कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्दको अवज्ञा गर्दै लमजुङमा स्वागत र्‍याली

लमजुङ — तमुवान बन्दको अवज्ञा गर्दै नयाँ संविधान २०७२ को स्वागततार्थ सोमबार विशाल र्‍याली निकालिएको छ । ४ राजनीतिक दलको आह्वानमा २ जोर पञ्चेबाजा र झाँकीसहित र्‍याली निकालिएको हो ।

बन्दको अवज्ञा गर्दै लमजुङमा स्वागत र्‍याली

नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र राप्रपा लमजुङको आयोजनामा सदरमुकाम बेसीशहरको मनाङे चौताराबाट र्‍याली निकालिएको थियो । दोस्रो पटकको संविधान सभा निर्वाचनको मत परिणामपछि राजनीतिक दलले आ–आफ्नो झण्डा सोमबार प्रदर्शन गरे । र्‍यालीमा सहभागि सवैले कांग्रेस, एमाले, एमाओवादी र राप्रपाको झण्डा बोकेका थिए । संविधानको स्वागत गर्दै नाराबाजी पनि गरिएको थियो ।

र्‍याली पुरानो बैंक चोक, नारायणस्थान चोक, शेरा, प्रशासन चोक हुँदै फूलबारीमा आएर आमा सभामा परिणत भयो । र्‍यालीमा विभिन्न आमा समूह, सहकारी, विद्यालय लगायतको सहभागिता रहेको थियो । ४ राजनीतिक दलले आ–आफ्नै भेषभूषाका साथ संविधानको स्वागत गर्न आह्वान गर्दै र्‍यालीमा सहभागि हुन आग्रह गरेपनि आदिवासी जनजाति समुदायको उपस्थिति भने न्यून थियो ।

राजनीतिक दलमा आवद्ध आदिवासी जनजातिका महिला तथा केही युवायुवती मौलिक पोषाकमा देखिन्थे । अरु स्वतस्फूर्त र्‍यालीमा सहभागि भएनन् । झाँकीमा नेवारी झाँकी प्रदर्शन गरिएको थियो । र्‍यालीमा स्थानीय प्रशासनका प्रमुख, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुखको समेत उपस्थिति थियो । र्‍यालीपछि फूलबारी मञ्चमा नाचगान गरिएको छ ।

प्रकाशित : आश्विन ४, २०७२ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?