ्याल खुल्ला गरी राखिएको छ ।

यसै दिन साँझ बौद्ध धर्मावलम्वीहरुले वर्षभरिमा दिवंगत आफन्तहरु सुखावति भूवनमा बास परोस् भन्ने कामनाका साथ धारणि स्तोत्र पाठ गर्दै नेपालभाषामा ‘उपाकू वनेगु’ भनी मृतकको नाममा दीयो बाल्दै बाटाबाटामा राख्दै लगन, नाय्पाच्व, सापुटोल, बन्देनारायण, ह्यु मत:,, दैशीदेवल, क्वहीटीआदि हुंदै यात्रा गरेका थिए ।

यसै साँझदेखि घरघरमा दलुचा (झ्यालमा झुन्ड्याउने एक प्रकारको दीयो) झुन्ड्याई इन्द्रको नाममा बत्ती बाल्ने चलन छ । यसै दिनदेखि राजधानीको विभिन्न ठाउँमा मजिपाट लाखे, किलागलका पुलुकिसी(ऐरावत हात्ती) भक्तपुरका महाकाली नाच, किलागलका देवीनाचका साथै कुमारीघर अगाडिको हाल भूकम्पले भत्केका त्रैलोकनारायणदेवलमा बिष्णुको दशअवतार देखाउन देवलमा मिलाएको छ ।

इन्द्रोत्सवकै क्रममा आइतवार बसन्तपुरमा एक विशेष समारोहमा जीवित देवीको रुपमा रहेकी कुमारी, दुई बालक गणेश र भैरवको रुपमा बेग्लाबेग्लै रथमा राखी तल्लो टोलहरु, सोमवार माथिल्लो टोलहरु र विहीवार नानीचा: या: भनी बसन्तपुरदेखि प्याफल, नरदेवी, किलागल, भेंडासींग, इन्द्रचोक, मखन, भई पु: बसन्तपुर नै पुर्‍याउने परम्परा छ । त्यसै रातमा इन्द्रध्वजा फहराइएको लिंगो ढालेर तानेर लगी बाग्मतीका सेलाएपछि सप्ताहब्यापि इन्द्रोत्सव समाप्त हुन्छ ।

प्रकाशित : आश्विन ८, २०७२ २०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×